काठमाडौँ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्याङ्क प्रस्तुत गरेको हो।
प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७०, तनहुँमा ३८ जनाको शव भेटिएको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको छ।
बेपत्ता रहेका कुल ५,१३० जनामध्ये रसुवा र नुवाकोट क्षेत्रका धेरै मानिस रहेका छन्। हालसम्म १०४ वटा शव सनाखत भएका छन् ।
विपद्पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना डिस्चार्ज भइसकेका छन्। उद्धारतर्फ हालसम्म १३,६५६ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएकाहरूका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। हाल ती होल्डिङ सेन्टरहरूमा नुवाकोटका २,६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्।
नेपाली सेनाका १,३४८ र सशस्त्र प्रहरी बलका २७२ वटा हवाई उडानमार्फत प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री ओसारपसार गरिएको छ। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाबाट ३,५५९ र सशस्त्र प्रहरीबाट ३,६०६ जनालाई सेवा प्रदान गरिएको छ।
