काठमाडौँ, भदौ १६ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि जापान नेपाली एकता समाजले रु. १ लाख ६५ हजार २ सय ६२ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
जापान नेपाली एकता समाजले सञ्चालन गरेको ‘बाढीपहिरो राहत अभियान’ अन्तर्गत जापानमा रहेका श्रमजीवी नेपालीहरूबाट उक्त रकम संकलन गरिएको हो । विपद्का कारण प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समाजले जनाएको छ ।
हाम्रा संवाददाता मेघराज सापकोटाले दिएको जानकारीअनुसार जापानमा रहेका नेपालीहरूबीचबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. १,६५,२६२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विपद्को समयमा स्वदेशमा रमाहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग पुर्याउने उद्देश्यले विदेशमा रहेका नेपालीहरूले समेत विभिन्न माध्यमबाट राहत अभियान सञ्चालन गर्दै आएका छन् । जापान नेपाली एकता समाजको यो अभियान पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको बताइएको छ ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन संकलित रकम उपयोग हुने अपेक्षा गरिएको छ ।
जापान नेपाली एकता समाज राष्ट्रिय जनमोर्चासँग सम्बद्ध संगठन हो ।