खिमराज चालिसे, चन्डिगढ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकी ३० वर्षीया निलम कार्कीको हालसम्म कुनै सूचना प्राप्त नभएपनि कुशको शव बनाएर अन्तिम संस्कार गरिँदैछ ।
लामो समयसम्मको खोजबिनपछि पनि फेला नपरेपछि उनी जीवितै फर्किने आशा मारिसकेको परिवारले आज कुशको शव (पुत्तल) बनाएर अन्तिम संस्कार गर्ने भएको हो ।
नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकी रेन्जर सुश्री निलम कार्की पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नम्बर ७ की स्थायी बासिन्दा हुन् ।
उनी मूल प्रवाह अखिल भारत अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिका सक्रिय सदस्य लक्ष्मण केसी (कार्की) की भतिजी हुन् ।
बाढीमा बेपत्ता भएको लामो समय बितिसक्दा पनि उनको अवस्था अज्ञात नै रहेपछि पीडित परिवार यति बेला गहिरो शोकमा छ ।
परिवारबाट संस्कार गरिने थाहा लागेपछि मूल प्रवाह जालन्धरले समवेदना प्रकट गरेको केन्द्रीय सचिव कुल बहादुर बगालेले जानकारी दिनुभयो ।
