काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ मञ्चनको सम्पूर्ण तयारी पूरा भएको छ ।
रक्तिम सांस्कृतिक अभियानको आयोजनामा २०८३ भदौ २१ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाकक्षमा नेपाल नाट्यशालाले सो नाटक मञ्चन गर्न लागेको हो ।
दिउसो २ बजेदेखि सुरु हुने सो नाटकको निर्देशन सौभाग्यसिंह राई (शोभा) र प्रह्लाद खरेलले गर्नुभएको छ ।
नाटकको प्रत्यक्ष अवलोकन गर्नका लागि नाटकका लेखक तथा महामन्त्री सिंहसँगै, मसालका प्रवक्ता रामप्रकाश पुरी तथा विभिन्न राजनीतिक पार्टीका नेता, साहित्यिक तथा सांस्कृतिक सङ्गठनका नेतृत्व, पत्रकारलगायतको ठुलो सङ्ख्यामा उपस्थिति रहने आयोजक संस्था रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढाले युगदर्शनलाई जानकारी गराउनुभयो ।
आन्दोलनकारीलाई सम्मान गरिने
आयोजक रक्तिमका अनुसार मे १२ आन्दोलनमा सहभागी हुनुभएका आन्दोलनकारीलाई अहिले नाटक मञ्चनकै क्रममा सम्मान गर्ने भएको छ ।
हाल नेपालभित्रका दश जनाजति आन्दोलनकारीहरू सम्पर्कमा आउनुभएकोमा यो समाचार तयार पार्दासम्म राजेश विश्वकर्मा, अजय शर्मा र भीम रायमाझी सम्मान कार्यक्रममा उपस्थित भएर सम्मान ग्रहण गर्ने टुङ्गो लागिसकेको छ ।
वचत रकमको राहतमा
आयोजक संस्था रक्तिमका अनुसार नाटकबाट प्राप्त आयको बचत रकम रसुवा बाढीको उद्धारमा खर्च गरिनेछ ।
‘यस ऐतिहासिक नाटक १२ मईको आयबाट बचत भएको रकमको ५० प्रतिशत रकम रसुवा बाढीपीडितको उद्धारका लागि खर्च गरिनेछ’ रक्तिमका अध्यक्ष बुढाले भन्नुभयो– ‘हामी यस नाटकको अवलोकन गर्न बढीभन्दा बढीको सहभागिताका लागि अनुरोध गर्दछौँ ।’
पुस्तक प्रकाशित
महामन्त्री सिंहद्वारा लेखिएको उक्त नाटकको पुस्तक पनि अहिले प्रकाशन भइसकेको छ ।
उक्त पुस्तक भदौ २१ गते नाटक मञ्चनस्थलमा पनि विक्रीका लागि उपलब्ध गराइने प्रकाशक संस्था युगज्योति प्रकाशन प्रालिले बताएको छ ।
प्रालिका अनुसार सो पुस्तक नेपाल, भारत र विदेशमा समेत वितरण गरिनेछ ।
नाटककार सिंहका यसका अतिरिक्त ‘फागुन २४’ र ‘युग बोल्छ’ पनि रहेका छन् ।
नाटकको पहिलो मञ्चन
‘१२ मई’ नाटकको पहिलो मञ्चन सन् १९८९ मा भारतको कानपुरमा भएको थियो ।
तत्कालीन अखिल भारत नेपाली एकता समाजको तेस्रो अखिल भारत सम्मेलनको सन्दर्भमा उक्त नाटक भारतमा रहेका नेपाली कलाकारहरूले प्रस्तुत गरेका थिए ।
त्यति बेला नाटकको एउटी पात्र उजेलीको भूमिका निर्वाह गर्नुभएकी हाल राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलल युगदर्शनलाई सो जानकारी दिनुभएको हो ।
विषयवस्तु इतिहास
तत्कालीन राष्ट्रिय पञ्चायत चुनाव बहिष्कारको समर्थनमा मे १२, १९८६ तदनुसार २०४३ वैशाख १९ गते भारतको राजधानी नयाँदिल्लीमा चलेको आन्दोलन नै उक्त नाटकको मुख्य विषयवस्तु रहेको छ ।
नयाँदिल्लीस्थित आई.टी.ओ. मा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनमा दिल्ली पुलिसले निर्मम दमन गरेको थियो ।
उक्त आन्दोलन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तत्कालीन अखिल भारत नेपाली एकता समाज) ले आयोजना गरेको थियो ।
आन्दोलनमा १० जना महिलासहित ९५ जना विरुद्ध भारतीय प्रशासनले नयाँदिल्लीको तीसहजारी र पटियाला अदालतमा मुद्दा चलाएको थियो । त्यस क्रममा गिरफ्तार भएका आन्दोलनकारीहरू तीन महिनासम्म जेलमा बसेका थिए ।
राजनीतिक प्रकृतिको आन्दोलनलाई फौजदारी अभियोगको स्वरूपमा अगाडि बढाएकोले त्यसलाई झुटा मुद्दाको संज्ञा दिँदै मूल प्रवाहले त्यसको खारेजीका लागि निरन्तर आवाज उठाउँदै आएको थियो ।
बदलिएको राजनीतिक परिस्थिति तथा मुद्दा खेपिरहेका कैयौँ आन्दोलनकारीहरू सम्पर्कमा नरहेको अवस्थामा पछिल्लो समयमा भारतीय न्याय प्रशासनले सो मुद्दा निष्क्रिय तुल्याएको थियो ।