काठमाडौँ । कञ्चनपुर बेलौरी निवासी बिपतराम चौधरीको निधन भएकोमा नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ १९ गते शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
वक्तव्यमा बिपतराम मसालको सदस्य रहेको र उहाँको पार्टीभित्र टेकनाम क. विनोद रहेको उल्लेख गरिएको छ ।
इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र स्वच्छ छवि भएका बिपतरामको निधनबाट मसालको आन्दोलनमा गम्भीर क्षति पुगेको वक्तव्यमा बताइएको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका बैजुडाँडा निवासी कामरेड बिपतराम चौधरी (का. विनोद) को २०८३ भदौ १८ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा सहानुभूति प्रकट गर्दछौँ ।
कामरेड बिपतराम चौधरी हाम्रो पार्टीको इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र स्वच्छ छवि भएको सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठन र पार्टीका विभिन्न तहमा रहेर राजनीतिक तथा सामाजिक जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले कामरेड बिपतराम चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”