खिमराज चालिसे, चन्डिगढ ।
कर्णाली प्रदेश बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर–३ स्थायी घर भई हाल भारतको पन्जाब राज्य मोहाली सेक्टर ७४–८ बी, घर नं. १३३ मा बस्दै आइरहेका रमेश बोहराकी १३ वर्षीया छोरी नेहा बोहरा हराएकी छिन् ।
गत १५ दिनदेखि हराएकी नेहा कक्षा ५ मा पढिरहेकी थिइन् । गत अगस्त १६, २०२६ देखि किशोरी नेहा सम्पर्कविहीन भएपछि मजदुरी गरेर जीविका चलाइरहेको बोहरा परिवार निकै चिन्तित र पीडामा छ ।
अगस्त १६ का दिन एफआइआर दर्ता गराई खोजीकार्यमा लागेको परिवारले सेप्टेम्बर ७ का दिन किशोरी नेहाको लोकेसन बिहारको सीतामढीमा भेटिएको प्रहरीले जानकारी दिएपछि केही चिन्ता कम भएको बताएको छ ।
लामो समयसम्म बन्द रहेको नेहाको मोबाइल फोन सेप्टेम्बर ७ मा मात्र खोलिएको र त्यसको लोकेसन बिहारको सीतामढी देखाएको प्रहरी अनुसन्धानबाट खुलेको भए पनि उनको स्थितिबारे परिवार अझै सशङ्कित देखिएको छ ।
बोहरा परिवारले सेप्टेम्बर ७ कै दिन पत्रकारसहित विभिन्न सामाजिक सङ्गठनका प्रतिनिधिलाई बोलाएर छोरीलाई छिटो सम्पर्कमा ल्याइदिन अनुरोध गरेको छ ।
तस्बिरअनुसारकी किशोरी नेहा कहीँ कतै भेटिएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय, प्रहरीचौकी, भारतमा बुबा रमेश बोहराको फोन नम्बर ९१–७००९५२८०१७ वा युगदर्शन मिडियाका संवाददाता खिमराज चालिसेको फोन नम्बर ९१–८९६८५०३०५० लाई सम्पर्क गराइदिन अनुरोध गरिन्छ ।
