काठमाडौँ, असोज २ । राष्ट्रिय जनमोर्चाले मुस्ताङमा रहेको युरेनियम खनिज पदार्थ उत्खनन्का लागि विदेशी कम्पनीसँग गरिएको भनिएको सम्झौता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर के.सी.द्वारा जारी प्रेस वक्तव्यमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले मुस्ताङको युरेनियम उत्खनन्को जिम्मा अमेरिकी र अस्ट्रेलियन कम्पनीलाई दिने सम्झौता गरेको समाचार सार्वजनिक भइरहेको उल्लेख छ । सम्झौता हालसम्म सरकारले सार्वजनिक नगरेको भन्दै जनमोर्चाले यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
वक्तव्यमा युरेनियम उत्खननसम्बन्धी गतिविधिले नेपालको राष्ट्रियता र सार्वभौमिकतामा असर पार्ने भन्दै सरकारले सम्झौताको वास्तविकता स्पष्ट गर्नुपर्ने माग गरिएको छ । साथै, हालै प्रधानमन्त्रीको मुस्ताङ भ्रमणसमेत उक्त विषयसँग सम्बन्धित थियो कि भन्ने प्रश्न उठाउँदै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरिएको छ ।
राष्ट्रिय जनमोर्चाले सम्भावित राष्ट्रहितविपरीतका गतिविधिविरुद्ध सतर्क रहन राजनीतिक दल, सामाजिक संघ–संस्था, बुद्धिजीवी तथा आम देशभक्त नागरिकलाई आह्वानसमेत गरेको छ ।
प्रस्तुत छ वक्तव्य :
“कतिपय सञ्चार माध्यमहरूले पूर्ववर्ती सुशीला कार्कीको सरकारले मुस्ताङको युरेनियमको खनिज पदार्थको उत्खनन्को कार्य अमेरिका र अस्ट्रेलियन कम्पनिलाई दिने सम्झौता गरेको कुरा बाहिर ल्याएका छन् । सुशिला कार्की सरकारको समयदेखि सञ्चार माध्यमहरूले लगातार यो विषयमा समाचार सम्प्रेषण गरिरहेका छन् । संसदमा पनि यो विषयमा विभिन्न सांसदहरूले कुरा उठाइरहेका छन् ।
यद्यपि अहिलेसम्म त्यो सम्झौतालाई सरकारले सार्वजनिक गरेको छैन । तैपनि त्यसबारे जुन प्रकारको जानकारी बाहिर आएको छ, त्यसलाई राष्ट्रिय जनमोर्चाले गम्भीर रूपमा लिएको छ । त्यसबाट नेपालको राष्ट्रियतामा गम्भीर आँच पुगेको र नेपालमा अमेरिकी साम्राज्यवादको बढिरहेको गम्भीर खतरालाई बताउँछ ।
अहिले कतिपय सञ्चार माध्यमले अगाडि ल्याएको जानकारीबाट त्यो कुरामा गम्भीर शङ्का उत्पन्न भएको छ कि बालेन नेतृत्वको सरकार अमेरिकाको कठपुतली सरकार भएको हुनाले त्यसले मुस्ताङको युरेनियमलाई अमेरिकी साम्राज्यवादलाई हस्तान्तरण गर्नका लागि गोप्य रूपले षड्यन्त्र गर्न थालेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । हालै भएको प्रधानमन्त्रीको मुस्ताङ यात्रा पनि त्यही षड्यन्त्रसित जोडिएको त होइन ? त्यसबारे पनि प्रश्न नउठाइकन रहन सकिन्न ।
कथित स्वतन्त्र पार्टीका कार्यकर्ता वा आम जनताले समेत बालेन सरकारलाई समर्थन गरेका छन्, उनीहरूको पनि यस प्रकारका राष्ट्रघाती कदमहरूप्रति ध्यान जानुपर्ने आवश्यकता छ । यसबारे सत्य के हो ? त्यो कुरालाई बाहिर ल्याउन सरकारसित माग गर्दै त्यस प्रकारको खतराका विरुद्ध उच्च सतर्कता अपनाउन हाम्रो पार्टीले सम्पूर्ण देशभक्त नेपाली जनता, राजनीतिक पार्टी, सामाजिक सङ्घ–संस्था र बुद्धिजीवीहरू समेतको ध्यान आकर्षित गर्न चाहन्छ ।”
धन्यवाद !
२०८३ असोज २ गते

