काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति शुभकामना व्यक्त गरेको छ ।
अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा २०८३ भदौ २४ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै मूल प्रवाहले शुभकामना व्यक्त गरेको हो ।
पत्रकारिता क्षेत्रमा प्रतिकूल परिस्थिति रहे पनि युगदर्शनले जनतालाई सत्य तथ्य सूचना सम्प्रेषण गरेको मूल प्रवाहको भनाइ छ ।
युगदर्शन पत्रिकालाई अझ प्रभावकारी र सशक्त बनाउन आफूहरू तयार रहेको बताइएको शुभकामना वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“नेपालको पत्रकारिता क्षेत्रमा अत्यन्तै प्रतिकूल परिस्थितिमा समेत कहिल्यै विचलित नबनी राष्ट्र र जनताको पक्षमा हमेसा सत्य तथ्य, न्याय र मुक्तिको मार्गदर्शनसहित उच्च विचार र दृष्टिकोण नेपाली जनतामा प्रवाह गर्दै आइरहेको युगदर्शन साप्ताहिकले सफलतापूर्वक सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा थप सशक्त रूपमा स्थापित र समग्र उत्पीडित वर्गको आवाज बनोस् । हामी यही शुभकामना दिन चाहान्छौँ ।
युगदर्शन साप्ताहिकले राष्ट्र र जनताका समस्या मात्र उठान गर्ने गरेको छैन, मुलुकमा गास, बास, कपास, शिक्षा, स्वास्थ र रोजगारीका अवसर गुमाएर संसारका विभिन्न देशमा अत्यन्तै कष्टपूर्वक श्रम बेच्न बाध्य बनाइएका नेपालीका अधिकार र सुरक्षाको सुनिश्चितताको आवाज बुलन्द गरेको छ । आगामी दिनमा यस्तो आवाज थप सशक्त बनोस् ।
अहिले नेपालको पत्रकारिता क्षेत्रमा कैयौँ प्रकारका विकृति र विसङ्गति देखा परिरहेका छन् । राष्ट्र र जनताको पक्षमा सत्य तथ्य र यथार्थपरक समाचार पस्केर जनतालाई सही ज्ञान दिनेभन्दा पनि आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ ? कसरी बढीभन्दा बढी भ्युज बटुल्न सकिन्छ ? त्यतातिर बढी ध्यान जाने गरेको छ । पुँजीवादी र साम्राज्यवादीले पूरै मिडिया जगतलाई आफ्नो स्वार्थपूर्ति गर्ने हतियारको रूपमा प्रयोग गर्न ठुलो धनराशी खर्च गरिरहेको वर्तमान परिप्र्रेक्ष्यमा पुँजीवाद र साम्राज्यवाद विरुद्ध आवाज उठाउनु कम चुनौतीपूर्ण कार्य होइन । युगदर्शन साप्ताहिकले ती सबै प्रकारका चुनौतीको दृढतापूर्वक सामना गर्दै आएको छ ।
अहिले सरकारबाट मिडिया जगत्लाई विभिन्न कानुन वा बहानामा तर्साउने, अधिकारको कटौती वा सेन्सरसिप लगाउने प्रत्यत्न भइरहेको छ । कैयौँ मिडियाहरू त्यसबाट अत्तालिएर आत्मसमर्पण गर्ने र जनतालाइ्र्र सत्य तथ्य सुसूचित गराउनेभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न सरकारको दलाली गरिरहेको वर्तमान परिस्थितिमा युगदर्शनको भूमिका झन् महत्त्वपूर्ण बनेको छ ।
पुँजीवाद, साम्राज्यवाद र भ्रष्टाचारको जालोबाट आफूलाई जोगाउँदै युगदर्शन साप्ताहिकले आफूलाई जसरी राष्ट्र र जनताको आवाजमा आफूलाइ रूपान्तरण गरेको छ, यसको भविष्य अत्यन्तै उज्ज्वल छ । जस्तोसुकै परिस्थितिमा पनि युगदर्शनलाई संरक्षण र निरन्तरताको लागि हामीले प्रयत्न गर्नुपर्दछ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज युगदर्शन साप्ताहिकलाई थप सशक्त बनाउन हर तरहको सहयोगका लागि तयार रहेको स्मरण गराउँदै निरन्तरताको शुभकामना व्यक्त गर्दछौँ ।”
