काठमाडौँ । गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको छ । त्यस्तै, शोधनान्तर स्थिति पनि बचतमा देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरणमा यस्तो स्थिति देखा परेको हो ।
राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दसमलव ५० प्रतिशत छ ।
चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दसमलव ३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दसमलव ८१ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दसमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दसमलव २२ प्रतिशत, फलफूलको १४ दसमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दसमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दसमलव ९२ प्रतिशतले बढेको छ तर घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दसमलव ६१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दसमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाको १२ दसमलव ११ प्रतिशत, शिक्षाको नौ दसमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुको आठ दसमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको छ दसमलव २५ प्रतिशतले बढेको छ ।
त्यस्तै, यातायात क्षेत्रमा एक दसमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दसमलव २३, तराईको पाँच दसमलव ६६, पहाडको सात दसमलव ३८ प्रतिशत र हिमालको १० दसमलव २४ प्रतिशत रहेको छ ।
त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दसमलव ८ प्रतिशतले बढेको थियो । गत असोज मसान्तसम्ममा बैदेसिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १३ हजार तीन सय ९७ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार दुई सय ९७ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सरकारको चालु खाता रु ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । त्यस्तै, बैदेसिक लगानी रु ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ ।
असोज मसान्तसम्मको शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १२ अर्ब ४३ करोडले बचतमा थियो ।
गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दसमलव सात प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैङकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दसमलव चार महिनाको वस्तु आयात र १० दसमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
पहिलो त्रैमासिक अवधिमा आयात एक दसमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दसमलव तीन प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा दुई दसमलव एक प्रतिशतले बढेकोछ ।