खिमराज चालिसे, चन्डिगढ ।
भारतको श्रीगङ्गानगरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु गरेको छ ।
महासचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा सेप्टेम्बर ११, २०२६ का दिन सो कार्यक्रम अगाडि बढेको हो ।
सो अवसरमा मन्तव्य राख्दै महासचिव भट्टराईले सरकारी राहत कोषमा अरबौ रुपैया थुप्रिएर बस्दासमेत वास्तविक पीडित जनताले अझैसम्म राहत नपाएको आरोप लगाउनुभयो ।
उहाँले सङ्कटको समयमा राज्यसंयन्त्र जनताप्रति उत्तरदायी बन्न नसकेको दाबीसमेत गर्नुभयो ।
सङ्कलित राहत रकम तत्कालै विनाभेदभाव र पारदर्शी रूपमा वास्तविक पीडितको हातमा पुर्याउन माग गर्दै उहाँले मूल प्रवाहले उठाएको राहत वास्तविक पीडितहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य गिरु न्यौपाने, नगर समितिका नेताहरू राजेश न्यौपाने, बसन्ता नेपाली, नन्दिकला भट्टराई र चिन्तामणि भट्टराईलगाएतका वक्ताहरूले आपतकालीन अवस्थामा राहत व्यवस्थापनलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउनुका साथै प्रवासमा रहेका नेपालीको एकता र आपसी सहयोगलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम रेशम भण्डारीको सञ्चालन तथा नगर अध्यक्ष जागेश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
