(क)
लेखकको भनाइ
‘१२ मई’ नाटक मे १२, १९८६ मा दिल्लीमा भएको आन्दोलनसित नै सम्बन्धित छ । त्यो बेला नेपालमा हुन थालेको पञ्चायती तानाशाही व्यवस्थाको चुनाव बहिष्कारको समर्थनमा नयाँदिल्लीमा अखिल भारत नेपाली एकता समाजद्वारा विरोध प्रदर्शन गरिएको थियो । दिल्लीको त्यही आन्दोलनलाई आधार बनाएर नै मैले ‘१२ मई’ नाटक लेखेको थिएँ ।
दिल्लीमा समेत आन्दोलनको वातावरण निर्माण हुनु र त्यस क्रममा सहभागीहरू गिरफ्तारीमा पर्नु तत्कालीन राजनीतिक यथार्थका जीवन्त अध्याय थिए तर परिवर्तनको बाटो बाहिरी दमनले मात्र अवरुद्ध हुँदैन । सङ्घर्षरत सङ्गठन र आन्दोलनभित्रै पनि दलाली, घुसखोरी, अवसरवाद र व्यक्तिगत स्वार्थले प्रवेश गरेर एकतालाई कमजोर बनाउने, सङ्गठनलाई विभाजित गर्ने र जनताको सङ्घर्षलाई दिशाहीन बनाउने प्रवृत्तिसँग निरन्तर जुध्नुपर्दछ । उक्त नाटकमा त्यो पक्षबारे पनि साहित्यिक प्रकारले प्रकाश हालिएको छ ।
समाजका लागि, श्रमजीवी जनताको पक्षमा र परिवर्तनका लागि लड्नु कुनै सरल यात्रा होइन । बाहिरबाट आएको दमनसँगै भित्रैबाट पैदा हुने वैचारिक विचलन र स्वार्थको प्रतिरोध पनि उत्तिकै कठिन हुन्छ । त्यो नाटक पनि त्यही यथार्थको गर्भबाट जन्मिएको हो । त्यसमा समेटिएका कतिपय पात्र, घटना, गिरफ्तारी, भेटघाट र राजनीतिक प्रसङ्ग कुनै काल्पनिक रोमाञ्चका उपज होइनन्, तिनको आधार तत्कालीन वास्तविक घटना र ऐतिहासिक अनुभवमाथि आधारित छ तर नाटक इतिहासको दस्तावेज मात्र होइन, वास्तविक तथ्य र नाटकीय कल्पनालाई संयोजन गर्दै त्यो नाटकमा एउटा यस्तो रचनात्मक संसार निर्माण गरिएको छ, जहाँ व्यक्तिको कथा हुँदै समग्र समाजको वर्गीय चरित्र उद्घाटन हुन्छ ।
वास्तवमा इतिहास केवल शासकको निर्णय र सत्ताको अभिलेख होइन, इतिहास ती श्रमजीवी मानिसको पनि हो, जसले शोषणको अँध्यारो भित्रबाट परिवर्तनको आकाङ्क्षा बोकेर सङ्घर्षको बाटो रोजे । ‘१२ मई’ त्यही सङ्घर्षको कलात्मक अभिव्यक्ति हो । सामन्तवाद र जनताको जीवनबिचको अन्तर्विरोध, शोषक र शोषित वर्गबिचको द्वन्द्व, सङ्गठनभित्रको वैचारिक सङ्घर्ष, दमन विरुद्धको प्रतिरोध र विकसित हुँदै गएको वर्गचेतनाको कथा हो ।
यस नाटकको केन्द्रमा कुनै एक व्यक्तिको विजय वा पराजय मात्र छैन, यसको केन्द्रमा एउटा युगको अन्तर्विरोध छ । एउटा यस्तो युग, जहाँ सत्ता आफ्नो अस्तित्व जोगाउन दमनमा उत्रन्छ, स्वार्थ र अवसरवादले सङ्घर्षलाई कमजोर पार्न खोज्छ तर जनता आफ्नो मुक्ति र परिवर्तनको आकाङ्क्षा बोकेर प्रतिरोधको बाटोमा अघि बढिरहन्छन् । त्यसैले यो केवल नाटक होइन, एउटा समयको राजनीतिक स्मृति, वर्गीय सङ्घर्षको कलात्मक दस्तावेज र परिवर्तनको चेतनाबाट जन्मिएको साहित्यिक अभिव्यक्ति हो ।
यो नाटकको सन् १९८९ मा (तद्नुसार २०४६ कात्तिकमा) कानपुरमा सम्पन्न अखिल भारत नेपाली एकता समाजको तृतीय अखिल भारत सम्मेलनको बेलामा प्रथमपल्ट प्रदर्शन गरिएको थियो । त्यो बेला यो नाटकको उद्देश्य देशमा विद्यमान निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध जनतालाई सन्देश दिनु थियो । यो नाटकको प्रथमपल्ट प्रदर्शन भएको करिब ३७ वर्षपछि दोस्रोपल्ट काठमाडौँमा त्यसको प्रदर्शन हुँदैछ । अहिलेको यो नाटकको उद्देश्य भोटेकोशीको बाढीले जनतामा ल्याएको दु:ख र शोकको बेलामा जीवनप्रति आशा सञ्चार गर्नु र उज्ज्वल भविष्यको निर्माणका लागि अगाडि बढ्नको लागि आशा र विश्वासको सञ्चार गर्नु हो । मानव जीवनको कथा यस्तै छ, त्यो सधैँ दु:ख र कष्ट तथा मृत्यु र विनाशका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्दै जान्छ र त्यसैले हामीले त्यसलाई जीवनको स्वभाविक प्रवाहका रूपमा बुझ्नुपर्दछ ।
मोहनविक्रम सिंह
(ख)
निर्देशकद्वयको भनाइ
‘१२ मई’ हाम्रो लागि केवल एउटा नाटक निर्देशन गर्ने अवसर थिएन, यो एउटा यस्तो अनुभव थियो, जसले हामीलाई इतिहास, राजनीति, श्रम, पहिचान र प्रतिरोधलाई रङ्गमञ्चको भाषामा फेरि एकपटक हेर्न बाध्य बनायो ।
मोहनविक्रम सिंह सरको कृतिबाट ‘१२ मई’ लाई रङ्गमञ्चमा ल्याउने निर्णय आफैँमा सहज थिएन । एउटा विस्तृत साहित्यिक कृतिभित्र रहेका अनेक तह, घटना, पात्र र राजनीतिक द्वन्द्वलाई सीमित समय, सीमित मञ्च र प्रत्यक्ष रङ्ग भाषामा उतार्नु हाम्रा लागि ठुलो चुनौती थियो । कृतिलाई केवल छोट्याउनु थिएन, त्यसको आत्मा जोगाउँदै त्यसलाई नयाँ नाटकीय जीवन दिनु थियो । यही प्रक्रियामा हामी दुई निर्देशकले पाठसँग लगातार सङ्घर्ष गर्यौँ, प्रश्न गर्यौँ, काट्यौँ, जोड्यौँ र अन्तत: एउटा रङ्गमञ्चीय संरचना तयार गर्यौँ ।
‘१२ मई’ मूलत: राजनीतिक द्वन्द्वात्मक नाटक हो । भारतमा श्रमिकका रूपमा पुगेका नेपाली आफ्नो श्रम र अस्तित्वका लागि सङ्घर्ष गरिरहेका मजदुर, विद्यार्थी आन्दोलन र त्यस आन्दोलनमाथि राज्यसत्ताको दमन, वर्गसङ्घर्ष र मुक्ति आदिजस्ता घटना केवल इतिहासका पानामा सीमित विषय होइनन्, ती प्रश्न आज पनि उत्तिकै जीवित छन् ।
हामीले यस नाटकमा एउटा मजदुरको पसिना मात्र देखेका छैनौँ, त्यस पसिनाभित्र लुकेको पहिचानको प्रश्न देखेका छौँ । एउटा विद्यार्थीको आन्दोलन मात्र देखेका छैनौँ, उसको आन्दोलनभित्र रहेको न्यायको खोजी देखेका छौँ । पक्राउ परेका मानिसका कथा मात्र देखेका छैनौँ, उनीहरूलाई पक्राउ गर्ने सत्ता र साहु वर्गसँग आवाज उठाउनु अपराध कहिले भयो भन्ने प्रश्नलाई पनि मञ्चमा उभ्याएका छौँ ।
भारतीय पुलिसद्वारा आन्दोलनकारी पक्राउ परेको प्रसङ्ग होस् वा श्रमिक जीवनका कठोर यथार्थ, यी सबैलाई रङ्गमञ्चमा प्रस्तुत गर्दा हामीले एउटा कुरा निरन्तर महसुस गर्यौँ, राजनीतिक इतिहासमा दबाइएका आवाज समय बित्दैमा मौन हुँदैनन् । सही रङ्गमञ्च/भाषा पाएपछि ती आवाज फेरि मञ्चबाट चिच्याउँछन् ।
‘१२ मई’ निर्देशन गर्दा हामीले रङ्गमञ्चलाई केवल मनोरञ्जनको माध्यमका रूपमा लिएनौँ । हाम्रो लागि रङ्गमञ्च प्रश्न गर्ने ठाउँ हो, असहज बनाउने ठाउँ हो, दर्शकलाई आफ्नै समाज र इतिहासतिर फर्केर हेर्न बाध्य बनाउने ठाउँ हो । त्यसैले यो नाटकमा हामीले सजिलो उत्तर खोजेका छैनौँ बरु दर्शकको मनमा प्रश्न छोड्ने प्रयास गरेका छौँ ।
सबैभन्दा कठिन काम थियो, मोहनविक्रम सिंह सरको मूल कृतिबाट आवश्यक अंश छनोट गरेर त्यसलाई नाटकको गतिमा ल्याउनु । एउटा किताबभित्रको संसारलाई मञ्चमा उतार्दा धेरै कुरा छोड्नुपर्यो तर छोडिएका कुराको पीडा र बाँकी राखिएका कुराको अर्थबिच सन्तुलन कायम गर्नु नै हाम्रो सबैभन्दा ठुलो निर्देशन चुनौती बन्यो । हामीले कृतिको सम्मान गर्दै र रङ्गमञ्चको आवश्यकता बुझ्दै ‘१२ मई’ लाई आफ्नै रङ्ग र भाषामा प्रस्तुत गर्ने प्रयास गरेका छौँ ।
यस यात्रामा निर्माता तथा लेखकको साथ हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण रह्यो । उहाँले केवल एउटा कृति दिनुभएन, हाम्रो रङ्गयात्रालाई विश्वास गर्नुभयो । पटकपटकको छलफल, सुझाव, सहयोग र सहकार्यले हामीलाई अझ निर्भीक भएर काम गर्ने वातावरण दियो । उहाँको सहयोग र विश्वासविना यो नाटक आजको स्वरूपमा आइपुग्न सहज हुने थिएन । एउटा निर्देशकका लागि आफ्नो दृष्टिमाथि विश्वास गर्ने सिर्जनात्मक सहयात्री पाउनु आफैँमा ठुलो सौभाग्य हो ।
दुई निर्देशक भएर एउटै नाटकलाई अगाडि बढाउनु पनि आफ्नै किसिमको चुनौती र सुन्दर अनुभव रह्यो । कहिलेकाहीँ एउटै दृश्यलाई दुई फरक आँखाले हेर्नु, फरक व्याख्या गर्नु र अन्तत: एउटै रङ्ग र भाषामा सहमत हुनु—यसले हाम्रो निर्देशन क्षमतालाई मात्र होइन, हाम्रो धैर्य र सिर्जनात्मक संवादलाई पनि बलियो बनायो ।
‘१२ मई’ लिएर हामी दर्शकमाझ आउँदै गर्दा हामी केवल एउटा नाटक देखाउन आएका छैनौँ, हामी इतिहासको एउटा टुक्रा लिएर आएका छौँ । श्रमिकको पसिना लिएर आएका छौँ । विद्यार्थीको विद्रोह लिएर आएका छौँ । पक्राउ परेका आवाजको प्रतिध्वनि लिएर आएका छौँ । र सबैभन्दा महत्त्वपूर्ण आफ्नो अस्तित्व र अधिकारका लागि उभिन बाध्य मानिसको कथा लिएर आएका छौँ । हाम्रा लागि ‘१२ मई’ को सबैभन्दा ठुलो उपलब्धि यही हुनेछ– रङ्गमञ्च सकिएपछि पनि नाटक दर्शकको मनभित्र चलिरहोस् ।
निर्देशकद्वय
सौभाग्यसिंह राई (शोभा)
प्रह्लाद खरेल
(ग)
निर्देशक तथा कलाकारहरू
निर्देशक
सौभाग्य सिंह राई (शोभा)
प्रह्लाद खरेल
कलाकार
नरेन्द्रप्रसाद जोशी (कञ्चनपुर) : हर्क बहादुर
कविता खड्का (दोलखा) : उजेली
सालिक भण्डारी (काठमाडौँ) : विष्णु साहु
जेबी डिसी (दाङ) : पदम बहादुर
रामबाबु रेग्मी (गोरखा) : जगत् र जोगी
पुष्पराज अवस्थी (कैलाली) : पुलिस
दीपमाला परियार (मकवानपुर) : सुनिता
निर्मल साउद (बाजुरा) : श्यामलाल
आशिष केसी (काठमाडौँ) : काले
विपुल थापामगर (गोरखा) : सुरेन्द्र
राजुराज पुरी (काठमाडौँ) : वीर बहादुर
सांस्कृतिक कलाकार
खुसी तामाङ (पर्सा)
किरण परियार (हेटौँडा)
डान्सर
सौभाग्यसिंह राई (ओखलढुङ्गा)।
मञ्च र प्रकाश परिकल्पना
प्रह्लाद खरेल
व्यवस्थापन र भेषभूषा
सौभाग्यसिंह राई
मञ्च सज्जा
विपुल थापामगर
सङ्गीत
शुक्रराज मगर (गितार र गायन)
सन्देश हुमागाईं (हार्मोनियम र गायन)
झरना खड्का (गायन)
रोहित महर्जन (मादल र ढोल)
अर्जव पौडेल (बाँसुरी)
मञ्च सहयोगी कलाकार
सम्झना श्रेष्ठ, नवीन महरा, जोगा धामी, बबिता महरा, अन्जु बराल, शुष्मा तामाङ, सुदीप रौँटेल, अजय घलान, महेन्द्रराज थापा, मोनिक तामाङ
विशेष धन्यवाद
नेपाल मातृगृह