खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग सङ्कलन गर्दै शोकसभा सम्पन्न गरेको छ ।
२०८३ भदौ १० गते आएको बाढीले पुर्याएको ठुलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै सेप्टेम्बर ६, २०२६ का दिन नगर समितिले सो कार्यक्रम आयोजना गरेको हो ।
केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगालेको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा मन्तव्य राख्दै उहाँले रसुवा बाढीसित सम्बन्धित विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, विद्यार्थी सङ्घ क्षेत्रीय अध्यक्ष प्रतीक्षा थापा, महिला क्षेत्रीय समितिकी सदस्य लक्ष्मी गुरुङ, नगर संयोजक हरिकला कँडेल, सिटी एरिया अध्यक्ष रामचन्द्र शर्मा, सिनियर सिटिजन श्यामबहादुर मल्ल, एरिया अध्यक्ष भोजबहादुर गिरी, सांस्कृतिक विभागकी रूपा कार्कीलगायत हुनुहुन्थ्यो ।

कार्यक्रमको पूर्वाद्र्धमा सहभागीले मौनधारण र मैनबत्ती बाली मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
नगर समितिका अध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षता तथा मदन थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा जगनाथ कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
