बुटवल । रुपन्देहीको बुटवललाई ‘मनसुन’ साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भएको छ । प्रत्येक बुधबार प्रकाशन हुने उक्त पत्रिका आज २०८३ भदौ २६ गते बुटवलमा आयोजित एक औपचारिक समारोहमाझ विमोचन गरिएको हो ।
पत्रिकाका सम्पादक श्यामलाल पोखरेलले ‘मनसुन’ साप्ताहिकले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष र निर्भीक पत्रकारिता गर्ने दृढता व्यक्त गरे ।
त्यस्तै, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सञ्चारमाध्यमले अब परम्परागत राजनीतिकेन्द्रित समाचारबाट माथि उठ्नुपर्नेमा जोड दिए ।
प्रेस स्वतन्त्रता सेनानी डा. बालकृष्ण चापागाईंले छापामाध्यम कमजोर बन्दै जाँदा पत्रकारिता क्षेत्रमै विभिन्न विकृति भित्रिएकोप्रति चिन्ता व्यक्त गर्दै पछिल्लो समय डिजिटल सञ्चारको तीव्र विकास सँगसँगै अफवाह र तथ्य प्रमाणित नभएका समाचारको बाढी नै आएको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोख्रेलले नेपाली सञ्चार क्षेत्रले हाल भोगिरहेका नीतिगत र आन्तरिक समस्याका बारेमा चर्चा गरे ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुलुकको विद्यमान आर्थिक शिथिलता र कठिन परिस्थितिका बिच पनि हिम्मत गरेर ‘मनसुन’ साप्ताहिक पत्रिका प्रकाशन आरम्भ गरेकोमा प्रकाशन समूहलाई बधाई तथा पूर्ण सफलताको शुभकामना दिए ।
समारोहमा स्थानीय सञ्चारकर्मी, उद्योगी, व्यवसायीले रङ्गिन र आकर्षक साजसज्जासहित पाठकमाझ आएको मनसुन साप्ताहिकले मोफसलको पत्रकारितामा नयाँ इँटा थप्ने र व्यावसायिक पत्रकारिताको खस्कँदो साखलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाएका थिए ।
पत्रिका पहिलो र अन्तिम पृष्ठ रङ्गिनसहित कुल आठ पृष्ठको रहेको छ । सो साप्ताहिक प्रत्येक हप्ता बुधबार प्रकाशन हुनेछ ।

