• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

शक्तिराष्ट्रहरूको आपसी द्वन्द्वमा हामी फस्नु हुँदैन (अन्तर्वार्ता)


  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
  • प्रा.डा. श्रीधर गौतम, अध्यक्ष, अखिल नेपाल बुद्धिजीवी सङ्घ

    Advertisement

    ० आजभोलि के गरिरहनुभएको छ ।

    – लगभग ३८ वर्षसम्मको प्राध्यापन सेवापछि सात महिनाअघि त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकाश प्राप्त गरेपछिको समय मुख्य रूपमा अध्ययनमा नै बितिरहेको छ ।

    यस क्रममा आफूले विभिन्न विषयमा जम्मा गरी राखेका, पढ्न नभ्याइएका र हालसालै किनेका किताब पढ्ने काम भएको छ । त्यस्तै, केही अनुसन्धानात्मक लेखन कार्य पनि भइरहेको छ । तीमध्ये रोबर्ट सर्भिसद्वारा लिखित लेनिनको जीवनी, स्टालिनको जीवनी, ‘लास्ट अफ द जार्स एन्ड रसियन रिभोल्युसन’ र ‘कमरेडस् : एउटा विश्व इतिहास’ जस्ता पुस्तक भर्खरै मात्र पढी सिध्याएँ । त्यसका साथै समय समयमा बोलाइने केही प्राज्ञिक कार्यक्रममा पनि जाने गरेको छु ।

    ० प्राध्यापन सेवा कस्तो रह्यो ? यस अवधिका केही स्मरणीय पक्षहरू सेयर गर्न सक्नुहुन्छ ?

    – म प्राध्यापन पेसाबाट पूर्ण रूपमा सन्तुष्ट छु । लाग्छ कि यदि अन्य कुनै पेसामा भएको भए मलाई यति सन्तुष्टि र प्राप्तिको अनुभव हुन पाउँदैनथ्यो होला । प्राध्यापनको क्रममा विषयवस्तु बुझाउँदै गर्दा विद्यार्थीको वैचारिक धरातललाई फराकिलो पार्ने काम पनि सँगसँगै गरेकाले र त्यही कारणले विद्यार्थीले मलाई पनि सम्झने छन् भन्ने लाग्छ ।

    मेरो प्राध्यापनको विषय अङ्ग्रेजी साहित्य भएकाले पनि यसको माध्यमबाट जीवन, जगत्का धेरै कुरा गर्न पाइने हुँदा पनि सजिलो भयो । शिक्षक आफैमा एउटा उदाहरण बन्न सक्नुपर्छ भन्ने मान्यताअनुसार विद्यार्थीलाई मानवीय व्यवहारबाट पनि प्रेरित गर्ने गर्थें । विश्वविद्यालयमा तुलनात्मक रूपमा बढी प्राज्ञिक स्वतन्त्रता हुने हुँदा पनि विभिन्न विषयमा संवाद र बहस हुने गर्थे ।

    प्राध्यापन पेसामा सम्झनुपर्ने कुरा धेरै छन् । अङ्ग्रेजी साहित्यप्रतिको जानकारीलाई फराकिलो पारिदिने मेरा गुरुहरू प्रा.डा. श्रीधरप्रसाद लोहनी र प्रा.डा. दुर्गाप्रसाद भण्डारीको विशेष सम्झना छ । उहाँहरूले विद्यार्थीकाल र पछि प्राध्यापन पेसामा लागेपछि पनि प्राज्ञिक कार्यमा सहयोग र प्रेरणा दिनुभयो ।
    विद्यार्थीहरूसँग मेरो कहिल्यै नराम्रो भएन र हाम्राबिचमा औपचारिकभन्दा पनि अनौपचारिक सम्बन्ध बढ्ता हुन्थ्यो तर एकपटक एउटा सानो घटना घटेको छ ।

    २०५४/५५ सालतिर बी.ए. प्रथम वर्षमा विद्यार्थीलाई म ऐच्छिक अङ्ग्रेजी विषयको “क्रियसन अफ नलेज” पुस्तक पढाउँथे । त्यसमा विभिन्न दार्शनिकका लेख, निबन्ध थिए ।

    तीमध्ये कार्ल माक्र्स पनि पर्दथे । उनले र एङ्गेल्सले लेखेको कम्युनिस्ट घोषणापत्र (कम्युनिस्ट मेनिफेस्टो) पनि पाठ्यपुस्तकअन्तर्गत थियो । त्यो पढाउने क्रममा केही दुईचार जना विद्यार्थीले मलाई ‘के तपाईंं हामीलाई कम्युनिस्ट बनाउनका लागि पढाउन आउनुभएको हो ?’ भनी उठेर प्रश्न गरे । त्यति बेला पाटन संयुक्त क्याम्पसमा धेरै विद्यार्थी हुन्थे किनकि निजी क्याम्पसहरू धेरै थिएनन् । हुन सक्छ, कम्युनिस्ट मेनिफेस्टो बुझाउने क्रममा म केही उत्साहित भएको हुन सक्छु तर मैले घोषणापत्रमा रहेका कुराको मात्र व्याख्या गरिरहेको थिएँ । मैले भने कि एक/दुईओटा निबन्ध र लेख पढाएर कसैलाई परिवर्तन गर्न सकिने कुरा होइन, त्यो त आफ्नो बुझाइ, पढाइ र जीवनको अनुभवबाट आउने कुरा हो । मैले उदाहरण दिएँ कि म विवाहित भएपछि म र मेरी श्रीमती लगभग १० वर्षदेखि सँगै बस्छौँ तर उनको र मेरो सोचाइ र दृष्टिकोणमा धेरै फरक छ । मैले दस वर्षको समय सँगै रहँदा र चाहँदा पनि श्रीमतीलाई आफ्नो विचारमा ढाल्न सकिनँ भने कसरी एउटा निबन्ध पढाएर म अरूलाई परिवर्तन गर्न सक्छु ? त्यसपछि उनीहरू शान्त भए ।

    पछि कक्षा सकिएपछि मैले उनीहरूलाई क्याम्पसबाहिर पाटनढोकामा चियापसलमा बोलाई धेरै कुराको व्याख्या गरेँ । खासगरी जीवन र दर्शनसम्बन्धी धेरै कुरा भएपछि उनीहरू मसँग खुसी भए र उनीहरूले कहिल्यै पूर्वाग्रह राखेनन् । ती गोदावरीका विद्यार्थी थिए र पछिसम्म पनि सम्पर्क रहिरह्यो ।

    मैले यो घटना यसकारणले उल्लेख गरेको हो कि कसैलाई पनि जबर्जस्ती व्यवहार गरेर आफ्नो दृष्टिकोणमा परिवर्तन गराउन सकिन्न । निजी बुझाइ र अनुभवको आधारमा नै चेतना वृद्धि हुँदै जाँदा मात्र व्यक्तिको दृष्टिकोण फराकिलो हुँदै जाने कुरा हो ।

    ० प्राध्यापन क्षेत्रमा पदोन्नतिको सन्दर्भमा चर्काे राजनीतिक चलखेल छ भन्ने आम रूपमा थाह भएको विषय हो । तपाईंं प्राध्यापकसम्म बढुवा हुँदै गर्दा त्यस्तो केही अप्ठ्यारो ब्यहोर्नुभयो कि ?

    – यो अवश्य सत्य हो कि त्रिवि राजनीतिबाट मुक्त छैन र त्यसै कारणले गर्दा विश्वविद्यालयको प्राज्ञिक स्तरमा पनि नराम्रो असर परेको छ । नियुक्ति र पदोन्नतिमा पनि राजनैतिक चलखेल भएका घटना बेलाबखत्मा बाहिर आएका पनि छन् । ती सबै सत्य नभए पनि तिनले गर्दा आम मानिसको मनमा शङ्का उत्पन्न गरिदिएका छन् ।

    मैले सहायक प्राध्यापकको लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरी त्रिवि सेवामा प्रवेश गरँे । त्यस बेला आज जस्तो सुरुमै उपप्राध्यापक हुने व्यवस्था थिएन । म त्रिवि सेवा आयोगबाट बेला बेलामा खोलिने विज्ञापनअनुसार आवेदन दिई अन्तर्वार्तामा उत्तीर्ण भई क्रमश: उपप्राध्यापक र सहप्राध्यापक भएँ । त्यसैगरी २०६५ सालमा म प्राध्यापकको अन्तर्वार्ता चरण पार गर्दै प्राध्यापकको रूपमा नियुक्त भएँ ।

    मलाई विभिन्न चरणमा पदोन्नति प्राप्त गर्ने क्रममा कुनै कतैबाट राजनैतिक पूर्वाग्रहले गर्दा अप्ठ्यारो भएको अनुभव भएन । आफूलाई अब म यो पदको लागि योग्य छु भन्ने लागेपछि त्यसैअनुसारको तयारी गरी बस्थेँ । आफूले पदोन्नति पाउने (आपूर्ति हुने) पदको सङ्ख्या एक जना मात्रै रहेको अवस्थामा पनि आफूलाई सक्षम ठानी प्रतियोगितामा सामेल हुनुपर्छ भन्ने मेरो मान्यता रह्यो ।

    विश्वविद्यालयमा विभिन्न वैचारिक समूहका प्राध्यापक सङ्गठन पनि छन् तर मैले पदोन्नतिको क्रममा कहीँ कतै कसैसँग यस्ता कुरा उठाइनँ र यो मेरो प्राज्ञिक एक वैयक्तिक अखण्डताको विपरीत कुरा पनि हुन्थ्यो । बाहिर हल्ला भए जस्तो त्रिवि, खास गरी प्राध्यापकहरूको पदोन्नतिको क्रममा धेरै चलखेल हुन सक्दैन ।

    ० त्रिभुवन विश्वविद्यालय प्रतिष्ठित प्रतिष्ठान हो तर यसको गतिविधिबारे पटक पटक विवाद उठिरहन्छन् । तपाईंंको बुझाइमा त्रिविको अहिलेको अवस्था कस्तो छ र त्यसमा सुधारका लागि के गर्नुपर्ला ?

    – यो सत्य हो कि त्रिविको प्रतिष्ठामा बारम्बार प्रश्न उठ्ने गरेका छन् । यसका पछाडिको एउटा कारण त्रिविको राजनीतिकरण हुनु हो, जसले गर्दा त्रिविले स्वायत्त संस्थाको रूपमा प्राज्ञिक थलोको पहिचान आवश्यक मात्रामा बनाउन अझै बाँकी छ । त्रिविका मुख्य मुख्य प्राज्ञिक र प्रशासनिक पदहरू राजनैतिक आस्थाको आधारमा विभाजित हुने हुँदा त्रिविको प्राज्ञिक प्रतिष्ठामा आँच आएको छ । त्यसैले सबै राजनैतिक दल र सरकारले त्रिविलाई पूर्ण स्वायत्त संस्था बन्न दिनुपर्छ र राजनैतिक हस्तक्षेप गर्न बन्द गर्नुपर्छ ।

    ० विद्यार्थी सङ्गठनका कारणले शिक्षा क्षेत्र अस्तव्यस्त भयो भन्ने तर्कबारे तपाईंंको जवाफ के छ ?

    – राजनैतिक हस्तक्षेप र भागवण्डाको राजनीतिको प्रभाव त्रिविका विद्यार्थी सङ्गठनमा पनि परेको छ । मूल धारका भनिएका राजनैतिक दलहरूले विद्यार्थी सङ्गठनलाई लगभग भ्रातृ सङ्गठन जस्तै ठान्छन् ।

    ० तपाईंको विचारमा नेपालको शिक्षा क्षेत्र कस्तो हुनुपर्छ ?

    – नेपालको शिक्षाप्रणालीमा आमूल परिवर्तनको खाँचो छ । एकातिर, आधुनिक प्रविधिको विकास गरी दक्ष जनशक्तिको उत्पादन गर्नुपर्दछ भने त्यसको साथमा शिक्षालाई व्यवहारमा उतार्ने गरी उपयोगी बनाउनुपर्दछ । शिक्षाले देश र जनताको वस्तुस्थितिको अवगत गराओस्† विद्यार्थीलाई दायित्वबोध गराओस् भन्नेमा ध्यान पुर्‍याउनुपर्छ ।

    सैद्धान्तिक ज्ञान र अभ्यासको बिचमा तालमेल मिलाउनुपर्छ । यदि शिक्षालाई व्यवहार र जीवनोपयोगी बनाउन सकिएन भने देशमा विद्यमान बेरोजगारी, गरिबी र आर्थिक पछौटेपनबाट देशलाई मुक्त गर्न सकिँदैन ।

    ० अनि, शिक्षकले राजनीति गर्नुहुँदैन भन्ने मान्यताबारे के भन्नुहुन्छ ?

    – राजनीति गर्नु र राजनीति बुझ्नु भन्ने बेग्लाबेग्लै कुरा हुन् । शिक्षकहरू पनि देश र जनताको अवस्थादेखि अवगत हुनुपर्दछ । उनीहरूका आफ्नै वैचारिक आधार र दर्शन हुन सक्छन् तर आफ्नै सैद्धान्तिक दर्शनलाई पेसागत कर्तव्य र मर्यादाभन्दा माथि राख्नुपर्छ । सरकारले राजनैतिक आस्था र विचारको आधारमा शिक्षकलाई दु:ख दिने काम गर्नुहँुँदैन । शिक्षकले पनि पहिलो पेसागत कर्तव्य पूरा गर्नुपर्ने हुन्छ । उनीहरूले आफ्ना सङ्घ–सङ्गठनको माध्यमबाट आफ्ना उचित मागको सम्बोधन खोज्न पाउनुपर्छ तर आफ्नो पेसागत काम गर्दा राजनीतिबाट माथि उठ्नुपर्छ ।

    ० नेकपा (मसाल) को राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?

    – २०३६ सालमा कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर तहको विद्यार्थी हुँदादेखि अनेरास्ववियुसँग सम्बन्धित भई नेपालको कम्युनिस्ट आन्दोलनलाई बुझ्ने प्रयास गरेको हुँ ।

    २०३७/३८ सालतिर म कीर्तिपुर क्याम्पसको अनेरास्ववियुको मानविकी सङ्कायतर्फको उपाध्यक्ष थिएँ र हाल सेवानिवृत्त प्रा. ऋषि भुसाल त्यसको अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला साम्यवादी आन्दोलनसम्बन्धी आवश्यक सैद्धान्तिक ज्ञान ममा थिएन र त्यसअघि मैले अध्ययन गर्ने ठाउँमा राजनैतिक वातावरण पनि थिएन ।

    एकपटक सन् १९७८/७९ तिर भारतमा बी.ए. अनर्सको विद्यार्थी भई अध्ययन गर्दा डा. बाबुराम भट्टराईको बारेमा धेरै कुरा सुनेको हुँदा उहाँलाई भेट्न म र हाल सेवानिवृत्त प्रा.डा. होमनाथ सापकोटा दिल्ली गएका थियौँ । छोटो भेटमा उहाँले केही जानकारी दिनुभयो ।

    पछि नेपालमा २०४६ सालको जनआन्दोलनपछि मेरो डा. बाबुराम भट्टराईसँग पुन: सम्पर्क भयो । म र केही साथीहरू उहाँको रक्तकाली निवासमा जान्थ्यौँ, छलफल, संवादको सम्बन्धमा । उहाँले नै मलाई ब्रिटेनबाट प्रकाशित अङ्ग्रेजीमा लेखिएको ‘द्वन्द्वात्मक भौतिकवाद’ को किताब दिनुभयो । त्यसको फोटोकपी गरी उहाँलाई फिर्ता गरेँ ।

    अत्यन्तै मिठो र सरल ढङ्गबाट लेखिएको त्यो किताबबाट मलाई धेरै जानकारी भयो । त्यसबाहेक गोरखपुरबाट प्रकाशित हुने दायित्वबोध र इतिहासबोध जस्ता पत्रिकाबाट पनि मेरो जानकारी फराकिलो हुँदै गयो ।

    २०४६ सालको आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरूको बारेमा थप अध्ययन गर्ने क्रममा मैले मोहनविक्रम सिंहले लेखेका लेख र पुस्तकहरू पढेँ । मसालसँग सम्बन्धित सबै प्रकाशन खोजी खोजी पढ्दै गएँ । यसरी आफ्नै बुझाइको आधारमा म मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) नै नेपालमा सच्चा कम्युनिस्ट पार्टी हो भन्ने निष्कर्षमा पुगेँ । खासगरी २०४६ सालको आन्दोलनमा नेकपा (मसाल) र उसको वैधानिक मोर्चा अर्थात् संयुक्त जनमोर्चाले लिएको अडान र उसको भूमिका मलाई साँच्चै नै कम्युनिस्ट पार्टीको जस्तो लाग्यो । त्यसपछि मैले डा. बाबुराम भट्टराईसँग मोहनविक्रम सिंहसँग भेट गराउन अनुरोध गरेँ ।

    डा. भट्टराईले अन्य वामपन्थी साथीहरूलाई पनि समेटी एउटा भेटघाटको कार्यक्रम जुराउने सल्लाह दिनुभयो । त्यसैअनुसार हाल सेवानिवृत्त प्रा.डा. नन्दीश अधिकारीको पाटन चाकुपाटस्थित डेरामा भेला आयोजना गरियो । डा. भट्टराईले मोहनविक्रम सिंहलाई ट्याक्सीमा लिई आउनुभयो र मसहित पाटन क्याम्पसमा प्राध्यापनरत लगभग १०/१२ वामपन्थी बुद्धिजीवीसँग पहिलो भेट भयो, मोहनविक्रम सिंहसँग । यो २०४८ सालको कुरा हो ।

    उक्त भेलामा पहिला मोहनविक्रम सिंहले अरूलाई आआफ्ना कुरा र प्रश्न राख्न भन्नुभयो । पछि सबैको कुरा सुनेपछि नेपाली कम्युनिस्ट आन्दोलन सम्बन्धमा करिब डेढ घण्टा बोल्नुभयो । त्यसपछि मोहनविक्रम सिंहसँग विभिन्न अवसरमा मेरो भेट हुँदै गयो । पछि नेकपा (मसाल) को नजिक रहेको अखिल नेपाल बुद्धिजीवी सङ्घमा आबद्ध हुँदै गएँ ।

    यसरी मेरो नेकपा (मसाल) सँग आकर्षित हुनुको पछाडि त्यो पार्टीको सही राजनैतिक दर्शन र त्यसैअनुसारको सङ्गठनात्मक प्रणाली र अनुशासनको व्यवस्था हो । मलाई नेकपा (मसाल) को नेतृत्व पङ्क्ति पनि इमान्दार लाग्यो र त्यो पार्टीले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई राम्ररी समातेको अनुभव भयो । अहिले पनि यो पार्टीले सही राजनैतिक लाइन लिएको कुरामा विश्वस्त छु ।

    ० अरू पार्टीमध्ये तपाईंलाई नेकपा (मसाल) नै ठिक लाग्नुका पछाडि के के कारण छन् ।

    – मैले अन्य कम्युनिस्ट पार्टीहरूभन्दा नेकपा (मसाल) लाई ठिक मान्नुका पछाडिको कारणमा त्यो पार्टीको सैद्धान्तिक धरातल, राजनैतिक दृष्टिकोण, सङ्गठनात्मक प्रणाली र त्यसको सामाजिक संरचना जस्ता विषय पर्दछन् । त्यो पार्टीले राजनीति र सिद्धान्तलाई सँगसँगै लगेको पाएको छु । त्यो पार्टीले लिने गरेको राजनैतिक लाइन मलाई माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराअनुरूप भएको लाग्छ । त्यो पार्टीले दोधारे चरित्र देखाएर राष्ट्रघात हुने काम गरेको, पाएको पाएको छैन । संविधान सभासम्बन्धी त्यो पार्टीको अडानसहित कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रश्नमा त्यो पार्टीको दृष्टिकोण र अडान ठिक लागेकाले पनि यो अन्य पार्टीभन्दा फरक छ ।

    ० देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी बुझ्नुभएको छ ।

    – देशको राजनैतिक अवस्था जटिल छ किनकि मूलधारमा रहेका भनिएका पार्टीका नेताहरूको विचार र व्यवहारमा एकरूपता छैन । सामान्य राजनैतिक संस्कृति नहुँदा केवल सत्ता र शक्तिको लागि जे पनि गर्ने प्रवृत्ति बढेको छ । उत्तरदायी हुनुपर्ने नेताहरूमा देश र जनताको चिन्ता छैन । देश सबैजसो क्षेत्रमा अर्थात् शिक्षा, संस्कृति, उद्योग, कृषि र आधुनिक प्रविधिमा पछौटेपनको अवस्थामा छ । त्यसो हुँदा देशमा विदेशी शक्तिको चलखेल बढेको छ र राष्ट्रियता र सार्वभौमिकता साँचो अर्थमा प्राप्त गर्न सकिएको छैन । देशलाई आधारभूत रूपमा आत्मनिर्भर बनाउने दिशामा कुनै काम भएका छैनन् । देशको युवाशक्तिको श्रम र पसिना विदेशी भूमिमा विदेशीको सेवामा बगेको छ । देश र जनताको लागि राजनीति गर्नेभन्दा पनि व्यक्तिगत लाभको लागि राजनीति गर्ने प्रवृत्ति छ ।

    यो अवस्था सधैँभरि अवश्य रहने छैन । आखिरमा स्वार्थको राजनीति गर्नेहरूको बिचमा पनि अन्तरविरोध बढ्दै जाने छ र देशमा व्याप्त भ्रष्टाचारको विरोधमा पनि जनचेतना बढ्दै जाने छ र जनताले सशक्त आन्दोलन गर्ने छन् । त्यस्तो आन्दोलनलाई सही राजनीतिक दर्शन बोकेका पार्टीबाट नेतृत्व प्रदान गर्नुपर्छ । यसरी नै जनताको पक्षमा हुने राजनीतिले देशको वर्तमान अवस्थालाई गुणात्मक रूपमा परिवर्तन गर्न सक्छ ।

    ० नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विरोध गरिरहेका छन् । तपाईंहरूले सङ्घीयताको विरोध गर्नुको कारण के हो ?

    – नेपालको भू राजनैतिक अवस्था र सङ्घीयता चाहिने अन्य कतिपय कारक तत्त्वहरूसमेत नरहेकाले सङ्घीयता नेपालको लागि आवश्यक थिएन र छैन । सीमित रूपमा तराईका केही भागमा सङ्घीयताको नारा उठेको भए पनि यो कुनै जनआन्दोलनको माग पनि होइन । फेरि सङ्घीयताले गर्दा देशका उत्पीडित जनताको मुक्ति हुने पनि होइन ।

    खास खास अवस्थामा राष्ट्रिय एकताका लागि छरिएर रहेका जनतालाई एक सूत्रमा ल्याउन सङ्घीयताको प्रयोग भएको छ । भारतमा ब्रिटिस शासनको अन्त्यपछि सङ्घीय व्यवस्था ल्याइएको थियो तैपनि त्यो पूर्ण सङ्घीयताको उदाहरण होइन । नेपालको सन्दर्भमा बुझ्नुपर्ने कुरा के हो भने केहीले यसलाई बहुराष्ट्रिय देश भन्ने गरे पनि यथार्थमा त्यस्तो होइन । बहुराष्ट्रिय देश त्यस्ता हुन्छन्, जहाँ मिश्रित समुदायका मानिसको छुट्टै भूगोल, साहित्य, भाषा आदि कारक तत्त्वहरू हुन्छन् । नेपालको कुनै पनि जिल्लामा केवल निश्चित समुदायले बसोबास गरेको पनि पाइन्न ।

    पूर्व सोभियत सङ्घमा अक्टोबर क्रान्तिपछि भएको गृहयुद्धपछि लेनिन र स्टालिनले बहुराष्ट्रिय अवस्था भएका राज्यलाई विशेष अधिकार दिएर पूर्व सोभियत सङ्घमा सामेल गराएका थिए । त्यो अवस्था नेपालको होइन । त्यसैले आजको खाँचो भनेको एकात्मक व्यवस्थाअन्तर्गत नै शक्तिको विकेन्द्रीकरण गर्नु हो† खास खास ठाउँमा निश्चित जाति र समुदायका मानिसको बाहुल्यता भएको अवस्थामा उनीहरूलाई स्वायता दिनु हो । यसो गर्दा स्थानीय रूपमा लोप हुन थालेका भाषा, संस्कृति आदिको पनि विकास गर्न सकिन्छ र स्थानीय सरकारी निकायलाई बढी जिम्मेवार र जनमुखी बनाउन सकिन्छ । यसरी राष्ट्रिय एकता पनि बलियो हुन्छ भने अर्काेतिर अनावश्यक सरकारी खर्च पनि घटाउन सकिन्छ ।

    ० तपाईंले अन्तर्राष्ट्रिय सम्बन्धबारे प्राध्यापन गर्नुभयो । अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति कस्तो रहेको छ ?

    – देशको राजनीतिक अवस्था जस्तै अन्तर्राष्ट्रिय परिस्थिति पनि जटिल बन्दै गएको छ । साम्राज्यवादी शक्तिहरूबिचको आपसी अन्तरविरोधले गर्दा कतै तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने डर उत्पन्न भएको छ र यस्तो युद्ध आणविक हुन सक्ने खतरा छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपीय देशहरू अप्रत्यक्ष रूपमा त्यसमा सामेल भएका छन् र आर्थिक एवम् सैनिक सहयोगको रूपमा युक्रेनलाई बल पुर्‍याइरहेका छन् । विगतमा भएका सन्धिको उल्लङ्घन गर्दै अमेरिकाले रुसको प्रभावक्षेत्रमा रहेका देशलाई एकपछि अर्काे गरी नाटोमा सामेल गराएपछि भड्किन गएको रुसले युक्रेनमाथि आक्रमण गर्‍यो । यसरी एकातिर युद्धलाई उक्साउने अमेरिका र उसका सहयोगी देश, अर्काेतिर युक्रेनमाथि आक्रमण गर्ने रुस—दुवै साम्राज्यवादी चरित्रअनुसार नै अघि बढेका छन् । यो युद्धको प्रभाव धेरै ठाउँमा परिसकेको छ र अझ बढी पर्ने देखिन्छ ।

    त्यसैगरी, अमेरिका र चीनको बिचमा बढ्दै गएको प्रतिस्पर्धा र वैमनस्यताले गर्दा पनि पुँजीवादी संरचनामा एक प्रकारको सङ्कट आएको छ । आज शीतयुद्ध कालमा जस्तै दुईध्रुवीय संसार छैन र अझै पनि अमेरिका नै विश्वको पहिलो सैनिक शक्तिको रूपमा रहेको छ । चीनको बढ्दो प्रभावलाई रोक्नका लागि अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा ठुलो लगानी गरेको छ । हालसालै फिलिपिन्समा अमेरिकी सैनिक अड्डा राख्ने सम्झौता गरेको छ । यसले गर्दा इन्डो–प्यासिफिक क्षेत्र झन् बढी तनावग्रस्त हुन पुगेको छ । भारत, अस्ट्रेलिया र जापान जस्ता देश पनि अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा सामेल हुँदा क्षेत्रीय एवम् विश्व स्तरमा द्वन्द्व पनि चर्किने खतरा बढेको छ ।

    ० एमसिसी, अमेरिका र चीनको सम्बन्धमा नेपालको भूमिका कस्तो हुनुपर्दछ भन्ने लाग्दछ ?

    – एमसिसी र अमेरिकी रणनीतिको सम्बन्धमा मैले यसअघि पनि यसै पत्रिकाको माध्यमबाट आफ्ना विचार राखेको थिएँ । यो पनि अमेरिका र चीनको बिचमा द्वन्द्वको उपज भएकाले र यसको माध्यमबाट चीनलाई नियन्त्रण गर्न सजिलो हुने भएकाले नेपाललाई पनि एमसिसीमा भागेदार बनाइएको भन्ने हाम्रो ठम्याइ हो । यसभित्र राष्ट्रियता र सार्वभौमिकता विरोधी कैयौँ प्रावधान रहेको कुरा प्रकाशमा आइसकेको छ । यसमा भागिदार हुँदा नेपाल भोलि दुई देशबिचको द्वन्द्वमा नराम्ररी फस्न सक्ने खतरा भएकाले यसको विरोध गर्नुपरेको छ । आंशिक आर्थिक सहायताको नाममा राष्ट्रकै भविष्यलाई खतरामा पार्ने कुनै पनि सैनिक रणनीतिमा नेपालले आफूलाई लगाउनु हुँदैन ।
    हामीले यो या त्यो देशको विरोधमा काम गर्नुहुँदैन । शक्तिराष्ट्रहरूको आपसी द्वन्द्वमा हामी फस्नु हुँदैन । चीनसँग सिमाना जोडिएको कारणले गर्दा हामीले चीनको मायाले होइन कि आफ्नै देशको मायाले गर्दा एमसिसीको विरोध गर्नुपरेको हो ।

    ० तपाईं अखिल नेपाल बुद्धिजिवी सङ्घको अध्यक्ष हुनुहुन्छ । बुद्धिजीवी सङ्घ अहिले के गरिरहेको छ ?

    – अखिल नेपाल बुद्धिजीवी सङ्घले आपनो स्थापना कालदेखि नै देशमा समसामयिक समस्याको पहिचान गर्ने र तीनको समाधानमा बहस चलाउने काम गरेको छ । यसले देशको शिक्षाप्रणालीको बारेमा र देशको आर्थिक पछौटेपन हटाउने सम्बन्धमा समय समयमा सभा, सेमिनार आदि गरी कार्यपत्र प्रस्तुत गर्ने गरेको छ । यसको आफ्नै वार्षिक रूपमा मुखपत्र निस्कने गर्दछ ।

    यसले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय विषयमा पनि चासो लिन्छ । संसारका सबै कुनामा साम्राज्यवादका शिकार भएका जनताको पक्षमा आवाज उठाउँछ । यसले जनजीविकाको सवालमा जनचेतना उठाउने काम पनि गर्दै आएको छ ।

    खास गरी शिक्षण पेसामा र अन्य पेसामा लागेका साथीहरूलाई सङ्घको विधानअनुसार सदस्य बनाई बढीभन्दा बढी रूपमा जनचेतना फैलाउने काम पनि यसले गर्दै आएको हो तर भन्नुपर्छ कि यसले आफ्नो उद्देश्यअनुसार जति काम गर्न सक्नुपर्ने हो, त्यति भएको छैन । उदाहरणका लागि हाम्रो सङ्गठन राष्ट्रिय स्तरमा त्यति ठुलो छैन । हामीले यसलाई विस्तार गर्ने प्रयास गरिरहेका छौँ । यो स्वतन्त्र सङ्घ होइन र यसका सदस्यले नेकपा (मसाल) ले लिएको सिद्धान्त र दर्शनभित्रको अनुशासनलाई पालन गर्नुपर्ने हुँदा कतिपयलाई अनुशासनमा बस्न असजिलो हुने हुँदा सदस्य सङ्ख्या चाहेजति बढेको छैन तर हामी सानै सङ्गठन भए पनि वैचारिक दृढता र प्रष्टताको कारणले निरन्तर आफ्नो काममा लागेका छौँ ।

    ० अन्तमा, युगदर्शनमार्फत् भन्नुपर्ने केही छन् कि ?

    – युगदर्शनले आफ्नो स्थापनाकालदेखि नै छुट्टै पहिचान राखी देश र जनताको पक्षमा खबरदारी गर्ने काम गरेको छ । यसको महान् उद्देश्य भएकाले पनि यो अन्य पत्रकारितामा देखिने सबै अवसरवादी क्रियाकलापबाट बाहिर छ । जनताको पक्षमा उभिने पत्रकारिताको सङ्ख्या घट्दै गइरहेको अवस्थामा युगदर्शनले साँच्चै युगको मागअनुसारको मार्गदर्शन गरेको छ ।

    आउँदा दिनहरूमा पनि यो पत्रिकाले यही रूपमा जनताको पक्षमा आवाज उठाओस् र देशको अवस्थामा आमूल परिवर्तन ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने मेरो शुभेच्छा छ । मलाई विश्वास छ, युगदर्शन आफ्नो लक्ष्य प्राप्त गर्ने दिशामा अझ बढी सशक्त भई अगाडि बढ्ने छ ।

    प्रस्तुति : प्रकाश थापामगर

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.