काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमश: वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले २०८० मङ्सिर २८ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो । समीक्षा अवधिमा चालु खाता रु ९६ अर्ब ३८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३७ अर्ब ७९ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दसमलव छ प्रतिशतले कमी आई रु एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष बैदेसिक लगानी रु तीन अर्ब ६४ करोड छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष बैदेसिक लगानी रु ४२ करोड ९२ लाख रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ ।
आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दसमलव आठ प्रतिशतले कमी आई रु पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दसमलव एक प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमश: दुई दसमलव पाँच प्रतिशत र २७ दशमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दसमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलब नौ प्रतिशतले घटेको थियो ।