काठमाडौँ । अनेकौँ बाधाअड्चन र चुनौतीका बिच राष्ट्रिय गौरवको काठमाडौँ–तराईमधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दसमलव १९ र वित्तीय प्रगति २९ दसमलव ३२ प्रतिशत छ ।
नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताउनुभयो ।
‘नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीय रूपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ’ उहाँले भन्नुभयो ।
आयोजनाको मुख्य चुनौतीका रूपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरूप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ । उहाँका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेओटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् ।
हालसम्म निर्माणाधीन सुरुङको कुल लम्बाइ छ दसमलव ४१५ किलोमिटरमध्ये तीन दसमलव १३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दसमलव ३५५ किलोमिटर लामो महादेओटार सुरुङमा एक दसमलव ४९० किलोमिटर निर्माण भएको छ । त्यस्तै, एक दसमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा आठ सय छ मिटर तथा एक दसमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङमा आठ सय ५७ मिटर निर्माण भइरहेको छ ।
सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै फिनिसिङ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं. १ देखि ५ सम्मका ४५ ओटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ पाइलमध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ ।
दु्रतमार्गमा ८२ मिटर अग्ला टावर तथा चार सय मिटरभन्दा लामा पुल निर्माण हुने छन् । सेनाले उक्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने गरी १३ ओटा प्याकेज बनाइ निर्माणलाई अगाडि बढाएको छ । प्याकेज नं. १ देखि ७ सम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् ।
आयोजनाको पूरक विस्तृत परियोजना प्रतिवेदन समयमै स्वीकृत नहुँदा आयोजनाको बाँकी जग्गा अधिग्रहण एवम् वातावरणीय प्रभाव मूल्याङ्कन तथा रुखकटानमा जटिलता थपिएको सेनाले जनाएको छ । यसअघि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा आयोजनाको दुवैतर्फका प्रवेशबिन्दु तथा विश्रामस्थलमा इन्टरचेन्ज तथा टोल प्लाजाको व्यवस्था नभएकाले सेनाले पूरक विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृतिका पठाएको थियो ।
सो पूरक डिपिआर स्वीकृत नहुँदा बाँकी प्याकेजमा ठेक्का लगाउन नसकिएको सेनाले जनाएको छ । पूरक डिपिआर स्वीकृतिका लागि सम्बन्धित निकायसमक्ष समन्वय भइरहेको र त्यसम्बन्धी कार्य छिट्टै निष्कर्षमा पुग्ने सेनाले विश्वास लिएको छ ।
आयोजनाको प्रस्थानबिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहणमा देखिएका समस्याको हालसम्म निक्र्योल हुन नसक्दा भने आयोजनालाई तीव्रता प्रदान गर्ने कार्यमा केही बाधा अड्चन पुगिरहेको छ ।
सेनाले भने सो खोकना इलाकामा दु्रतमार्गको सुरु बिन्दु निर्धारण, सवारी अवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात् खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।
सरकारले २०७४ वैशाख २१ गते काठमाडौँ र तराईमधेसलाई जोड्ने सो रणनीतिक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
२०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढबाट सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।
सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत गरेको थियो । उक्त डिपिआरअनुसार द्रुतमार्गको कुल लम्बाइ ७० दसमलव ९७७ किलोमिटर रहेको छ । आयोजनामा छ ओटा सुरङमार्ग रहेका छन् । सुरुङमार्गको कुल लम्बाइ १० दसमलव ०५५ किलोमिटर रहेको छ ।
देविचौरमा एक, सिसौटारमा शून्य दसमलव ३९, चन्द्राम भिरमा दुई दसमलव २५, महादेवडाँडामा तीन दसमलव ३५५, धेद्रेमा एक दसमलव ६३० र लेनडाँडामा एक दसमलव ४३० किलोमिटर लामा सुरुङ निर्माण हुने छन् । अहिले लेनडाँडा, महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । उक्त द्रुतमार्ग एसियन हाइवे मापदण्डको हुने छ । सो सडकमा दुई पाङ्ग्रे सवारी गुडाउन निषेध गरिने छ ।
आयोजनामा १२ दसमलव ८८५ किलोमिटर लम्बाइका विभिन्न ८९ ओटा पुल निर्माण गरिने छ । मकवानपुरको बुदुनेमा सडकको दुवै किनारामा दुई विश्रामस्थल हुने छन् । ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहने छ ।
द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिन सक्ने इन्टरचेन्जको व्यवस्था हुने छ । सो सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन । यस्तै उक्त सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एक/एक ओटा टोल प्लाजा हुने सेनाले जनाएको छ । कुल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिने छ ।
उक्त आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत रू दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ । अशोक घिमिरे (रासस)





