काठमाडौँ । अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उच्च रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड आएको हो ।
बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।
अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो ।
डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यत: खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ । जसले गर्दा नेपालमा रेमिट्यान्सले धेरै भाउ पाउँछ ।
आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।
अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ ।
यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ भने स्वदेशमा ती वस्तुको मूल्य समेत बढ्न जान्छ ।
सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ ।
समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ ।