परमानन्द खडायत, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
0 राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राजमो कञ्चनपुरका जिल्ला सदस्य परमानन्द खडायतलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
– धन्यवाद सर ।
0 यो प्रशिक्षणमा यहाँहरू बसिराख्नुभएको छ । यहाँ के–कस्ता प्रशिक्षणहरू चलिरहेका छन् ?
– प्रशिक्षणमा हामीले विभिन्न किसिमका राजनीतिक लाइनका विश्लेषण अध्ययन गरिरहेका छौँ । खासगरी अहिलेको सन्दर्भमा द्वन्द्ववादी भौतिकवाद, समसामयिक राजनीतिक परिस्थिति, देशको स्थिति र सङ्गठन विस्तारका विषयमा बढी केन्द्रित भएर कक्षा (क्लास) पाएका छौँ । ती कक्षाबाट प्राप्त ज्ञानलाई आत्मसात गरेर भोलि आफ्नो ठाउँमा गएपछि व्यावहारिक रूपमा उतार्ने सोच बनाएका छौँ । पढ्न त हामीले पढ्यौँ तर पढेका कुरालाई व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा विगत दुई दिनदेखि व्यावहारिक कक्षा चलिरहेका छन् । कार्यक्रम धेरै राम्रो भएको छ र साथीहरू पनि अनुशासित हुनुहुन्छ ।
0 यो व्यावहारिक कक्षाको कुरा गर्नुभयो, यसमा के के भइरहेको छ ?
– व्यावहारिक कक्षामा मुख्य रूपमा सङ्गठन कसरी निर्माण गर्ने, जनतामा कसरी जाने र राष्ट्रिय जनमोर्चा एवम् नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्रति जनताको आकर्षण कसरी बढाउने भन्ने विषयमा ध्यान दिइएको छ । यसका लागि कुनकुन माध्यम अपनाउने भन्ने कुरामा बढी जोड दिइएको छ । यस विषयमा म पार्टी महामन्त्री मोहनविक्रम सिंहलाई धेरैधेरै धन्यवाद र बधाई दिन चाहन्छु ।
0 अहिलेसम्म यहाँहरूलाई कुनकुन नेता वा विज्ञले प्रशिक्षण दिनुभएको छ ?
– अहिलेसम्म प्रशिक्षण दिनेमा सर्वप्रथम त पार्टी महामन्त्री मोहनविक्रम सिंह हुनुहुन्छ । त्यसपछि दुर्गानाथ खरेल, पार्टी प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, युगदर्शनका अध्यक्ष समीर सिंह, त्यसैगरी भैरव रेग्मी, रश्मिराज नेपाली तथा वासुदेव पोखरेललगायतका साथीहरूले प्रशिक्षण दिनुभएको छ । धेरै साथीले वातावरण, सिद्धान्त र द्वन्द्ववादी भौतिकवादजस्ता विभिन्न विषयमा राम्राराम्रा कक्षा लिनुभएको छ ।
0 अरू पार्टीको तुलनामा राष्ट्रिय जनमोर्चाले सिद्धान्त र विचारमा बढी जोड दिन्छ भनिन्छ तर फेरि यसरी विशेष सैद्धान्तिक कक्षा नै राख्नुपर्ने आवश्यकता रहेछ कि रहेनछ ? तपाईंलाई के लाग्यो ?
– बिल्कुल । कुनै पनि सच्चा कम्युनिस्ट पार्टीका लागि सिद्धान्त नै मुख्य आवश्यकता हो । सिद्धान्तविनाको पार्टी लङ्गडो हुन्छ । सिद्धान्त नभई पार्टी अगाडि बढ्न सक्दैन । आफूलाई कम्युनिस्ट भन्ने अरू मानिसहरू, जस्तै : प्रचण्ड वा वैद्य, यही सैद्धान्तिक स्पष्टताको कमीका कारण जनयुद्धमा होमिए तर अन्तत: सम्झौतामा गएर टुङ्गिए । त्यो सिद्धान्तको कमजोरीले गर्दा नै भएको हो । कम्युनिस्ट पार्टीमा सिद्धान्त नै सर्वोपरि हुन्छ । आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक वा सुस्ताएको अवस्थामा रहँदा पनि नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले एउटा दीपजस्तै बलेर विचारको नेतृत्व गरिरहेको छ । व्यावहारिक रूपमा हामी साना हौँला तर सैद्धान्तिक स्पष्टताका हिसाबले नेकपा (मसाल) विश्वकै एउटा दह्रो र महत्त्वपूर्ण पार्टी मानिन्छ ।
0 तपाईं लामो समयदेखि भारत र नेपालमा मसालसम्बद्ध पार्टी सङ्गठनमा आबद्ध हुनुहुन्छ । यो ११ दिनको प्रशिक्षणका आधारमा ‘यो विषयमा मेरो ज्ञान कमजोर रहेछ वा मैले बुझेको रहेनछुु’ भन्ने त्यस्तो केही महसुस भयो कि भएन ?
– द्वन्द्ववादी भौतिकवादका बारेमा त पहिले पनि धेरैपटक पढियो तर यसपटक मलाई हामी व्यावहारिक रूपमा कमजोर रहेछौँ भन्ने महसुस भयो । जनतामा जुन मुद्दा (इस्यु) लिएर जानुपर्ने हो, त्यसरी जान सकिएको रहेनछ भन्ने कमजोरी मैले आफैँमा देखेँ । जति नै सिद्धान्त पढे पनि वा अध्ययन गरे पनि अन्तत: हामीलाई चाहिने त व्यावहारिक ज्ञान नै रहेछ । यदि हामी सैद्धान्तिक रूपमा पढेका कुरालाई व्यावहारिक रूपमा उतार्न सकेनौँ भने सङ्गठन विस्तार गर्न सकिँदैन । त्यसैले अध्ययनका साथसाथै जनतामा व्यावहारिक रूपमा जानु सबैभन्दा ठुलो कुरा रहेछ भन्ने मैले यो ११ दिनको कक्षाबाट सिकेको छु । हामीले लेनिनवादी सङ्गठनात्मक पद्धति अपनाएर काम गर्यो भने अझै पनि नेपालको वामपन्थी आन्दोलनको नेतृत्व लिन सक्ने ठुलो पार्टी बनाउन सक्छौँ भन्ने विश्वास जागेको छ ।
0 यो प्रशिक्षणबाट फर्केपछि कञ्चनपुरमा सङ्गठनलाई ठुलो बनाउन तपाईंहरूसँग त्यस्तो केही कार्ययोजना वा ‘ड्रिम प्रोजेक्ट’ छ ?
– अहिले कञ्चनपुर मात्र नभई समग्र देशकै मूल्याङ्कन गर्दा युवा पिढी स्वदेशमा छैनन् । खाडी, अमेरिका, युरोपलगायतका देशमा पलायन भएका छन् । गाउँमा बुढापाका, महिला, विद्यार्थी र साना बालबालिका मात्रै छन् । त्यसैले मैले यहाँबाट गएपछि कहाँबाट सुरु गर्ने भन्ने एउटा खाका बनाएको छु । अब बालबालिका र महिलालाई पार्टीमा प्रोत्साहित गर्ने, महिला सङ्गठन बनाउने र विद्यालयमा गएर विद्यार्थीलाई व्यावहारिक कुरा, बालविवाह विरुद्धका चेतना, खेलकुद तथा विविध प्रतियोगिताका माध्यमबाट सङ्गठित गर्ने सोच बनाएको छु । युवाहरूको अनुपस्थितिमा विद्यार्थी र महिलालाई प्रशिक्षण दिएर भोलिको नेतृत्व तयार पार्न सकिन्छ भन्ने कुरा मैले यो कक्षाबाट सिकेको छु ।
0 अन्त्यमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने कुरा केही छन् कि ?
– युगदर्शन मिडिया हाम्रो पार्टीको मात्र नभएर देशकै स्वच्छ र इमानदार मिडिया हो । म कञ्चनपुर जिल्ला समितिको तर्फबाट के भन्न चाहन्छु भने मिडियाले जनताको चेतना र मस्तिष्कलाई सकारात्मक रूपमा परिवर्तन गर्न सक्छ । अहिलेसम्म युगदर्शनले गरिरहेको कार्यप्रति हामी सन्तुष्ट छौँ । यो अझै उच्च उचाइमा पुगोस् । हामी पनि पछाडिबाट यसलाई सधैँ सहयोग गर्नेछौँ । युगदर्शन मिडियाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।