• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)


  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • खेम थपलिया ##

    Advertisement

    आमुख

    नाटक साहित्यको दृश्यविधा हो । अझ भन्ने हो भने नाटक साहित्य र कलाको सम्मिश्रित रूप हो । नाटकमा साहित्य र कला परिपूरक रूपमा रहेका हुन्छन् । हरेक नाटककारले नाटकको विधागत शिल्पविधि र यसले माग गरेको नवीनता एवम् चामत्कारितामाथि गम्भीरताका साथ ख्याल गरेका हुन्छन् । अन्य विधामा जस्तै नाट्यलेखनमा पनि प्रारूपीकरण अत्यन्त महत्त्वपूर्ण कुरा हो । नाटकले भावपक्षलार्ई चरित्रमा मिसाउनुपर्छ, घटनामा घटाउनुपर्छ र परिवेशमा मिलाउनुपर्छ । नाटक साहित्यका अरू विधाजस्तै पढेर र सुनेर मात्र पुग्दैन, साहित्यका अन्य विधाका सापेक्षतामा नाटकको पृथक् पहिचान नै दृश्यात्मकता हो । ‘नाटक लेखिँदैन, यसमा वातावरण मात्र मिलाइन्छ’ भन्ने भनाइले पनि यसको रङ्गमञ्चीय अहम् महत्त्वलार्ई सहजै दर्शाउँछ । त्यसकारण नाटक पठनीय मात्र नभई मूलत: दर्शनीय हुन्छ । हामीले ‘१२ मई’ नाटकलाई पनि यसरी नै बुझ्नुपर्दछ ।

    ‘१२ मई’ नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री, वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् राजनीतिक चिन्तक मोहनविक्रम सिंहद्वारा लिखित ऐतिहासिक तथा राजनीतिक नाटक हो । यो नाटक भारतमा रहेका प्रवासी नेपालीले पञ्चायती व्यवस्था विरुद्ध चलाएको आन्दोलनका सिलसिलामा मे १२, १९८६ (२०४३ वैशाख २९ गते) मा भएको चरम दमन र सङ्घर्षमा आधारित रहेको छ । ‘१२ मई’ नाटकले पञ्चायती व्यवस्थाका विरुद्धको प्रतिरोध, राजनीतिक चेतना, आन्दोलनकारीको सङ्घर्ष र राज्यव्यवस्था परिवर्तनका लागि गरिएको बलिदानलाई रङ्गमञ्चमार्फत प्रस्तुत गरेको छ । यस नाटकमा तत्कालीन राजनीतिक परिवेश, जनसङ्घर्ष र परिवर्तनप्रति जनताको उच्च चाहलाई कलात्मक ढङ्गले अभिव्यक्त गरिएको छ । ‘१२ मई’ को पहिलो प्रदर्शन नोभेम्बर १३–१७, १९८९ (२०४६ कात्तिक २८–मङ्सिर २ गते) मा भारतको कानपुरमा भएको थियो । त्यसको करिब ३७ वर्षपछि २०८३ भदौ २१ गते काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा भव्य रूपमा ‘१२ मई’ मञ्चन गरियो । यहाँ ‘१२ मई’ नाटकको अध्ययन र त्यसको मञ्चित नाट्य–दृश्यावलोकनपश्चात् सङ्क्षिप्त पर्यवेक्षण गर्ने प्रयास गरिएको छ ।

    ‘१२ मई’ नाटकको सङ्क्षिप्त पर्यवेक्षण

    १. विचार र विधासिद्धान्तका केही कुरा

    साहित्य मानव जीवनका सामूहिक आवेगको कलात्मक प्रतिबिम्बन हो । माक्र्सवादले कलासाहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । कलासाहित्यमा कबिला समाज हुँदै एक्काइसौँ शताब्दीसम्म मानव जातिले समाज विकासको क्रममा बेहोरेका ठुल्ठुला राजनीतिक, आर्थिक, सांस्कृतिक एवम् सामाजिक परिवर्तनको कलात्मक प्रतिबिम्बन हुँदै आएको छ । विश्वप्रसिद्ध माक्र्सवादी लेखक हार्वर्ड फास्टका अनुसार ‘लेखकहरू पछाडि बसेर होइन, अगिल्लो मोर्चामा बसेर बढ्नुपर्छ । सर्वसाधारण जनतालाई यथार्थताको स्वरूपको जानकारी गराउनु उनीहरूको काम हो । त्यसमा नै उनीहरूको कला र उनीहरूको गौरव रहेको हुन्छ किनभने उनीहरूको कामको स्वरूपले गर्दा नै उनीहरूको निम्ति मानवीय आशा, डर र दु:ख–कष्ट र विजयको सार निकाल्न सम्भव हुन सक्छ तर त्यसो गर्नका लागि उनीहरूले संसारको छायालाई बुझेर मात्र हुँदैन, संसारलाई बुझ्नुपर्छ ।’ नाटककार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मई’ नाटकमा पनि सघन रूपमा हार्वर्ड फास्टको उल्लिखित भावना पाइन्छ ।

    ‘१२ मई’ नाटकले सामन्तवादी तथा पुँजीवादीका तमाम भ्रमको पर्दा उघार्ने प्रयास गरेको छ । विश्वमा कुनै बेला कम्युनिस्ट–समाजवादीको शौर्य र प्रभाव अर्कै थियो । साम्राज्यवादीले आफ्नो अस्तित्वको रक्षार्थ अपनाएका नयाँनयाँ विधिका तुलनामा समाजवादीले आफूलाई नयाँ परिस्थितिमा विकास गर्न सकेनन्, जसका कारण अस्थायी रूपमै भए पनि विश्वमा समाजवादीहरू केही पछाडि पर्न गएको कुरा सही हो । अब विश्वमा त्यस्तो अवस्था छैन किनभने आज विश्वमा पुँजीवादी शिविर सङ्कटग्रस्त बन्दै गएको छ । विश्व बहुध्रुवमा विभक्त हुँदै गएको पनि छ ।

    समाजवादी शिविरबाट कलासाहित्यको क्षेत्रमा महत्त्वपूर्ण काम हुँदै आएका छन् । कलासाहित्यलाई क्रान्तिको साधनको रूपमा विकास गर्नुपर्दछ । दुस्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् कम्युनिस्ट–सर्वहारा वर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका निर्वाह गर्नुपर्दछ । कलासाहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुपर्दछ, राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नुपर्दछ, निरन्तर क्रान्तिको भावधारासित जोड्नुपर्दछ । त्यसैले त ‘१२ मई’ नाटक समवेत स्वरमा उद्घोष गर्छ– क्रान्ति जारी छ !

    नाटकसम्बन्धी विभिन्न दृष्टिकोण रहिआएका छन् । यसका तत्त्व र संरचनाबारे विभिन्न विद्वान् लेखकले विभिन्न मत जाहेर गरेका छन् । आचार्य विश्वनाथले दृश्यकाव्यका लागि वस्तु, नेता र रस—यी तीनओटा कुरालाई अपरिहार्य तत्त्व बताएका छन् । कसैकसैले नाटकको कथावस्तु वा कथानक, कार्यव्यापार, देशकाल वातावरण, द्वन्द्व, चरित्र, संवाद, दृश्यविधान वा रङ्गनिर्देशन, विचार, रसभाव र शैलीलाई नाटकीय तत्त्वको निरुपण मानेका छन् । नाटक अभिनेय हुनका लागि यसको आकारप्रकार, पात्रका सङ्ख्या, अङ्क र दृश्य, कार्यव्यापारको प्रमुखता, देश, काल र वातावरण, कथोपकथन, भाषा, आङ्गीक भावको प्रदर्शन र अभिव्यक्ति, रङ्गमञ्चजस्ता विषयमा विशेष ध्यान दिन आवश्यक हुन्छ । कथानक, पात्र, संवाद, वातावरण, द्वन्द्व, उद्देश्य र भाषाशैली आदि तत्त्वका आधारमा संरचित हुन्छ । नाटकको संरचनासम्बन्धी जे जस्ता मत रहे पनि वास्तविक अर्थमा यसको संरचना आफैँमा पूर्ण हुन्छ । संवादात्मक शैलीमा लेखिने यसलाई विभिन्न अङ्क तथा दृश्यमा विभाजन गरिएको हुन्छ ।

    कतैकतै भनिएको छ– नाटकमा पाँचोटादेखि दशोटासम्म अङ्क हुन सक्छन् भने घटना वा प्रसङ्गानुकूल अनेकौँ दृश्यको व्यवस्थापन गर्न सकिन्छ । मोहनविक्रम सिंहद्वारा लिखित मध्यम आकारमा संरचित ‘१२ मई’ नाटक ४ अङ्क, जसमा क्रमश: ५, ४, ६ र ५ दृश्य संयोजन गरिएको छ ।
    नेपालमा प्रगतिवादी साहित्यिक धारा समृद्ध बन्दै गइरहेको छ, यद्यपि प्रगतिवादी दृष्टिकोणका आधारमा गीत, कविता, निबन्ध, समालोचनालगायतका विधामा सयौँ पुस्तक लेखिएका भए पनि प्रगतिवादी नाट्यविधा भने कमजोर नै रहेको छ । यस कारण प्रगतिवादी नाट्यपरम्परालाई समृद्ध एवम् विकास गर्न प्रगतिवादी नाटकको अझ बढी लेखन, अझ बढी सङ्कलन, अझ बढी सम्पादन एवम् अझ बढी सैद्धान्तिकीकरण गर्न आवश्यक छ ।

    प्रगतिवादी नाटक ‘१२ मई’ तत्कालीन परिवेश र विषयम आधारित भए पनि यो वर्गसङ्घर्षको प्रतिबिम्बन गर्न सफल र मानक दृश्यकाव्य बन्न पुगेको छ । नेपालमा प्रगतिवादी नाट्यपरम्पराको आफ्नै इतिहास रहेको छ । यसबिचमा सामाजवादी यथार्थवादी नाटक सिर्जना गर्ने स्रष्टा र तिनको एकत्वको अभाव खट्किएकै हो । जब स्रष्टाहरूले वर्गसङ्घर्षको अग्रमोर्चामा भाग लिन्छन्; जब कलाकारले आफ्नो जिन्दगीलाई अपेरामय बनाउँछन्; तब कालजयी अपेरा तथा नाटक जन्मिनुको कुनै विकल्प हुँदैन । साहित्य वर्गसङ्घर्षको अभिन्न मित्र हो, त्यसमा पनि वर्गसङ्घर्षको नाटकसित त अत्यन्त नजिक साइनो रहेको छ, जसको गतिलो प्रमाण ‘१२ मई’ आफैँ बोलिरहेको छ ।

    ‘१२ मई’ नाटक समाजवादी यथार्थवादी भावभूमिमा आधारित छ । समाजवादी यथार्थवादको सैद्धान्तिक मार्गदर्शनमा नाटकको रचना गर्नु प्रगतिवादी स्रष्टाको मूल कर्तव्य हो । नाटककारले सामाजिक यथार्थको कोरा चित्रण नगरी यथार्थको क्रियात्मकतालाई आत्मसात गर्दै मानव जीवनको सिर्जनात्मक प्रकाशन गर्दछ । यसरी वैचारिक प्रतिबद्धता र कलात्मक प्रतिबिम्बनको संयोजनबाट नै उत्कृष्ट नाट्यरचनाको जन्म हुन्छ । एउटा उत्कृष्ट नाटकको स्तरलाई नाप्ने अन्तिम कसी भनेको रङ्गमञ्च नै हो । रङ्गमञ्चमा पनि नाटकको द्वन्द्वात्मकतालाई नाटकको आत्मा मान्ने गरिन्छ ।

    नेपाली प्रगतिवादी नाटकको रङ्गमञ्चीय परम्परा त्यति सन्तोषजनक देखिँदैन । रूपवादी, कलावादी र स्वच्छन्दतावादीले भनेजस्तै साहित्य लालित्यपूर्ण र उन्मुक्त प्रकृतिको कलाकरण होइन, नाटकको रचनाको अन्तिम विषय भनेको मानव समाजका क्रियाकलाप नै हुन्, जो श्रमसौन्दर्यसित अभिन्न रूपमा जोडिएको हुन्छ । त्यसैले सामाजिक यथार्थको गतिशील रूप र अन्तर्वस्तुको संयोजन नाटकमा आवश्यक हुन्छ । कुनै पनि लेखकको कल्पना प्रकृति, समाज र मानव जीवनका घटनाक्रमसँग जोडिएको हुन्छ, जसरी सेक्सपियरले राजतन्त्रात्मक समाजलाई नाट्यकरण गरेका थिए, त्यस ठिक विपरीत गोपालप्रसाद रिमालले निरङ्कुशताबाट प्रजातन्त्रतिर सङ्क्रमित नेपाली समाजको चित्रण गर्दै यथार्थवादी नाट्य परम्परालाई अगाडि बढाएका थिए । गोपालप्रसाद रिमालको त्यो यथार्थवादी नाट्यपरम्पराले नेपाली प्रगतिवादी नाट्यलेखनको पूर्वपीठिकाको आधारभूमिको काम गरेको थियो ।

    नाटककार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मई’ मे १२, १९८६ मा नेपालको पञ्चायती चुनाव बहिष्कार आन्दोलनको विषयमा आधारित रहेर तयार गरिएको ऐतिहसिक नाटक हो । वर्गसङ्घर्षले राजनीतिक क्रान्ति मात्र नभई यसले प्रगतिवादी कलासाहित्यमा पनि नयाँनयाँ विषय र नयाँनयाँ बान्की प्रदान गर्दै आएको छ । नेपाली वर्गसङ्र्षको पछिल्ला दिनमा सामन्तवादका विरुद्ध जनताको विद्रोह र प्रतिरोध, प्रतिक्रियावादीको नरसंहारकारी अभियान, सामूहिक हत्याकाण्ड तथा चरम यातना, जनता, योद्धा र नेताका त्याग, तपस्या र बलिदान नाटकको विषय बनेका छन् । प्रतिक्रियावादी राज्यसत्ताले क्रान्तिकारी पार्टी र तिनका जनसङ्गठनमा आआफ्ना मान्छे कसरी घुसपैठ गराउँछन् र तिनले कसरी नेता तथा कार्यकर्ताका विरुद्ध भ्रामक गतिविधि गर्दछन् भन्ने कुरालाई ‘१२ मई’ नाटकले सानदार ढङ्गले प्रस्तुत गरेको छ । ‘१२ मई’ नाटकले समाजवादी यथार्थवादी धारालाई सफलताका साथ नाटकीय प्रारूपीकरण गरेको छ । यसले देश र जनताको मुक्तिका निम्ति वर्गसङ्घर्षको पक्षपोषण गरेको छ । ‘१२ मई’ नाटकले आफूलाई विषाक्त बजारीकरणका विरुद्ध सशक्त रूपमा उठाउँदै वैचारिक, राजनीतिक एवम् नाटकीय मूल्यलाई सर्वाधिक महत्त्व दिएको छ । निरन्तर क्रान्तिको भावभूमिमा क्रान्तिकारी सौन्दर्यचिन्तन ‘१२ मई’ नाटकको साझा अन्तर्वस्तु हो ।

    २. ‘१२ मई’ नाटकका केही कुरा

    कार्कीनेटाका विष्ण्ॉमणि साहु एक जना सहयोगी काले थापालाई लिएर आसामी उठाउन भारतको कानपुर पुग्छन् । विष्ण्ॉमणिहरूलाई कानपुरमा प्रहरी र जोगीले हैरान पार्छन् । विष्ण्ॉमणिलाई भाषाले पनि निकै अप्ठ्यारोमा पार्दछ । साहुको ऋण तिर्ने र घरखर्च चलाउने उद्देश्यले कानपुर पुगेको विष्ण्ॉमणि साहुका आसामी सुरेन्द्र अखिल भारत नेपाली एकता समाजमा आबद्ध भइसकेको हुन्छ । जब एकता समाजका मान्छेहरूलाई विष्ण्ॉमणिको जालझेल र षड्यन्त्र थाहा हुन्छ, तब उसलाई कारबाही गरिन्छ ।

    हर्कबहादुर र उजेली सिद्धान्तप्रति निष्ठावान् व्यक्ति हुन् । श्यामलाल ‘उग्र क्रान्तिकारी’ देखिन्छन् । श्यामलालमा निम्न–पुँजीवादी अधैर्यता देखिन्छ । श्यामलालले उजेलीसँग विवाह गर्न प्रस्ताव राखे पनि उसको अवसरवादी चरित्रका कारण उजेलीले ऊसित विवाह गर्न अस्वीकार गरिदिन्छिन् । उजेलीसँग विवाह नभएपछि श्यामलाल विक्षिप्त हुन्छ अनि उनी सरकारी सिआइडीको सङ्गतमा पुग्छन् । नेपालको सरकारी सिआइडी इन्स्पेक्टर पदमबहादुर अनि एकता समाजभित्रका श्यामलाल र सुनिता सङ्गठनलाई तहसनहस पार्न खोज्छन् । उनीहरूले एकता समाजका कार्यकर्तालाई दिग्भ्रमित पार्न प्रयत्न गर्छन् तर हर्कबहादुर र उजेलीजस्ता सचेत कार्यकर्ताले मिहिनेतपूर्वक भ्रमित कार्यकर्तालाई आन्दोलनमै समाहित गराइरहन सफल हुन्छन् ।

    नेपालमा निरङ्कुश पञ्चायती व्यवस्थाको चुनाव हुँदै थियो । त्यही चुनावको बहिष्कारको समर्थन गर्दै मे १२, १९८६ का दिन दिल्लीमा प्रदर्शनको कार्यक्रम राखिएको थियो । अवसरवादीहरू विभिन्न बहाना गरेर त्यस प्रदर्शनमा सहभागी हुँदैनन् । मे १२ का दिन दिल्लीमा नेपालमा हुन लागेको पञ्चायती चुनावको बहिष्कारको पक्षमा जुलुस प्रदर्शन हुन्छ । कैयौँ व्यक्ति गिरफ्तार हुन्छन् । भारतीय सरकारद्वारा उनीहरूलाई झुटा मुद्दा लगाइन्छ ।

    विष्ण्ॉमणि साहुले एकता समाजकी नेतृ उजेलीसँग विवाह गर्दैछ भनेर अफवाह चलाइन्छ । एकता समाजमै काम गर्दै आएकी सुनिताले आफ्ना श्रीमानलाई अलपत्र परेकी उजेलीलाई दिल्लीसम्म जाने भाडा दिन र हातको घडी लिन पठाएर उल्टै विष्ण्ॉमणि साहुसँग चौथी श्रीमती बनेर भाग्छिन् । हर्कबहादुर र उजेलीको ‘क्रान्तिकारी आन्दोलनमा टुटफुट, विभाजन भइरहन्छ तर क्रान्तिकारी आन्दोलन अगाडि बढिरहनेछ, क्रान्ति जारी छ’ भन्ने उद्घोषसँगै नाटक समाप्त हुन्छ । ‘१२ मई’ नाटकको मूल कथासार यही हो ।

    लेखन गम्भीर जिम्मेवारीभित्र पर्ने कुरा हो । लेखनलाई सामाजिक असमानता र अन्याय हेर्न आँखा खोल्ने राजनीतिक कार्य पनि भनिन्छ । त्यसकारण पनि भन्न सकिन्छ कि सामाजिक, सांस्कृतिक र राजनीतिक अन्याय र अत्याचार हेर्ने आँखा बनेको छ, ‘१२ मई’ नाटक । ‘१२ मई’ चर्चित प्रगतिवादी नाटकमध्ये शीर्षस्थानमा पर्दछ । पुस्तकका रूपमा पढ्न नपाए पनि तथा मञ्चित नाटक हेर्न नपाए पनि धेरैले सुनेको र चर्चा गरेको नाटकमध्येमा ‘१२ मई’ पनि पर्दछ । एउटा स्वाभाविक प्रश्न हो– आखिर १२ मई नाटकमा के छ ? यसको उत्तरका निम्ति यसका केही ऐतिहासिक सन्दर्भ केलाउनुपर्ने हुन्छ । ‘१२ मई’ नाटकको प्रचार सामग्रीमा लेखिएको विवरण यस्तो छ :

    ‘१२ मईको आन्दोलन सन् १९८६ (तदनुसार २०४३ वैशाख २९) मा नयाँदिल्लीमा भएको थियो । त्यो नेपालको एउटा ऐतिहासिक आन्दोलन थियो । त्यो आन्दोलन भारतमा नै भएको थियो तर त्यो नेपालको राजनीतिक व्यवस्थासँग सम्बन्धित थियो । त्यसैले त्यो नेपालको नै ऐतिहासिक आन्दोलन थियो । त्यो बेला नेपालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था थियो । त्यसअन्तर्गत पञ्चायती चुनाव हुन थालेको थियो । नेपालमा वामपन्थी र प्रजातान्त्रिक पार्टीले त्यसको बहिष्कार गर्ने निर्णय गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पनि त्यो चुनावको बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यो बहिष्कार आन्दोलनको समर्थनमा अखिल भारत नेपाली एकता समाजले पनि नयाँदिल्लीमा विरोध प्रदर्शनको कार्यक्रम राखेको थियो ।’

    ‘भारत सरकारले त्यो प्रदर्शनका सिलसिलामा १० जना महिलासहित ९५ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो र उनीहरूका विरुद्ध शान्तिसुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा मुद्दा चलाएर २ देखि ३ महिनासम्म दिल्लीको तिहाड जेलमा राखेको थियो । १२ मेको त्यही आन्दोलनलाई आधार बनाएर नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व मोहनविक्रम सिंहले ‘१२ मई’ शीर्षकको नाटक लेख्नुभएको थियो । त्यो नाटकको पहिलो प्रदर्शन नोभेम्बर १३–१७, १९८९ नोभेम्बर (तदनुसार २०४६ कात्तिक २८–मङ्सिर २ गते) अखिल भारत नेपाली एकता समाजको कानपुरमा सम्पन्न तेस्रो अखिल भारत सम्मेलनको अवसरमा भएको थियो । त्यो नाटकको कानपुरमा भएको पहिलो प्रदर्शनको करिब ३७ वर्षपछि काठमाडौँको प्रज्ञा–प्रतिष्ठानको मेगाहलमा २०८३ भदौ २१ गते प्रदर्शन भएको हो ।’

    ‘१२ मई’ नाटकमा सामन्तवादको जगमा उभिएको पञ्चायती व्यवस्था र तिनका मतियारको व्यापक भण्डाफोर गरिएको छ । पञ्चायतकालीन सिडिओ र जिल्लाका सभापतिहरू जनतालाई लुट्ने, चुस्ने र मार्ने मेसिनजस्तै थिए । कानुनी रूपमा नेपाली समाजमा जातपात, भेदभाव नरहेको देखाए पनि यथार्थमा समाजमा त्यस्तो भेदभावलाई षड्यन्त्रपूर्वक कसरी बाँचिरहेको छ र कसरी बचाइराखिएको छ भन्ने कुरालाई प्रस्तुत नाटकले अत्यन्त मर्मका साथ उठाएको छ । गाउँका सामन्तले जनतालाई कसरी ठग्छन् भन्ने कुरा यस नाटकमा गम्भीरताका साथ उठाइएको छ । साहुले सुरेन्द्रको बाउलाई दिएको ५ सय रुपैयाँलाई कसरी ५ हजारमा बदलिदिए भन्ने कुरालाई नाटकमा रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको छ । ‘१२ मई’ नाटकका पात्र विष्ण्ॉमणि साहु र उनका सहयोगी कालेको संवाद हेरौँ :

    ‘साहु– मेरो व्यवहार त्यसरी नै चल्छ । आजसम्म सोझो गरेको भए मैले यत्रो सम्पत्ति कमाउन सक्ने थिएँ ? सुरेन्द्रको बाउले पनि मबाट पैसा र अन्न गरेर जम्मा ५ सय लगेको थियो होला । २–३ पटक पाँच सय त्यसले मलाई बुझाइसक्यो होला, तैपनि त्यसको बाउ मर्दा त्यो ऋण ५ हजारको भयो र उसको १०/१२ हजार पर्ने जग्गा मेरो भयो । जमाना बदलिएको भए पनि कुनै लाटो सोझो मान्छे फेला पर्‍यो भने अहिले पनि कैले कैले यसरी २/४ हजार रुपैया कमाउनु कुनै ठुलो कुरा होइन ।’

    ‘काले– ओ हो ! सुरेन्द्रसित तपाईंले यत्रो पाप गर्नुभएको रहेछ । मैले ता साँचो व्यवहार होला भन्ने ठानेको थिएँ । त्यही पापले पो त पहिलेको तमसुक खरानीमा पाकेर नष्ट भएको रहेछ । अहिले सुरेन्द्रको ठेगाना हराएको रहेछ’ (पृ. १०) ।
    नाटकमा कविताको प्रयोगको लामो इतिहास रहेको छ । यससम्बन्धी लामा लामा व्याख्यान पनि रहेका छन् । यहाँको त्यसको समग्र खोलुवा सम्भव छैन तर पनि यति भन्न सकिन्छ, नाटककमा कविताको प्रयोगले नाटकलाई बढी रोमाञ्चक र संवेद्य भने बनाउँछ । गीतसङ्गीतको विशेषता नै भावनालाई झङ्कृत बनाइदिने हुन्छ । ‘१२ मई’ नाटकमा कलाकारहरू गीत गाउँदै तथा गितार र मादल बजाउँदै मार्च गर्दछन् । यसले नाटकलाई थप रोमाञ्चक बनाएको छ । ‘१२ मई’ नाटकको सन्दर्भअनुसार सही गीत चयन गरिएको छ । एक साक्ष्य हेरौँ :

    ‘झिमीझिमी गर्ने जुनकिरी, गाइरहेछ यही गीत
    लड्दै जाओ नौजवान हो, हार होइन तिस्रो जित
    हिमाल अघि बढ्दैछ, विजयको सिंहनाद
    आज हामी एक आवाज, इन्क्लाब जिन्दावाद’ (पृ. १४) ।

    ‘१२ मई’ नाटकमा ‘इन्क्लाब जिन्दावाद’ को समवेत स्वर सुनिन्छ । नाटकमा अखिल भारत नेपाली एकता समाजको सांस्कृतिक टोलीका तर्फबाट भारतमा सांस्कृतिक अभियानका सिलसिलामा कानपुरमा आएर चेतना र जागृति ल्याउने कुरा गरिएको छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको, निरङ्कुश सामन्ती पञ्चायती व्यवस्था रहेका, गाउँघरमा साहु, सामन्त, फटाहा, पुलिस, कर्मचारी र पञ्चको चरम शोषण र उत्पीडन रहेको कारण देशमा उन्नति हुन नसकेको, मिहिनेतकश जनता ठुलो गरिबी र दु:खकष्टमा रहेको, त्यो अवस्थामा परिवर्तन ल्याउन क्रान्ति गर्नुपर्ने कुरालाई ‘१२ मई’ नाटकले विशेष जोड दिएको छ । संसारभरि क्रान्तिको बिगुल बजिरहेको, नेपालका जनतामा पनि जागृतिको लहर उठिरहेको सन्दर्भमा गीतसङ्गीतका माध्यमद्वारा क्रान्तिकारी सन्देश फैलाउन आफूहरू लागिरहेको उद्घोष जनकलाकारले गरेका छन् । अर्को एक साक्ष्य :

    ‘फूलैफूल फुलिरहेको, रमाइलो बसन्तको गीत
    हामी सबै लडिरहेको साहसिलो क्रान्तिको गीत
    चुसिएका जनताहरूको, वीरताको जनमुक्तिको गीत
    गाउँदछौँ गरिब मिलेर शोषक सारा मास्छौँ भन्ने गीत ।

    सङ्घर्षमा कुदिरहेका, साहसिला योद्धाहरूको गीत
    बन्धन हामी चुँड्छौँ भनेर, उठेका ती नारीहरूको गीत
    देशभरि उठिरहेका सङ्घर्षका ज्वारहरूको गीत
    धर्ती सारा रङ्गाइरहेका सहिदका रगतको गीत’ (पृ. १५) ।

    ‘१२ मई’ नाटकमा विभिन्न पात्र रहेका छन्, जसमध्ये हर्कबहादुर र जुनेली सकारात्मक पात्र हुन् । नाटकमा हर्कबहादुर र जुनेलीले सङ्घर्षात्मक एवम् विचाराधारत्मक नेतृत्व गरेका छन् । महिला पात्र जुनेली विचारमा स्पष्ट र लक्ष्यमा प्रतिबद्ध छिन् । नाटकमा उनका विरुद्ध ठुल्ठुला षड्यन्त्र भएको देखिन्छ तर उनी कत्ति पनि विचलित हुँदिनन् । नाटकमा उजेलीले देश, जनता र सङ्गठनको पक्षमा सशक्त भूमिका निर्वाह गरेकी छिन् । मे १२ बहिष्कार आन्दोलनमा उजेली पनि गिरफ्तार भएकी हुन्छिन् । उजेलीको सङ्घर्षशील भूमिकाले नाटकलाई द्वन्द्वात्मक परिपाकमा पुर्‍याएको छ । ‘१२ मई’ नाटकमा तमाम प्रकारका शत्रुतापूर्ण अन्तर्विरोधका बिचबाट उजेलीले विजय प्राप्त गरेकी छिन् । अन्धकार रातमा पनि उजेली वास्तविक जुनेलीजस्तै छिन् ।

    भनिरहनुपर्दैन, क्रान्तिकारीका लागि समाजवाद–साम्यवादको महान् लक्ष्य हो । दुनियाँभरका शोषित–उत्पीडित, मिहिनेतकश जनताको मुक्तिको अजेय हतियार नै माक्र्सवाद हो । दुनियाँभरिका मिहिनेतकश जनसमुदाय एकजुट भएर अगाडि बढ्ने हो भने सबै प्रकारको दमन, कष्ट र कठिन परिस्थितिमाथि विजय हासिल गर्न सकिन्छ । हेरौँ, उजेलीको भाषणको केही अंश :

    ‘नयाँदिल्लीमा भएको १२ मईको बहिष्कारको आन्दोलनको सिलसिलामा ९५ जनाजति साथीहरू गिरफ्तार हुनुभयो । त्यसमा १० जना महिला पनि हुनुहुन्थ्यो । देशभित्रका र भारतका प्रतिक्रियावादीले सोचेका थिए कि त्यस प्रकारको दमनले उनीहरूले हाम्रो सङ्गठन र आन्दोलनलाई दबाउन सक्नेछन् तर हामी अझ झन् ठोस भएर बाहिर निस्केका छौँ । हामी पहिलेभन्दा कैयौँगुना बढी जोश र उत्साहसहित आफ्नो लक्ष्यतिर बढ्दै जानेछौँ । आखिरमा विश्वको इतिहासमा कहाँ प्रतिक्रियावादीको दमनले क्रान्तिको लहरलाई रोक्न सकेको छ ?’

    ‘हाम्रा विरोधीहरूले भन्छन्– नेपालमा चुनाव हुन्छ । भारतमा, दिल्लीका सडकमा बहिष्कार गरेर के हुन्छ ? हाम्रो बहिष्कार आन्दोलनलाई उनीहरू हाँसोमा उडाउँछन् । उनीहरू भन्दछन्– सबै आन्दोलन र सङ्घर्ष देशभित्र नै गर्नुपर्दछ, विदेशमा केही गर्नुहुन्न । प्रतिक्रियावादीलाई आफ्ना स्वार्थ र अस्तित्वका लागि जब आवश्यक हुन्छ, उनीहरूले आफ्नो देशबाहिरको भूमिको उपयोग गर्न, मदत गर्न अलिकति पनि हिचकिचाउँदैनन् । क्रान्तिकारी आन्दोलनका अगाडि राष्ट्रियताको बन्धन लगाउन खोज्दछन् तर क्रान्तिकारीहरू त्यो बन्धनभित्र बाँधिएर बस्दैनन् । हाम्रो भनाइ छ– नेपालमा विद्यमान प्रतिक्रियावादी सामन्ती राजतन्त्र र निरङ्कुश तानाशाही व्यवस्थाका विरुद्धको सङ्घर्षलाई हामीले जहाँजहाँ सम्भव छ, सङ्घर्ष चलाउने प्रयत्न गर्नुपर्दछ । देशभित्र र देशबाहिर जहाँजहाँ सम्भव छ, हामीले आफ्नो मोर्चा खोल्ने प्रयत्न गर्नुपर्दछ । एकातिर, हामीले आफ्ना देशका प्रतिक्रियावादी तानाशाही व्यवस्थाका विरुद्ध संसारका प्रत्येक कुनामा, सम्भव भए समुद्रमा र अन्तरिक्षमा पनि मोर्चा खोल्ने प्रयत्न गर्नुपर्दछ भने त्यसका लागि सबैतिरबाट समर्थन र सहयोग जुटाउने प्रयत्न गर्नुपर्दछ । अर्कोतिर, संसारका सबै क्रान्तिकारी सङ्घर्षलाई सक्दो समर्थन र सहयोग दिने हाम्रो प्रयत्न हुनुपर्दछ । आखिर हामीले बुझ्नुपर्दछ– नेपालको क्रान्ति विश्वक्रान्तिको अभिन्न अङ्ग हो । हाम्रो नारा हुनुपर्दछ– संसारका सारा मजदुर एकजुट होऔँ’ (पृ. १३२–१३३) ।

    अक्टोबर क्रान्तिका महानायक भिआई लेनिनको एक प्रसिद्ध उक्ति छ– “क्रान्तिको इतिहासबारे किताब लेख्नुभन्दा स्वयम् क्रान्तिमा सहभागी हुनु बढी आनन्ददायी र फलदायी काम हो ।” नेपालमा नेता तथा कार्यकर्ता सिर्फ किताब मात्र लेखेर बसेका छैनन्, स्वयम् सङ्घर्षमा पनि होमिएका छन्, आवश्यक पर्दा बलिदानको कोटासमेत चुक्ता गरेका छन् । प्रतिक्रियावादीले भनेजस्तो नेपालका नेताहरू क्रान्तिको गफ मात्र गर्दछन्, क्रान्ति गर्दैनन्, वर्गसङ्घर्षमा भाग लिँदैनन् भन्ने कुरा सर्वथा गलत हो । ‘१२ मई’ नाटकमा वर्गसङ्घर्षसँगै विचारधात्मक सङ््घर्षलाई पनि माथि उठाइएको छ । नेपालमा एउटा भनाइ छ, ‘ग्यास्टिक नभएको नेपाली हुन्न, गुप्तचर नभएको राजनीतिक पार्टी सङ्गठन हुन्न ।’ प्रस्तुत नाटकमा पार्टी तथा सङ्गठनमा प्रतिक्रियावादी सत्ताका सिआइडी कसरी घुसाइन्छ र तिनलाई कसरी परिचालन गरिन्छ भन्ने कुरालाई अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरिएको छ । क्रान्तिकारीहरूले यस्ता विषयमा के कसरी सावधानी अपनाउनुपर्दछ भन्ने कुरालाई यस नाटकले जोड दिएको छ । हर्के र उजेलीका संवाद हेरौँ :

    ‘हर्के– साथी हो । पदमलाई अब हामीले चिनिसक्यौँ । श्यामे नाङ्गियो तर त्यसबाट हाम्रो सङ्गठनमा दुस्मन र प्रतिक्रियावादीको घुसपैठको सिलसिला बन्द भयो भन्ने निष्कर्ष निकाल्नुहुन्न । भविष्यमा पनि नयाँनयाँ श्यामेहरू पैदा भइरहन सक्दछन् । कैयौँ इमानदार साथीहरूले पनि दुस्मनका भ्रमलाई ठिकसित बुझ्न नसकेर पलायन, अवसरवाद वा गद्दारीको बाटो समातिरहन सक्दछन् र त्यसरी हाम्रो एकता, सङ्गठन र आन्दोलनलाई कमजोर पार्न सक्दछन् ।’

    ‘उजेली– हामी खालि दुस्मनका एजेन्ट, सिआइडी र दलालबाट मात्र होइन, हाम्रा इमानदार साथीमा दुस्मनका गलत असरप्रति पनि सतर्क हुनुपर्दछ । इमानदार र कर्मठ साथीमा देखा पर्ने विभिन्न कमजोरीका कारणले पनि उनीहरू बिग्रन सक्दछन् र त्यसरी उनीहरूले आफ्नै सिद्धान्त र उद्देश्यमा आघात पुर्‍याउन सक्दछन् । आफ्नै खुट्टामा आफैँ बन्चरोले हान्न सक्दछन् । त्यसरी हाम्रो सङ्गठन र आन्दोलनलाई दुस्मनबाट जति खतरा छ, त्योभन्दा कम खतरा स्वयम् हाम्रो सङ्गठन र इमानदार साथीमा दुस्मनको घुसपैठ र असर तथा इमानदार साथीभित्रका कमजोरीबाट पनि छैन । त्यसकारण त्यस्ता असर, कमजोरी र प्रवृत्तिलाई हटाउन प्रयत्न गर्नुपर्दछ । हामीभित्रैबाट स्पष्ट, ठोस र एकताबद्ध हुन सकेमा मात्र दुस्मनका एजेन्ट, सिआइडीले हाम्रो सङ्गठन र आन्दोलनमा अलिकति पनि आँच पुर्‍याउन सक्दैनन्’ (पृ. १५७) ।

    ‘१२ मई’ नाटकलाई अनेकन् कोणबाट विश्लेषण गर्न सकिन्छ । ‘१२ मई’ नाटकको धेरै सबल पक्ष रहेका छन्, यद्यपि यसका केही सीमा पनि रहेका छन् । प्रस्तुत नाटकको मूल पक्षलाई केन्द्रित गर्न नसक्नु यस नाटकको मुख्य कमजोर पक्ष हो । पाठक तथा दर्शकले ‘१२ मई’ लाई जताततै खोजिरहेका हुन्छन् तर उनीहरूलाई आफूहरू कताकता पुगेको भान पनि परिरहेको हुन्छ । कलाकारको अभिनयमा अब्वलपना झल्किए पनि नाटक प्रदर्शनका क्रममा लामालामा संवादका कारण केही धिमापना देखिएको छ । नाटकको प्रारम्भमा नेपथ्यबाट ‘१२ मई’ नाटक लेखिनुपूर्वको अवस्था अलिकति खोलिदिन पाएको भए अवश्य पनि दर्शकमा चित्तप्रसन्नताको मात्रा अझ बढ्ने थियो, यद्यपि ‘सागर में गागर’ भनेजस्तो परिस्थितिका बिच काम गर्नुपर्ने अवस्थामा निर्देशक तथा कलाकार मित्रले जुन परिश्रम गर्नुभएको छ, जुन अभिनयकला प्रस्तुत गर्नुभएको छ, त्यसका लागि उहाँहरू अनन्त धन्यवाद र बधाईको पात्र बन्नुभएको छ । पञ्चायती व्यवस्थाको विरोधमा लेखिएको नाटक ‘पञ्चायती व्यवस्था’ ढलेर ‘संवैधानिक राजतन्त्र’ हुँदै ‘लोकतान्त्रिक गणतन्त्र’ सम्म आइपुग्दा पनि समकालीनताको झझल्को दिन सक्नु ‘१२ मई’ को सर्वोच्च नाट्यशक्ति हो ।

    ३. नाटककार मोहनविक्रम सिंहका केही कुरा

    भनिन्छ, कुनै पनि रचना वा सिर्जनाको पहिलो समीक्षक स्वयम् सष्टा नै हुने गर्दछ । कुनै पनि लेखक, कवि, चित्रकार वा कलाकारले आफ्नो सिर्जनालाई पाठकसामु ल्याउनुअघि आफैँले त्यसको मूल्याङ्कन, परिमार्जन र काँटछाँट गरेका हुन्छन् । सिर्जना सकिएपछि स्रष्टाले एक तटस्थ पाठक वा दर्शकको रूपमा आफ्नो कामलाई हेर्नुपर्छ । शब्द चयन, भाव र संरचना मिलेको छ कि छैन भन्ने कुराको पहिलो ज्ञान स्रष्टा स्वयम्लाई हुन्छ । व्याकरण, शैली वा प्रस्तुत गरिएका तर्कमा भएका गल्तीलाई अरूले भन्दा पहिले स्रष्टा आफैँले ठम्याउन र सच्याउन सक्दछ । बाहिरी संसार वा व्यावसायिक समीक्षककहाँ पुग्नुअघि रचनालाई कत्तिको कसिलो र परिपक्व बनाउने भन्ने निर्णय स्रष्टाकै हातमा हुन्छ । अपरिपक्व सिर्जनालाई बाहिर ल्याउनबाट रोक्ने काम पनि उसकै विवेकले गर्छ, यद्यपि कहिलेकाहीँ आफ्नै सिर्जनाप्रतिको अत्यधिक मोहका कारण स्रष्टा पूर्ण रूपमा निष्पक्ष समीक्षक नबन्न पनि सक्दछ । त्यसैले आत्मसमीक्षासँगै वस्तुपरक दृष्टिकोण राख्नु उत्कृष्ट सिर्जनाका लागि अनिवार्य हुन्छ ।

    ‘१२ मई’ ऐतिहासिक नाटक परिचय पुस्तिका (हाते पर्चा ‘ब्रोसर’) मा नाटककार मोहनविक्रम सिंहले भन्नुभएको छ– ‘१२ मई नाटक मे १२, १९८६ मा दिल्लीमा भएको आन्दोलनसित नै सम्बन्धित छ । त्यो बेला नेपालमा हुन थालेको पञ्चायती तानाशाही व्यवस्थाको चुनावको बहिष्कारको समर्थनमा नयाँदिल्लीमा अखिल भारत नेपाली एकता समाजद्वारा विरोध प्रदर्शन गरिएको थियो । दिल्लीको त्यही आन्दोलनलाई आधार बनाएर नै मैले ‘१२ मई’ नाटक लेखेको थिएँ । दिल्लीमा समेत आन्दोलनको वातावरण निर्माण हुनु र त्यस क्रममा सहभागीहरू गिरफ्तारीमा पर्नु तत्कालीन राजनीतिक यथार्थका जीवन्त अध्याय थिए तर परिवर्तनको बाटो बाहिरी दमनले मात्र अवरुद्ध हुँदैन । सङ्घर्षरत सङ्गठन र आन्दोलनभित्रै पनि दलाली, घुसखोरी, अवसरवाद र व्यक्तिगत स्वार्थले प्रवेश गरेर एकतालाई कमजोर बनाउने, सङ्गठनलाई विभाजित गर्ने र जनताको सङ्घर्षलाई दिशाहीन बनाउने प्रवृत्तिसँग निरन्तर जुध्नुपर्दछ । उक्त नाटकमा त्यो पक्षबारे पनि साहित्यिक प्रकारले प्रकाश हालिएको छ ।’

    ‘समाजका लागि, श्रमजीवी जनताको पक्षमा र परिवर्तनका लागि लड्नु कुनै सरल यात्रा होइन । बाहिरबाट आएको दमनसँगै भित्रैबाट पैदा हुने वैचारिक विचलन र स्वार्थको प्रतिरोध पनि उत्तिकै कठिन हुन्छ । त्यो नाटक पनि त्यही यथार्थको गर्भबाट जन्मिएको हो । त्यसमा समेटिएका कतिपय पात्र, घटना, गिरफ्तारी, भेटघाट र राजनीतिक प्रसङ्ग कुनै काल्पनिक रोमाञ्चका उपज होइनन्, तिनको आधार तत्कालीन वास्तविक घटना र ऐतिहासिक अनुभवमाथि आधारित छ तर नाटक इतिहासको दस्तावेज मात्र होइन । वास्तविक तथ्य र नाटकीय कल्पनालाई संयोजन गर्दै त्यो नाटकमा एउटा यस्तो रचनात्मक संसार निर्माण गरिएको छ, जहाँ व्यक्तिको कथा हुँदै समग्र समाजको वर्गीय चरित्र उद्घाटित हुन्छ ।’

    ‘वास्तवमा इतिहास केवल शासकको निर्णय र सत्ताको अभिलेख होइन, इतिहास ती श्रमजीवी मानिसको पनि हो, जसले शोषणको अँध्यारोभित्रबाट परिवर्तनको आकाङ्क्षा बोकेर सङ्घर्षको बाटो रोजे । ‘१२ मई’ त्यही सङ्घर्षको कलात्मक अभिव्यक्ति हो । सामन्तवाद र जनताको जीवनबिचको अन्तर्विरोध, शोषक र शोषित वर्गबिचको द्वन्द्व, सङ्गठनभित्रको वैचारिक सङ्घर्ष, दमन विरुद्धको प्रतिरोध र विकसित हुँदै गएको वर्गचेतनाको कथा हो । यस नाटकको केन्द्रमा कुनै एक व्यक्तिको विजय वा पराजय मात्र छैन, यसको केन्द्रमा एउटा युगको अन्तर्विरोध छ । एउटा यस्तो युग, जहाँ सत्ता आफ्नो अस्तित्व जोगाउन दमनमा उत्रन्छ, स्वार्थ र अवसरवादले सङ्घर्षलाई कमजोर पार्न खोज्छ तर जनता आफ्नो मुक्ति र परिवर्तनको आकाङ्क्षा बोकेर प्रतिरोधको बाटोमा अगि बढिरहन्छन् । त्यसैले यो केवल नाटक होइन, एउटा समयको राजनीतिक स्मृति, वर्गीय सङ्घर्षको कलात्मक दस्तावेज र परिवर्तनको चेतनाबाट जन्मिएको साहित्यिक अभिव्यक्ति हो ।’

    ‘यो नाटकको सन् १९८९ मा (तद्नुसार संवत् २०४६ कात्तिक–मङ्सिरमा) कानपुरमा सम्पन्न अखिल भारत नेपाली एकता समाजको तृतीय अखिल भारत सम्मेलनको बेलामा प्रथमपल्ट प्रदर्शन गरिएको थियो । त्यो बेला यो नाटकको उद्देश्य देशमा विद्यमान निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध जनतालाई सन्देश दिनु थियो । यो नाटकको प्रथमपल्ट प्रदर्शन भएको करिब ३७ वर्षपछि दोस्रोपल्ट काठमाडौँमा त्यसको प्रदर्शन भएको हो । अहिलेको यो नाटकको उद्देश्य भोटेकोशीको बाढीले जनतामा ल्याएको दु:ख र शोकको बेलामा जीवनप्रति आशा सञ्चार गर्नु र उज्ज्वल भविष्यको निर्माणका लागि अगाडि बढ्नको लागि आशा र विश्वासको सञ्चार गर्नु हो । मानव जीवनको कथा यस्तै छ, त्यो सधैँ दु:ख र कष्ट तथा मृत्यु र विनाशका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्दै जान्छ र त्यसैले हामीले त्यसलाई जीवनको स्वाभाविक प्रवाहका रूपमा बुझ्नुपर्दछ ।’

    ४. निर्देशकद्वय राई र खरेलका केही कुरा

    नाटककार र नाट्यनिर्देशकसित मेरो गम्भीर कुराकानी भइरहन्छ । नाट्यनिर्देशकका निर्देशकीय अनुभव सामान्य छैनन् । नाटकलेखन र मञ्चनमा म आफैँ पनि कतै न कतै संलग्नता रहिआएकै हुन्छु । स्क्रिप्टको अध्ययन, कलाकारको छनौट, समय र ठाउँको व्यवस्थापनलगायत थुप्रै चुनौतीका बिच नाट्यनिर्देशकले काम गरिरहेका हुन्छन् । नाट्यनिर्देशक नाटक निर्माण प्रक्रियाको मुख्य संवाहक, नेतृत्वकर्ता र सिर्जनात्मक मेरुदण्ड हो । एउटा लिखित नाटकको पाठलाई मञ्चमा जीवन्त रूपमा उतार्ने सम्पूर्ण जिम्मेवारी निर्देशककै हुन्छ । नाट्यनिर्देशकले नाटकको मूल मर्म, विषय र लेखकको दृष्टिकोणलाई बुझेर त्यसलाई मञ्चमा कसरी प्रस्तुत गर्ने भनी एउटा स्पष्ट सिर्जनात्मक प्रारूप तयार गर्छन् । नाटकका पात्रका लागि उपयुक्त कलाकारको छनोट गर्नुका साथै प्रकाश, ध्वनि, मञ्च तथा पोसाक डिजाइनरको टोली निर्माण गर्नु निर्देशकको काम हो । कलाकारलाई पात्रको मनोविज्ञान बुझाउने, संवाद वाचनमा सुधार ल्याउने र मञ्चमा उनीहरूको चालढाल निर्धारण गर्ने काम निर्देशकले गर्छन् । नाटकमा धेरै बिधा जोडिएका हुन्छन् । यी सबै प्राविधिक र कलात्मक पक्षबिच उचित तालमेल मिलाएर एउटा उत्कृष्ट प्रस्तुति तयार पार्ने मुख्य जिम्मेवारी निर्देशककै हुन्छ । नाटक प्रदर्शनको दिनभन्दा अगाडि सम्पूर्ण पक्षको अन्तिम जाँच गरी नाटकलाई दर्शकसामु पस्किनयोग्य बनाउने काम निर्देशकले गर्छन् । नाटकका विभिन्न अङ्गलाई एकसाथ बाँधेर दर्शकलाई एउटा अर्थपूर्ण, सन्देशमूलक र प्रभावशाली अनुभव प्रदान गर्ने सूत्रधार नै नाट्यनिर्देशक हो ।

    ‘१२ मई’ ऐतिहासिक नाटक परिचय पुस्तिका (हाते पर्चा ‘ब्रोसर’) मा नाटकका निर्देशकद्वय सौभाग्यसिंह राई र प्रह्लाद खरेलले संयुक्त रूपमा भन्नुभएको छ– ‘१२ मई हाम्रो लागि केवल एउटा नाटक निर्देशन गर्ने अवसर थिएन, यो एउटा यस्तो अनुभव थियो, जसले हामीलाई इतिहास, राजनीति, श्रम, पहिचान र प्रतिरोधलाई रङ्गमञ्चको भाषामा फेरि एकपटक हेर्न बाध्य बनायो । मोहनविक्रम सिंह सरको कृतिबाट ‘१२ मई’ लाई रङ्गमञ्चमा ल्याउने निर्णय आफैँमा सहज थिएन । एउटा विस्तृत साहित्यिक कृतिभित्र रहेका अनेक तह, घटना, पात्र र राजनीतिक द्वन्द्वलाई सीमित समय, सीमित मञ्च र प्रत्यक्ष रङ्गभाषामा उतार्नु हाम्रा लागि ठुलो चुनौती थियो । कृतिलाई केवल छोट्याउनु थिएन, त्यसको आत्मा जोगाउँदै त्यसलाई नयाँ नाटकीय जीवन दिनु थियो । यही प्रक्रियामा हामी दुई निर्देशकले पाठसँग लगातार सङ्घर्ष गर्‍यौँ, प्रश्न गर्‍यौँ, काट्यौँ, जोड्यौँ र अन्तत: एउटा रङ्गमञ्चीय संरचना तयार गर्‍यौँ ।’

    ‘१२ मई’ मूलत: राजनीतिक द्वन्द्वात्मक नाटक हो । भारतमा श्रमिकका रूपमा पुगेका नेपालीहरू आफ्नो श्रम र अस्तित्वका लागि सङ्घर्ष गरिरहेका मजदुर, विद्यार्थी आन्दोलन र त्यस आन्दोलनमाथि राज्यसत्ताको दमन, वर्गसङ्घर्ष र मुक्ति आदि जस्ता घटना केवल इतिहासका पानामा सीमित विषय होइनन् । ती प्रश्न आज पनि उत्तिकै जीवित छन् । हामीले यस नाटकमा एउटा मजदुरको पसिना मात्र देखेका छैनौँ, त्यस पसिनाभित्र लुकेको पहिचानको प्रश्न पनि देखेका छौँ । एउटा विद्यार्थीको आन्दोलन मात्र देखेका छैनौँ, उसको आन्दोलनभित्र रहेको न्यायको खोजी पनि देखेका छौँ । पक्राउ परेका मानिसका कथा मात्र देखेका छैनौँ, उनीहरूलाई पक्राउ गर्ने सत्ता र साहुवर्गसँग आवाज उठाउनु अपराध कहिले भयो भन्ने प्रश्नलाई पनि मञ्चमा उभ्याएका छौँ । भारतीय पुलिसद्वारा आन्दोलनकारी पक्राउ परेको प्रसङ्ग होस् वा श्रमिक जीवनका कठोर यथार्थ—यी सबैलाई रङ्गमञ्चमा प्रस्तुत गर्दा हामीले एउटा कुरा निरन्तर महसुस गर्‍यौँ, राजनीतिक इतिहासमा दबाइएका आवाज समय बित्दैमा मौन हुँदैनन् । सही रङ्गमञ्च र भाषा पाएपछि ती आवाज फेरि मञ्चबाट चिच्याउँछन् ।’

    ‘१२ मई निर्देशन गर्दा हामीले रङ्गमञ्चलाई केवल मनोरञ्जनको माध्यमका रूपमा लिएनौँ । हाम्रा लागि रङ्गमञ्च प्रश्न गर्ने ठाउँ हो, असहज बनाउने ठाउँ हो, दर्शकलाई आफ्नै समाज र इतिहासतिर फर्केर हेर्न बाध्य बनाउने ठाउँ हो । त्यसैले यो नाटकमा हामीले सजिलो उत्तर खोजेका छैनौँ बरु दर्शकको मनमा प्रश्न छोड्ने प्रयास गरेका छौँ । सबैभन्दा कठिन काम थियो, मोहनविक्रम सिंह सरको मूलकृतिबाट आवश्यक अंश छनोट गरेर त्यसलाई नाटकको गतिमा ल्याउनु । एउटा किताबभित्रको संसारलाई मञ्चमा उतार्दा धेरै कुरा छोड्नुपन्यो तर छोडिएका कुराको पीडा र बाँकी राखिएका कुराको अर्थबिच सन्तुलन कायम गर्नु नै हाम्रो सबैभन्दा ठुलो निर्देशन चुनौती बन्यो । हामीले कृतिको सम्मान गर्दै र रङ्गमञ्चको आवश्यकता बुझ्दै ‘१२ मई’ लाई आफ्नै रङ्गभाषामा प्रस्तुत गर्ने प्रयास गरेका छौँ । यस यात्रामा निर्माता तथा लेखकको साथ हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण रह्यो । उहाँले केवल एउटा कृति दिनुभएन, हाम्रो रङ्गयात्रालाई विश्वास गर्नुभयो । पटकपटकको छलफल, सुझाव, सहयोग र सहकार्यले हामीलाई अझ निर्भीक भएर काम गर्ने वातावरण दियो । उहाँको सहयोग र विश्वासविना यो नाटक आजको स्वरूपमा आइपुग्न सहज हुने थिएन । एउटा निर्देशकका लागि आफ्नो दृष्टिमाथि विश्वास गर्ने सिर्जनात्मक सहयात्री पाउनु आफैँमा ठुलो सौभाग्य हो ।’

    ‘दुई निर्देशक भएर एउटै नाटकलाई अगाडि बढाउनु पनि आफ्नै किसिमको चुनौती र सुन्दर अनुभव रह्यो । कहिलेकाहीँ एउटै दृश्यलाई दुई फरक आँखाले हेर्नु, फरक व्याख्या गर्नु र अन्तत: एउटै रङ्गभाषामा सहमत हुनु—यसले हाम्रो निर्देशन क्षमतालाई मात्र होइन, हाम्रो धैर्य र सिर्जनात्मक संवादलाई पनि बलियो बनायो । ‘१२ मई’ लिएर हामी दर्शकमाझ आउँदै गर्दा हामी केवल एउटा नाटक देखाउन आएका छैनौँ । हामी इतिहासको एउटा टुक्रा लिएर आएका छौँ । श्रमिकको पसिना लिएर आएका छौँ । विद्यार्थीको विद्रोह लिएर आएका छौँ । पक्राउ परेका आवाजको प्रतिध्वनि लिएर आएका छौँ र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो अस्तित्व र अधिकारका लागि उभिन बाध्य मानिसको कथा लिएर आएका छौँ । हाम्रा लागि ‘१२ मई’ को सबैभन्दा ठुलो उपलब्धि यही हुनेछ, रङ्गमञ्च सकिएपछि पनि नाटक दर्शकको मनभित्र चलिरहोस् ।’

    ५. मञ्चन र मुद्दासम्बन्धी केही कुरा

    इतिहास यसै बनेको हुँदैन । करोडौँ मानिसको बलिदानको सागरमाथि तिनका नलीहाडको पुल बनाएर हामी (मानव) यहाँसम्म आइपुगेका छौँ । यो हाम्रो आफ्नै सन्दर्भमा पनि लागु भइरहेको कुरा हो । सङ्घर्ष गर्नु र सङ्घर्ष गर्नु फरकफरक कुरा हो । देश जटिल परिस्थितिबाट गुज्रिरहेका बेला हामी ‘१२ मई’ जस्तो ऐतिहासिक नाटकको चर्चा गरिरहेका छौँ । देश यति बेला खुल्ला ‘राजनीतिक’ रङ्गमञ्चमा परिणत भएको छ । नेपाललाई आज विभिन्न शक्तिकेन्द्रहरू खुलेआम रङ्गमञ्च बनाइरहेका छन् । नेपालका हरेक कुरा नाटकीय प्रतीत हुन थालेका छन् । बाढीपहिरोेले ग्रसित भएको समय भए पनि देशमा राजनीतिक बाढीपहिरो पनि कम छैन । नेपालमा देश नै रहने हो कि हैन भन्नेसम्मको परिस्थिति बन्दै गएको छ । नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा पर्दै गएको परिवेशमा ‘१२ मई’ मञ्चन हुनु एउटा साहसिक राजनीतिक कार्य हो ।

    विदितै छ कि रङ्गमञ्चको विकास पाश्चात्य र पूर्वीय रङ्गपरम्पराको धारामा विभाजित छ । पाश्चात्य रङ्गमञ्च देवस्तुतिको परम्परामार्फत विकास भएको र पूर्वीय रङ्गमञ्चको उद्भव वेदबाट भएको मानिन्छ । आदिम रङ्गमञ्चपछि मध्यकालमा नाटक सार्वजनिक स्थलमा आएको देखिन्छ । बन्द रङ्गमञ्चको अवधारणा भने ईसाको पहिलो शताब्दीतिर रोमबाट थालिएको मानिन्छ । पछिल्लो चरणमा खुला तथा बन्द रङ्गमञ्चमा नाटकहरू भव्य रूपमा प्रदर्शन हुन थालेका छन् । पुँजीपतिले रङ्गमञ्चको निर्माणमा ठुल्ठुला लगानी पनि खन्याएका छन् तर जनपक्षीय रङ्गमञ्च भने आज पनि कमजोर नै रहेको छ । आज हरेक कुरा बजारीकरणमा बदलिएका छन् । नाटक मञ्चन गरेर देखाउने चाहना राखेका जनपक्षीय नाटककार आज पनि विभिन्न थियटरतिर भौँतिरिरहेका हुन्छन् तर पनि उनीहरूका चाहना पूरा हुने सहज अवस्था बनिरहेको छैन । ‘१२ मई’ नाटकको पनि मञ्चन तथा थियटर व्यवस्थापनका लागि कति बेल्ना पेल्नुपरेको थियो होला, हामी सहजै अनुमान गर्न सक्दछौँ ।

    भनिरहनुपरेन, साहित्य वर्गीय हुन्छ । यसले आफ्नो वर्गको पक्षपोषण र अर्को वर्गको विरोध गर्दछ । नाटकको कुुरा पनि यही हो । मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मई’ नेपालको तत्कालीन पञ्चायती व्यवस्थाको सशक्त विरोधमा लेखिएको नाटक हो । फेरि यो नाटकको आधारभूमि दक्षिणी छिमेकी देश भारत रहेको छ । छिमेकी देश भए पनि भारतसित नेपालको अन्तर्विरोध निकै पुरानो रहिरहेकै छ । आज पनि नेपाली जनतामा आफ्नो उन्नति र प्रगतिमा ठुलो बाधक भारत हो भन्ने सघन मनोविज्ञान जिउँदै छ । ‘रोटी र बेटीको सम्बन्ध’ भनेर जति रङ्गरोगन गरे पनि वास्तविक अर्थमा दक्षिणी छिमेकी देश भारतसित नेपालको शत्रुतापूर्ण अन्तर्विरोध रहिआएको छ । यस अर्थमा पनि ‘१२ मई’ नाटक सिधै तिनका सत्तास्वार्थ र प्रशासनिक संरचनासित नठोक्किने कुरै भएन ।

    ‘१२ मई’ नाट्यकृतिअन्तर्गत ‘मे १२, १९८६ को मुद्दाबारे’ शीर्षकमा (सामान्य परिमार्जनसहित, ले.) यसरी उल्लेख गरिएको छ– ‘पञ्चायती चुनाव बहिस्कार आन्दोलनको दौरानमा मे १२, १९८६ का दिन अभाने एकता समाजद्वारा नयाँदिल्लीको फिरोज शाह कोटला मैदानमा विशाल विरोध प्रदर्शनको आयोजना भएको थियो । सोही क्रममा उक्त कार्यक्रममाथि दिल्ली पुलिसद्वारा व्यापक दमन र धडपकड गरी १० महिलासहित ९५ जना निर्दोष नेपालीलाई भारतीय प्रशासनले नाङ्गो हस्तक्षेप गरेको थियो । ९५ जनामध्ये ६० जनालाई धारा १४७, १७८, १४९, ७२७, १८६, ३३२, ३०७, ५०६ तहत र बाँकी ३५ जनालाई धारा १४७, १८६, ३३२, ४२७, ३५२ अन्तर्गत मुद्दा चलाएको थियो । मे १२, १९८९ का दिन अखिल भारत नेपाली एकता समाजका सभापति गोविन्दसिंह थापाद्वारा ‘१२ मईका मुद्दाहरू खारेज गर’ भन्ने मागसहित प्रेसवक्तव्य जारी गरियो । फेब्रुअरी २, १९९१ का दिन भारतका प्रधानमन्त्री चन्द्रशेखरसँग भेट गरी मुद्दा खारेजीका लागि ज्ञापनपत्र दिइएको थियो । लीलानाथ कुशुम र दिनेशको प्रतिनिधिमण्डलले उक्त ज्ञापनपत्र दिएको थियो । मे १२, १९९१ का दिन समाजद्वारा जन्तरमन्तरमा प्रदर्शन भयो । मे १२, १९९६ का दिन पनि समाजद्वारा जन्तरमन्तरमा प्रदर्शन भएको थियो ।’

    ‘२०५४ सउन २४ का दिन काठमाडौँमा पत्रकार सम्मेलन सम्पन्न गर्नुका साथै विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, सांसद, मानव अधिकारवादीसँग प्रतिनिधिमण्डलको भेट गरियो । मे १२, १९९९ मा एकता समाजले भारतव्यापी प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा ‘राजनीतिक पूर्वाग्रह कहिलेसम्म ?’ भन्दै मे १२ को मुद्दा खारेजीको लागि जोड दिइएको थियो । मे १२, १९९९ मा दिल्लीमा पत्रकार सम्मेलन सम्पन्न भयो । मे २३, २००० मा दिल्लीमा राजदूतलाई ज्ञापनपत्र दिइयो । अगस्त ३, २००० मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गिरधारीलाल न्यौपाने, लीलानाथ कुशुम, मित्रलाल शर्मा, कमल खनाल र समीर सिंहसहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाइएको थियो । मार्च २४, २००२ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर मुद्दा खारेजीका लागि ज्ञापनपत्र दिइएको थियो । नोभेम्बर २६, २००२ का दिन दिल्लीमा राजदूत भेषबहादुर थापालाई समाजका प्रतिनिधिमण्डलले भेट गरी मुद्दा खारेजीका लागि ज्ञापनपत्र दिइएको थियो । अक्टोबर ३१, २००३ मा राजदूत प्रदीप खतिवडालाई समाजका प्रतिनिधिमण्डलले भेट गरी मुद्दा खारेजीका लागि ज्ञापनपत्र दिइएको थियो ।’

    ‘अगस्त १८, २००९ मा प्रधानमन्त्री माधवकुमार नेपाललाई समाजका प्रतिनिधिमण्डलले ज्ञापनपत्र दिइएको थियो । नोभेम्बर २००९ मा एमाले प्रमुख झलनाथ खनाललाई ज्ञापनपत्र दिइएको थियो । फेब्रअरी १९, २०१० मा राष्ट्रपति रामवरण यादवलाई ज्ञापनपत्र दिइएको थियो । पञ्चायती कालमा नेपालका राजनीतिक कार्यकर्ताका विरुद्ध भारतमा लागेका सबै मुद्दा २०४६ मा नेपालमा बहुदलीय व्यवस्था आएपछि क्रमश: खारेज हुँदै गए तर मे १२ को मुद्दाबारे नेपालका प्रधानमन्त्री र राष्ट्रपतिसहित विभिन्न उच्चतहमा र भारतमा पनि सरकारको उच्चतहमा समेत विभिन्न प्रतिनिधिमण्डलले भेट गरेर मुद्दा खारेजीको माग तथा विरोध प्रदर्शन गर्दा पनि उक्त मुद्दा खारेज गरिएन । अन्त्यमा अक्टोबर २१, २०१० का दिन २४ वर्षपछि दिल्लीको पटियाला कोर्टद्वारा मुद्दा खारेज भएको फैसला भयो’ (परिशिष्ट १, पृ. १५८–१५९) ।

    उपसंहार

    रक्तिम सांस्कृतिक अभियानको आयोजना तथा नेपाल नाट्यशालाको प्रस्तुति रहेको ‘१२ मई’ नाटक अलिक पुरानो सन्दर्भमा लेखिएको भए पनि आज पनि पाठक तथा दर्शकले त्यसलाई समकालीन ठान्न पुग्नु प्रस्तुत नाटकको सर्वाधिक र सार्वकालिक मूल्यको परिचायक हो । ‘१२ मई’ नाटककले मानिसले आफ्नो इतिहास आफैँ बनाउँछन् भन्ने कुरालाई दर्शाएको छ तर पनि सोचेजस्तो र चाहेजस्तो भइरहेको हुँदैन, किन ? यस सन्दर्भमा कार्ल माक्र्सले आफ्नो प्रसिद्ध कृति लुई बोनापार्टको अठारौँ ब्रुमेयरमा भन्नुभएको छ– “मानिसले आफ्नो इतिहास आफैँ बनाउँछन् तर उनीहरूले आफूले चाहेअनुसार बनाउन सक्दैनन्; उनीहरूले आफूले रोजेको परिस्थितिमा बनाउन सक्दैनन्; परन्तु प्रत्यक्ष सामना गर्नुपरेको विद्यमान र विगतबाट प्राप्त गरेको परिस्थितिमा बनाउँछन् ।” कार्ल माक्र्सको प्रस्तुत भनाइको अन्तरवस्तु ‘१२ मई’ नाटकमा पाइन्छ । मे १२, १९८६ का दिन पञ्चायती चुनाव बहिष्कारको आह्वान गर्दै भारतको दिल्लीमा भएको प्रहरी दमनमा आधारित भएर लेखिएको ‘१२ मई’ नाटक २०८२ भदौ २३ र २३ गते नेपालमा भएको जेनजी विध्वंशपछि प्रदर्शन हुनु विशेष र अर्थपूर्ण छ ।

    यति बेला देश असामान्य परिस्थितिबाट गुज्रिरहेको छ । जेनजी विध्वंश र अबको नेपालबारेमा भारतीय वामपन्थी विश्लेषक आनन्दस्वरूप बर्मा भन्नुहुन्छ– “सोसल मिडिया प्रतिबन्धलाई बहाना बनाएर सुरु भएको ‘जेनजी आन्दोलन’ युवाका वास्तविक मागलाई लिएर देखा परेको थियो र पहिलो नजरमा स्वत:स्फूर्तझैँ लाग्थ्यो तर त्यो स्वत:स्फूर्त थिएन बरु योजनाबद्ध र व्यवस्थित थियो । युवाका वास्तविक गुनासालाई आफ्नो पक्षमा प्रयोग गर्ने शक्ति पर्दापछाडिबाट सञ्चालन गरिरहेका थिए र अमेरिका गणतन्त्र, लोकतन्त्र र वामपन्थ विरोधी आफ्नो एजेन्डा लागु गर्न प्रतिक्रान्तिको तयारी गर्दै मैदानमा उत्रिसकेको थियो । मलाई आन्दोलनको दोस्रो दिनमै यसको आभास भयो, जब समाचार आयो कि सेनाप्रमुखले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन भनेका छन् । यसअघि नेपालमा कहिल्यै पनि सेनाप्रमुखले निर्वाचित प्रधानमन्त्रीलाई आदेश दिने आँट गरेको थिएन । आन्दोलनकारीले जति ठुलो मात्रामा सरकारी सम्पत्ति नष्ट गरे, त्यसले पनि देश र जनताप्रति उनीहरूको प्रतिबद्धता कस्तो थियो भन्ने देखायो ।”

    “यो आन्दोलन कसले सञ्चालन गर्‍यो भन्ने कुरा विस्तारै बाहिर आउँदैछ । मुख्य पात्रमा छन्– काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) शाह र ‘हामी नेपाल’ नामक एनजिओका सञ्चालक सुधन गुरुङ । २०२३ मा टाइम पत्रिकाले चयन गरेका १०० व्यक्तिमध्ये बालेन शाह पनि परेका थिए । सुधन गुरुङको ‘हामी नेपाल’ एनजिओलाई केही अमेरिकी कम्पनीले करोडौँ रुपैयाँको आर्थिक सहयोग दिएका छन् । अहिले नै नेपाल कुन दिशामा जानेछ भन्ने भन्नु हतार हुनेछ तर यसमा कुनै शङ्का छैन, नेपाल आफ्नो इतिहासको सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको छ । दुई दिनको पागलपनपछि अब नेपालका सचेत वर्ग पनि आत्ममन्थन गर्दैछन्, यो सबै कसरी भयो ! त्यसैले आज सबभन्दा ठुलो आवश्यकता हो– अत्यन्त सजग र सतर्क रहनु” (न्यू जेनेरेसन अफ नेपाल, सेप्टेम्बर १०, २०२५) ।

    दार्शनिक प्लेटोले यसै भनेका होइनन् कि लोकतन्त्रले सधैँ योग्यतालाई मात्र कदर गर्दैन, कहिलेकाहीँ लोकप्रिय अयोग्य पनि निर्वाचित गर्दछ । नेपालको पछिल्लो अवस्था ठ्याम्मै प्लेटोले आफ्नै आँखाले देखेर भनेझैैँ देखिन्छ । आनन्दस्वरूपकै भाषामा ‘अत्यन्त सजग र सतर्क रहनुपर्ने समय’ मा ऐतिहासिक राजनीतिक नाटक ‘१२ मई’ को भव्य प्रदर्शन भयो । ‘१२ मई’ नाटक मञ्चनको क्रममा राजनीतिक, वैचारिक, साहित्यिक तथा लब्धप्रतिष्ठितको उल्लेख्य उपस्थिति रह्यो । विभिन्न कारणले ‘१२ मई’ नाटक हेर्न नपाएकोमा पछुतो मान्नेको सङ्ख्या पनि ठुलै देखियो । ‘१२ मई’ नाटकले कम्युनिस्ट नैतिकताको पक्षपोषण गरेको छ, यो विचारमा स्पष्ट र लक्ष्यमा दृढ छ । सत्य धेरै महत्त्वपूर्ण कुरा हो । लेनिनका अनुसार ‘सारा संसारलाई सत्यको आवश्यकता छ ।’ ‘१२ मई’ नाटक तमाम शासकीय झुटको चिहानमाथि सत्यको पिरामिड बनाउन चाहन्छ, जसको विजय अवश्यम्भावी छ ।

    सन्दर्भ सामग्री

    सिंह, मोहनविक्रम (२०८३). १२ मई. दो.सं.. काठमाडौँ : युगज्योति प्रकाशन प्रा.लि. ।
    थपलिया, खेम (२०७०). प्रगतिवादी एकाङ्की नाटक. ललितपुर : साझा प्रकाशन ।
    ‘१२ मई’ ऐतिहासिक नाटक परिचय पुस्तिका (हाते पर्चा ‘ब्रोसर’) ।
    हाँक टुडे डट कम. २०८३ भदौ २६ गते ।
    न्यू जेनेरेसन अफ नेपाल. सेप्टेम्बर १०, २०२५ ।

    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)
    ‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.