काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको दाबी गरेको छ ।
प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालु लाइन सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनको क्षमता स्तारोन्नत्ति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाएको हो ।
मोरङ र सुनसरीका उद्योगीहरूले गर्मीयाममा उद्योगमा पटक पटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएकाले प्राधिकरणले त्यहाँको औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित एक सय ३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउने पुरानो लाइनको सुधार र थप लाइनको सबस्टेसन निर्माण गरिरहेको छ ।
केही अघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चार सय केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने छ ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लास्थित खोलामा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइनहुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन ।
सुनसरी र मोरङको विद्युत् आपूर्तिमा सुधार र एक सय ३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३/११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनको भार घटाउन एक सय ३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि इनरुवा सबस्टेसनबाट एक सय ३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एन्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ ।
इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० ओटा टावरमध्ये ७३ ओटाको जग हालिएको छ । बहत्तर ओटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयवासीको अवरोधका कारण दुई ओटा र प्राविधिक समस्याले पाँचओटा टावर निर्माण हुन सकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ ।
इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहवी एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्न दमकबाट विराटनगर सबस्टेसनसम्म एक सय ३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवीहुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ, जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने छ । (रासस)