काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘सहकारीमा ठगीको जालो’ आगामी २०८३ असोज ४ गते दिउँसो १ः०० बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा विमोचन हुने भएको छ ।
पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा नेकपाका वरिष्ठ नेता देव गुरुङ, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पूर्वमुख्य सचिव लीलामणि पौडेल, संविधानविद् तथा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाल र सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी महासंघका पूर्वमहाप्रबन्धक चित्रकुमारी थाम्सुहाङ सुब्बा लगायतको उपस्थिति रहने उल्लेख छ ।
निमन्त्रणापत्रमा पुस्तकलाई सहकारी क्षेत्रको समस्या, बचतकर्ताको रकम दुरुपयोग तथा सहकारी ठगीसम्बन्धी अनुसन्धानमूलक कृतिका रूपमा प्रस्तुत गरिएको छ । नेपालमा सहकारी बचत दुरुपयोगसम्बन्धी विषयमा संसदीय विशेष छानबिनपछि विभिन्न सहकारी तथा व्यक्तिसँग सम्बन्धित आर्थिक अनियमितताका विषय सार्वजनिक हुँदै आएका छन् ।
भट्टका हालसम्म ‘चिनीयाँ तथा भारतीय साम्राज्यवाद’, ‘नेपाल–भारत सम्बन्ध’, ‘जलजला उपन्यासको विवेचना’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । ‘सहकारीमा ठगीको जालो’ पुस्तक भट्टको चौथो कृति हो । त्यसका साथसाथै भट्टले समय समयमा विभिन्न फुटकर लेखहरू पनि निरन्तररुपमा लेख्दै आउनुभएको छ ।

