काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् ।
२०८० कात्तिक १४ गते मङ्गलवार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय नेपालमा चिनीको अभावको कारण विभिन्न समस्या आएको भन्दै सरकारले समस्या समाधानको लागि सक्दो प्रयास गरिरहेको बताए ।
उनले दसैँका लागि चिनी उद्योग र विभिन्न उद्योगमा रहेको स्टक चिनी बजारमा पठाएर गर्जो टरे पनि भारतले चिनी निर्यात प्रतिबन्ध नखोलेसम्म समस्या समाधान गर्न गम्भीर हुनुपर्ने अवस्था रहेको बताए ।
उनले चिनीमा समस्या आउनुको प्रमुख कारणमा तेस्रो मुलुकबाट ल्याउनुपर्ने, भारतले प्रतिबन्ध लगाउनु, आन्तरिक उत्पादनले धान्ने अवस्था नभएको, मुलुकभित्रका चिनी उद्योगलाई पूर्ण रूपमा चलाउनको लागि पर्याप्त कच्चा पदार्थको कमी रहेको बताए ।
उनले चिनी आयातको विद्यमान भन्सार महशुल ३० प्रतिशत, मूल्य अभिवृद्धिदर १३ प्रतिशत, कृषि शुल्क १.५ प्रतिशत हुँदा घरेलु मूल्य भन्दा नेपालमा आउँदा चिनी महङ्गो हुने गरेको बताए ।
उनले नेपालमा चिनीको वार्षिक उत्पादन एक लाख ४० हजारदेखि एक लाख ५० हजार मेट्रिक टनसम्म रहेको तथा नेपालमा चिनीको वार्षिक माग दुई लाख ८० हजारदेखि तीन लाख मेट्रिक टनसम्म रहेको बताए ।
उनले नेपालको चिनी उत्पादन र उपभोगको अन्तर रहेको र त्यसलाई अन्तरपूर्ति गर्न भन्सार बिन्दुबाट नेपालमा आयात भएको चिनीको परिणाम हेर्दा आर्थिक वर्ष २०७७/८७ मा दुई लाख आठ हजार १४ मेट्रिक टन, २०७८/७९ मा एक लाख १५४५ मेट्रिक टन, आर्थिक वर्ष २०७९/८० मा ४० हजार आठ सय मेट्रिक टन र चालु आर्थिक वर्षमा शून्य रहेको बताए ।