आनन्द शर्मा, वामपन्थी नेता
० नेपालको वर्तमान कम्युनिस्ट आन्दोलनलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
– कम्युनिस्ट आन्दोलनप्रति नेपालमा ठुलो जनसमर्थन रहेको छ । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा कम्युनिस्ट पार्टीले लामो सङ्घर्ष गरेको इतिहास छ ।
लोकतान्त्रिक आन्दोलन र अन्य जनताका जल्दाबल्दा समस्यालाई लिएर कम्युनिस्ट पार्टीको अगुवाइमा देशमा ठुला ठुला आन्दोलन भएका छन् । त्यसको परिणामस्वरूप जनताको ठुलो पङ्क्तिले कम्युनिस्ट आन्दोलनप्रति समर्थन गरेको पाइन्छ । राष्ट्रियताको पक्षमा सुरुदेखि नै कम्युनिस्ट पार्टीको अगुवाइमा लगातार सङ्घर्ष भए । अन्तर्राष्ट्रिय हुने भएता पनि नेपालको राष्ट्रियताको पक्षमा लामो सङ्घर्ष गरेका कारणले कम्युनिस्ट मात्र नेपालमा सच्चा राष्ट्रवादी छन् भन्ने छाप जनतामा परेको छ तर पछिल्लो समयमा आफूलाई कम्युनिस्ट बताउने पार्टीहरू पटक पटक सत्तामा जाने र कतिपय राष्ट्रघाती, जनघाती र भ्रष्ट चरित्रका कारण कम्युनिस्ट आन्दोलनप्रतिको जनताको विश्वास कमजोर हुँदै गएको छ । उनीहरू कम्युनिस्ट होइनन् तर जनताको ठुलो पङ्क्ति उनीहरूलाई कम्युनिस्ट शक्ति नै भएको भ्रममा छ ।
विश्व कम्युनिस्ट आन्दोलन जस्तै नेपालको कम्युनिस्ट आन्दोलन पनि दक्षिणपन्थी संशोधनवाद, उग्रवामपन्थी भड्काव तथा मध्यपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढिरहेको छ । हाल विश्वस्तरमा र नेपालको स्थितिमा पनि दक्षिणपन्थी संशोधनवाद नै कम्युनिस्ट आन्दोलनभित्रको मुख्य समस्या रहेको छ । त्यसका साथै उग्रवामपन्थी भड्काव वा कतिपय वामपन्थी सङ्कीर्णतावादी नीतिका विरुद्ध समेत कम्युनिस्ट आन्दोलनले सङ्घर्ष गर्दै आइरहेको छ । यी भड्कावका विरुद्ध सङ्घर्षको क्रममा नै नेपालको कम्युनिस्ट आन्दोलन थप परिस्कृत हुँदै आएको छ ।
हाम्रो देश अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशीक अवस्थामा रहेको छ । साथै देशमा कायम बुर्जुवा गणतन्त्र पनि संस्थागत हुन सकिरहेको छैन । साम्राज्यवादी हस्तक्षेप, देशभित्र कायम चरम भ्रष्टाचार र कुशासनबाट नेपाली जनता पिल्सिरहेका छन् । यो स्थितिलाई बदल्न केवल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित सङ्घर्षबाट मात्र सम्भव छ । त्यसकारण पनि नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य उज्जवल रहेको छ ।
कम्युनिस्ट आन्दोलनका अगाडि कैयन् गम्भीर चुनौति पनि छन् । कम्युनिस्ट आन्दोलनको नाममा बुर्जुवा सत्तामा पुग्ने र भ्रष्ट तरिका अपनाउँदै निजी सम्पत्ति आर्जन गर्ने तथा बुर्जुवाकरण हुने जस्ता प्रवृत्तिले सि·ो कम्युनिस्ट आन्दोलन त्याग, बलिदानको आधारमा काम गर्नेभन्दा पनि निजी स्वार्थ र सम्पत्तिआर्जनमा केन्द्रित हुँदै जाने र पतन हुने प्रवृत्ति देखा परेका छन् । पार्टीको सिद्धान्त, राजनीतिक मूल्यमान्यताभन्दा पनि के गर्दा आफूलाई तत्काल व्यक्तिगत फाइदा हुन्छ, त्यसमा लिप्त हुने प्रवृत्ति आफूलाई कम्युनिस्ट बताउने कैयन् शक्तिभित्र हाबी भएको पाइन्छ । यसबाट आम जनतामा कम्युनिस्ट आन्दोलन पनि देश र जनताको मुक्तिका लागि नभएर आफ्नो स्वार्थसिद्ध गर्ने पुँजीवादी प्रकारको भएको भ्रमसमेत जनतामा पर्न गएको छ । यी सबै कुरालाई चिर्नका लागि कठिनतम सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ ।
यसरी नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य एकातिर उज्ज्वल रहेको छ भने अर्कोतिर, कैयौँ चुनौति पनि रहेका छन् । दक्षिणपन्थी संशोधनवादले सत्ता र सरकारमा रहेर गरेका जनविरोधी, राष्ट्रघाती कृयाकलाप र अर्कातिर, कतिपय वामपन्थी सङ्कीर्णवादीको तात्कालिक कार्यदिशा निर्धारण गर्ने क्रममा अपनाइएको गलत दृष्टिकोणका कारण पनि कम्युनिस्ट आन्दोलनभित्र कैयन् भ्रम सृजना भएका छन् । यी सबै प्रकारका गलत प्रवृत्ति र भ्रमका विरुद्ध सङ्घर्ष गर्दै नेपालको कम्युनिस्ट आन्दोलन आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्ने छ ।
० पछिल्लो समयमा नेकपा (मसाल) वामपन्थी सहकार्यभन्दा पनि नेपाली काङ्ग्रेससँग नजिकिएको छ भन्ने आरोपबारे के भन्नुहुन्छ ?
– यो नेपाली जनतामा भ्रम छर्ने कुरा मात्र हो । नेकपा (मसाल) ले कुनै पनि विषयमा विचार गर्दा राजनीति, सिद्धान्तको आधारमा नै विचार गर्ने गर्दछ । को नजिक ? को टाढा ? यो सबै विषयको निर्धारण राजनीतिले गर्दछ । नेकपा (मसाल) काङ्ग्रेसको पिछलग्गु भयो; सत्तास्वार्थका लागि काङ्ग्रेससँग टाँसिएको छ भन्ने जस्ता प्रचार गरेर जनतामा भ्रम पार्ने प्रयत्न गरिएको छ । यस्ता निराधार प्रचारको कुनै औचित्य छैन । देशका विभिन्न राजनीतिक शक्तिको विश्लेषण नेकपा (मसाल) को आठौँ महाधिवेशनले गरेको छ । उक्त विश्लेषणअनुसार नेपाली काङ्ग्रेस, राप्रपा र कतिपय मधेसवादी दलले सामन्तवाद र साम्राज्यवादको प्रतिनिधित्व गर्दछन् र तिनीहरू जनताका दुस्मनशक्ति हुन् भनेर स्पष्ट गरिएको छ । प्रश्न नजिक–टाढाभन्दा पनि कार्यगत एकता वा संयुक्तमोर्चासम्बन्धी नीतिको हो । कार्यगत एकता वा संयुक्तमोर्चासम्बन्धी माओको प्रसिद्ध सिद्धान्त छ । त्यो हो : दुस्मनशक्तिसँग सङ्घर्ष–एकता–सङ्घर्ष र मित्रशक्तिसँग एकता–सङ्घर्ष–एकता । नेकपा (मसाल) ले माओको सोही सिद्धान्तअनुरूप नै कार्यगत एकता वा संयुक्तमोर्चाको नीति अपनाउँदै आएको छ ।
जहाँसम्म नेपाली काङ्ग्रेससँग कार्यगत एकताको प्रश्न छ, त्यो सङ्घर्ष–एकता–सङ्घर्षको नीतिअनुरूप हुन्छ । नेपाली काङ्ग्रेससँग अहिले पनि धेरै विषयमा सङ्घर्ष भइरहेको छ । उदाहरणका लागि एमसिसी, राष्ट्रघाती नागरिकता विधेयक आदि । काङ्ग्रेससँग एउटा विषयमा मात्रै हाल कार्यगत एकता भएको छ । त्यो हो : प्रतिगमन विरुद्धको सङ्घर्ष ।
तत्कालीन ओली सरकारले संसद् विघटन गर्ने, संवैधानिक निकायमाथि आक्रमण गर्ने, संविधान तथा कानुनलाई कुल्चने र देशलाई अँध्यारो सुरुङतिर धकेल्ने नीति अपनायो ।
यसो गर्ने बेलामा उसले आफ्नो पार्टीमा कुनै सल्लाह गरेन । तत्कालीन सरकारलाई समर्थन गरिरहको साझेदार दलसँग पनि सल्लाह गरेन । यी सबै काम भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग सल्लाह गरेर गरे । केपी ओलीको त्यस प्रकारको कार्य प्रतिगामी कदम थियो र त्यो प्रतिगामी कार्य भारतीय साम्राज्यवादको साथ–सहयोगमा अगाडि बढाइएको थियो । त्यसले गर्दा प्रतिगमनको गहिराइ र आयतन कैयौँ गुना गम्भीर थियो । त्यस प्रकारको परिस्थितिमा केपी ओलीको प्रतिगमनको विरुद्धमा रहेका सबै राजनीतिक शक्तिसँग कार्यगत एकता गरी शक्तिशाली आन्दोलनको माध्यमबाट नै प्रतिगमनलाई रोक्न सम्भव थियो । काङ्ग्रेस, माओवादीसहितको पाँचदलीय कार्यगत एकताका कारणले नै त्यतिखेर प्रतिगमन तत्कालका लागि रोकिन पुग्यो । यद्यपि प्रतिगमनको खतरा कायमै छ ।
प्रतिगमन कति खतरनाक हुन्छ त्यो कुरा हाम्रो देशको इतिहासबाट पनि स्पष्ट हुन्छ । २०१७ सालमा राजा महेन्द्रले गरेको प्रतिगमनलाई सच्चाउनका लागि नेपाली जनताले ३० वर्ष सङ्घर्ष गर्नुपर्यो । २०४७ सालमा मात्र त्यो प्रतिगमन सच्चिएको थियो । यदि तत्कालीन समयमा संयुक्त आन्दोलन निर्माण गरी सङ्घर्ष अगाडि नबढाएको भए देश अरू कैयन् दसकसम्म पछि जान सक्थ्यो । त्यसकारण अहिले नेकपा (मसाल) ले नेपाली काङ्ग्रेससमेतका शक्तिसँग प्रतिगमन विरुद्ध सङ्घर्षमा अपनाएको कार्यगत एकताको नीति सही थियो र त्यसको ऐतिहासिक महत्त्व रहेको छ ।
नेपाली काङ्ग्रेससमेतको कार्यगत एकताका विरुद्धमा मूलत: दुईओटा कोणबाट विरोध भएको पाइन्छ : प्रथम– राजावादी र प्रतिगामी शक्तिले उक्त कार्यगत एकताका विरोध गर्नु स्वभाविकै हो । उक्त कार्यगत एकताको कारणले नै तत्कालका लागि प्रतिगमन पराजित भएको थियो । त्यसको वैचारिक नेतृत्व नेकपा (मसाल) ले गरेको थियो ।
उनीहरूको मूल उद्देश्यमाथि प्रहार गर्ने र त्यसलाई असफल बनाउने कार्य भएको हुँदा प्रतिगामी कोणबाट विरोध भएको छ । द्वितीय– कतिपय आफूलाई क्रान्तिकारी बताउने वामपन्थी सङ्कीर्णतावादी कोणबाट पनि सो नीतिको विरोध भएको पाइन्छ । उनीहरूको समस्या यो हो कि मात्रात्मक परिवर्तनका लागि गरिने सङ्घर्षलाई ठिक ढङ्गले बुझ्न नसक्नु र रणनीतिलाई नै कार्यनीतिको रूपमा प्रस्तुत गर्नु । सो दृष्टिकोणबाट हेर्दा वर्तमान लोकतन्त्रात्मक गणतन्त्र रक्षाका लागि गरिने सङ्घर्ष दक्षिणपन्थी देखिन पुग्छ ।
त्यसका लागि नेपाली काङ्ग्रेससमेतका शक्तिसँगको कार्यगत एकतालाई पनि गलत देख्न पुग्छन् । त्यसका विपरीत माक्र्सवादले मात्रात्मक परिवर्तनका लागि गरिने सङ्घर्षलाई पनि आवश्यक ठान्दछ । मात्रात्मक परिवर्तनका लागि सङ्घर्ष गर्दै गुणात्मक परिवर्तनका लागि सङ्घर्ष उठान गर्ने कुरामा जोड दिन्छ । काङ्ग्रेस प्रतिगमनका विरुद्धमा रहँदासम्म वा देशमा प्रतिगमनको खतरा रहँदासम्म यस प्रकारको कार्यगत एकता आवश्यक हुन्छ ।
वर्तमान अवस्थामा राष्ट्रियताका विषयमा एमाले, माओवादीलगायतका शक्ति र काङ्ग्रेसको माझमा करिब करिब समान धारणा कायम भएको पाइन्छ । उदाहरणका लागि एमसिसी सम्झौता, राष्ट्रघाती नागरिकता विधेयक आदि । तत्कालका लागि एमाले, माओवादीलगायतका कतिपय वामपन्थी शक्तिसँग राष्ट्रियताका विषयमा कार्यगत एकता हुने सम्भावना देखिँदैन । कतिपय वामपन्थी पक्षहरू राष्ट्रियताका मुद्दामा समान धारणा भएता पनि प्रतिगमनको खतराका विरुद्ध सङ्घर्ष गर्ने कुरामा सहमत छैनन् । अहिलेको परिस्थितिमा नेकपा (मसाल) को नीति राष्ट्रियता र गणतन्त्रको रक्षा एवम् सङ्घीयताको खारेजीका लागि सङ्घर्ष गर्ने रहेको छ । आफूलाई वामपन्थी भन्ने शक्तिहरू एकथरी राष्ट्रियताको विषयमा सहमत हुन नसक्ने र अर्कोथरी गणतन्त्रको रक्षाको विषयमा सहमत हुन नसक्ने परिस्थिति भएका कारणले संयुक्त वाम आन्दोलन यतिखेर सम्भव हुन नसकेको हो तैपनि कतिपय मिल्ने विषयमा संयुक्त आन्दोलन अगाडि बढाउन कोसिस गर्ने पार्टीको नीति रहेको छ । यो विषय समसामयिक राजनीतिक परिस्थिति र त्यो परिस्थितिमा सम्बन्धित पार्टीले अपनाउने नीतिमा भर पर्ने विषय हो ।
मित्रशक्ति भए पनि कतिपय अवस्थामा प्रतिगामी कार्यदिशा अपनाउँछ भने त्योसँग एकता–सङ्घर्ष–एकताको आधारमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । वर्तमान परिस्थितिमा एमालेको सवालमा त्यस्तै हुन पुगेको छ । त्यो हाम्रो पार्टीको कारणले नभएर ओली नेतृत्वको एमालेका कारणले हुन गएको हो । ठिक त्यसैगरी प्रतिक्रियावादी शक्ति भएता पनि प्रतिगमनका विरुद्ध उभिन्छ वा राष्ट्र र जनताको पक्षमा उभिएको अवस्थामा त्यो हदसम्म सङ्घर्ष–एकता–सङ्घर्षको आधारमा कार्यगत एकता वा संयुक्तमोर्चा हुन सक्छ ।
त्यसअनुसार नै अहिले नेपाली काङ्ग्रेससमेतका शक्तिसँग कार्यगत एकता भएको हो । यसलाई वामपन्थीलाई छोडेर प्रतिक्रियावादीसँग मिलेको भन्न मिल्दैन । विगतमा एमालेसँगको कार्यगत एकताको बेलामा पनि विरोध आउने गर्थे । अहिले काङ्ग्रेससमेतसँग कार्यगत एकता गर्दा पनि यस प्रकारका विरोध आउने गरेका छन् । प्रश्न समर्थन र विरोधको भन्दा पनि राष्ट्रिय राजनीतिक आवश्यकता के हो भन्ने हो ।
पार्टीविरोधीले पार्टीले अपनाएको जुनसुकै नीतिको पनि विरोध गर्ने गर्दछन् । त्यो उनीहरूको काम हो तर कतिपय अवस्थामा पार्टीकै इमानदार साथीमा पनि विषयवस्तुको अन्यौलताले भ्रम सिर्जना हुने गर्दछ । त्यसलाई पार्टीले स्पष्ट गर्दै जानुपर्दछ । हालै निर्माण भएको प्रचण्ड नेतृत्वको सरकारलाई वामपन्थी सरकार भन्न मिल्दैन । त्यसमा राजावादी, प्रतिगामी, साम्राज्यवादपरस्त शक्तिको समेत महत्त्वपूर्ण भूमिका देखिन्छ । यो सरकारको बनावटले प्रतिगामी कार्यलाई नै मदत पुगेको छ, जसका कारण राष्ट्र र जनतालाई होइन, प्रतिगामी, साम्राज्यवादी वा प्रतिक्रियावादीलाई मदत पुग्छ । तिनीहरूलाई मित्रशक्तिको नाममा समर्थन गर्ने कुरा गलत हुन्छ । त्यसकारणले वर्तमान सरकारलाई पार्टीले समर्थन गरेको छैन ।
० २०७४ सालतिर एमाले र माओवादी मिल्दा समर्थन गर्नुभयो तर अहिले उनीहरू नै मिलेर सरकार बनाउँदा तपाईहरूको विरोध किन ?
– नेकपा (मसाल) ले सरकारको समर्थन वा विरोध विचार र नीतिको आधारमा नै गर्ने गरेको छ, न कि तात्कालिक लाभले । कुरा सिधा र स्पष्ट छ । २०७४ सालमा एमाले र माओवादी गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा स्पष्ट रूपमा उभिएका थिए । त्यसकारणले तत्कालीन सरकारलाई नेकपा (मसाल) ले समर्थन गर्ने नीति अपनायो तर अहिले एमालेको भूमिका प्रतिगामी प्रकारको रहेको छ । राजावादी र प्रतिगामीसमेतको योजनामा निर्माण भएको प्रचण्ड नेतृत्वको सरकार भएको हुँदा समर्थन नगर्ने नीति अपनाइयो ।
० एमालेको पछिल्लो भूमिकालाई तपाईंहरूले प्रतिगामी बताउँदै आउनुभएको छ तर उनीहरूको तर्क छ, संविधानअनुसार नयाँ जनादेश प्राप्त गर्न खोज्नु प्रतिगमन होइन । यसबारे तपाईंहरूको भनाइ के छ ?
– केपी ओली नेतृत्वको एमालेले तत्कालीन समयमा गरेको संसद् विघटनलगायतका कार्य प्रतिगामी हुन् कि होइनन् भन्ने विषय नेपालको राष्ट्रिय राजनीतिमा विवादित छ । यसबारेमा बेग्लाबेग्लै राजनीति शक्तिका बेग्लाबेग्लै धारणा रहेको पाइन्छ । कतिपय मानिसले प्रतिगमन हुनका लागि राजा महेन्द्र वा ज्ञानेन्द्रले गरेको पो प्रतिगमन हो भने जस्ता तर्क गरेको पाइन्छ ।
वर्तमान परिस्थितिबाट पछाडि फर्कने कुरा नै प्रतिगमन हो भने अगाडि जाने कुरा अग्रगमन हो । तत्कालीन केपी ओली सरकारले भारतको समेत सल्लाहमा संसद् विघटन गर्ने, संवैधानिक आयोग भत्काउने, संविधान र कानुन कुल्चने जुन कार्य गर्यो, त्यसको उद्देश्य ताजा जनादेश प्राप्त गर्नु थिएन । नेपालको संविधान र कानुनअनुसार पनि त्यो सम्भव थिएन । संविधान, कानुन कुल्चेर त्यस प्रकारको कदम चालिएको थियो । त्यसको पछाडिको उद्देश्य हिन्दु राज्य कायम गर्नु र संवैधानिक राजतन्त्र स्थापनाका लागि आधार तयार गर्नु थियो । त्यसो गर्नु मुलुकलाई पछाडि फर्काउनु नै हुन्थ्यो । त्यसैले त्यो प्रतिगमन नै हो ।
एमाले, राजावादी र भारतीय साम्राज्यवादले त्यसलाई प्रतिगमन भन्दैनन् । त्यो बुझ्न सकिने कुरा हो । आफूलाई क्रान्तिकारी भन्ने कतिपय समूहले समेत त्यसलाई प्रतिगमन नदेख्नु अर्को विडम्बना हो । प्राप्त उपलब्धिको रक्षा र त्यसमाथि टेकेर क्रान्तिकारी दिशामा अरू अगाडि बढ्नका लागि सङ्घर्ष गर्ने माक्र्सवादी सिद्धान्तलाई ठिक ढङ्गले अपनाउन नसकेका कारण उनीहरूले केपी ओलीको प्रतिगामी कदमलाई प्रतिगमनको रूपमा बुझ्न सकेनन् । यसबाट जानअन्जानमा प्रतिगमनलाई नै मदत पुगेको छ ।
० नेकपा (मसाल) ले रणनीतिक विषयलाई परित्याग गरेर कार्यनीतिक विषयमा मात्रै बढी केन्द्रित भयो भन्ने आलोचना पनि छ । यसबारे के भन्नुहुन्छ ?
– यस्ता आरोप उनीहरूले लगाउने गरेका छन्, जसले रणनीतिलाई नै कार्यनीतिको रूपमा प्रस्तुत गर्ने गरेका छन् । मख्य नीति रणनीति नै हो तर तत्काल के गर्ने भन्ने कुरा कार्यनीति हो । रणनीति तत्काल लागु हुन सक्दैन । तत्काल व्यावहारिक रूपमा जाँदा कार्यनीति महत्त्वपूर्ण हुन्छ र कार्यनीतिले रणनीतिको सेवा गर्दछ । कार्यनीतिलाई उपेक्षा गर्ने वा गलत कार्यनीति अपनाउँदा अन्तत: गलत ठाउँमा पुर्याउँछ ।
निरङ्कुश राजतन्त्रभन्दा संवैधानिक राजतन्त्र प्रगतिशील हो । संवैधानिक राजतन्त्रभन्दा बुर्जुवा गणतन्त्र प्रगतिशील हो । बुर्जुवा गणतन्त्रभन्दा समाजवादी गणतन्त्र प्रगतिशील व्यवस्था हो । यो माक्र्सवादी दृष्टिकोण हो । वामपन्थी सङ्कीर्णतावादीले यस प्रकारको मात्रात्मक परिवर्तनको महत्त्वलाई बुझ्न सक्दैनन् । परिणामस्वरूप मात्रात्मक परिवर्तनका लागि गरिने सङ्घर्षलाई वा कार्यनीतिलाई दक्षिणपन्थी घोषणा गर्ने गर्दछन् ।
प्राप्त सीमित उपलब्धिका विरुद्ध प्रतिगामी शक्तिद्वारा लगातार आक्रमण हुने गरेको छ । आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि सङ्घर्ष गर्दै प्राप्त उपलब्धिमाथि टेकेर अरू क्रान्तिकारी उद्देश्यका लागि सङ्घर्ष अगाडि बढाउनु आजको आवश्यकता हो । नेकपा (मसाल) ले सोही कार्यनीति अपनाएको छ । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि नयाँ जनवादी क्रान्तिको तयारीमा जोड दिँदै आएको छ ।
रणनीतिलाई छोडेर होइन, केन्द्रमा राखेर तत्काल जे कार्यनीति छ, त्यसलाई लागु गर्न केन्द्रित हुनैपर्दछ । यदि त्यसो गरिएन भने रणनीति पनि कागजमा सीमित हुन्छ ।
परिणामस्वरूप न कार्यनीति, न रणनीतिको अवस्था सृजना हुन्छ । त्यसैले रणनीति छाडेर होइन, केन्द्रमा राखेर कार्यनीतिमा केन्द्रित भएको सत्य हो । रणनीतिक विषयलाई परित्याग गरेर कार्यनीतिक विषयमा मात्र केन्द्रित भएको भन्ने कुरा गलत हो ।
० नयाँ जनवादी क्रान्तिलाई न्यूनतम कार्यक्रम मान्ने वामपन्थी शक्तिहरूसित तपाईंहरूको सम्बन्ध कस्तो रहेको छ ।
– वामपन्थी शक्तिलाई नेकपा (मसाल) ले मित्रशक्ति मानेको छ । वामपन्थी शक्तिसित एकता–सङ्घर्ष–एकताको आधारमा सम्बन्ध कायम गर्दछ तर नयाँ जनवादी क्रान्तिलाई न्यूनतम कार्यक्रम मानेता पनि तात्कालिक राजनीतिक विषयमा उनीहरूको गलत नीतिका कारणले कतिपय विषयमा संयुक्त आन्दोलनको निर्माणमा बाधा पुग्ने गरेको छ । रणनीतिक विषयमा समान धारणा हुँदाहुँदै पनि तात्कालिक कार्यदिशा तत्कालका लागि महत्त्वपूर्ण हुने गर्दछ । त्यसका बाबजुद मिल्न सक्ने विषयमा कार्यगत एकता गरेर सङ्घर्षलाई अगाडि बढाउने हाम्रो नीति रहेको छ ।
० नेकपा (मसाल) सङ्गठनको विस्तारमा भन्दा पनि आन्तरिक अनुशासनको कारबाहीमा नै बढी केन्द्रित हुन्छ । त्यसले गर्दा मसाल साङ्गठनिक रूपमा सानो हुँदै गइरहेको छ भन्ने पनि गरिन्छ । वास्तविकता के हो ?
– यसमा कुनै सत्यता छैन । नेकपा (मसाल) लामो राजनीतिक पृष्ठभूमि भएको नेपालको एक मात्र कम्युनिस्ट पार्टी हो । पार्टी जीवनमा आन्तरिक अनुशासन, सङ्गठन विस्तार र सङ्घर्ष, आन्दोलन आदि नियमित रूपमा चलिरहने प्रक्रिया हुन् । पार्टीको आवश्यकताअनुसार बेग्लाबेग्लै परिस्थितिमा कुनै बेला आन्तरिक अनुशासन, कुनै बेला सङ्गठनात्मक विस्तार, कुनै बेला सङ्घर्ष, आन्दोलन वा आर्थिक कार्यक्रम मुख्य बन्न सक्छ । यी बेग्लाबेग्लै विषय पार्टीका लागि महत्त्वपूर्ण हुन्छन् तर आन्तरिक अनुशासनमा अल्झिएर अन्य विषय पछि परेको भन्ने कुरामा कुनै सत्यता छैन । पार्टीका अन्तरिक बाह्य गतिविधि हेर्यौँ भने पनि स्पष्ट हुन्छ ।
नेकपा (मसाल) ले सङ्घर्ष, आन्दोलन, सङ्गठन र पार्टीभित्रको आन्तरिक अनुशासनमा लगातार ध्यान दिँदै आएको पाइन्छ । एउटा कम्युनिस्ट पार्टीको अनुशासनलाई बुर्जुवा संसदीय पार्टीको अनुशासनका आधारमा बुझ्नु वा विचार गर्नु सही हुँदैन । संसारभरिका कम्युनिस्ट पार्टीको पार्टी अनुशासन र बुर्जुवा संसदीय पार्टीको पार्टी अनुशासनमा मौलिक अन्तर हुने गर्दछ । एउटा कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्नलायकको पार्टी सङ्गठन निर्माणका दौरानमा सोहीअनुसारको पार्टी अनुशासन कायम गर्नुपर्ने हुन्छ । कुरा त्यति मात्र हो ।
० नेकपा (मसाल) को अन्तर्राष्ट्रिय सम्बन्ध के कस्तो छ ?
– नेकपा (मसाल) सर्वहारा अन्तर्राष्ट्रवादमा विश्वास राख्ने पार्टी हो । समान सैद्धान्तिक र दार्शनिक विचार राख्ने विश्वका विभिन्न देशका कम्युनिस्ट पार्टी र सङ्गठनसँग नेकपा (मसाल) को भाइचारा सम्बन्ध रहने गरेको छ । पछिल्लो समयमा विभिन्न देशमा रहेका क्रान्तिकारी पार्टी र सङ्गठनलाई सम्पर्क, समन्वय र विचार आदानप्रदान गर्ने कार्यमा आइसिओआरले महत्त्वपूर्ण भूमिका खेलेको छ । विगतमा प्रथम, द्वितीय वा तृतीय अन्तर्राष्ट्रिय जस्तो विश्वका कम्युनिस्ट पार्टीको आधिकारिक सङ्गठन हाल छैन तैपनि विभिन्न देशका क्रान्तिकारी आन्दोलनमा समन्वय, सम्पर्क र सहयोगका लागि आइसिओआरसँगै नेकपा (मसाल) ले पनि प्रयास गर्दै आएको छ । साम्राज्यवाद विरुद्धको आन्दोलन, पर्यावरणसम्बन्धी आन्दोलन र मजदुर, किसान, महिलालगायतका विभिन्न जनवर्गको विश्व सम्मेलन, सेमिनारलगायतका कैयन् गतिविधि भएका छन् । यसले विश्व कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण सहयोग पुगेको छ ।
० देशको तात्कालिक राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
– नेपालको तात्कालिक राजनीतिक परिस्थितिका दुईओटा महत्त्वपूर्ण पक्ष रहेका छन् । प्रथम– नेपाली जनताले लामो सङ्घर्षपश्चात् प्राप्त गरेका लोकतान्त्रि गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक जस्ता महत्त्वपूर्ण उपलब्धिका विरुद्ध देशी र विदेशी प्रतिक्रिवादी शक्तिद्वारा निरन्तर आक्रमण भइरहेको छ । एकातिर, यी सीमित उपलब्धिहरू जनता र राष्ट्रका लागि पर्याप्त छैनन् र यो व्यवस्थाले राष्ट्र र जनताका आधारभूत समस्या समाधान गर्न सक्दैन भने अर्कोतिर, यी उपलब्धिहरू गुम्यो भने आन्दोलनले अझै ठुलो क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसकारण प्राप्त उपलब्धिलाई खतम पार्न भइरहेका प्रतिगामी कार्यका विरुद्ध सङ्घर्ष गर्दै यी उपलब्धिमाथि टेकेर नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
हालै सम्पन्न निर्वाचनले प्रतिगामी शक्तिलाई हराउने कार्य भएता पनि अहिले उनीहरूसहितको सरकार बनेको छ । संसद्मा प्रतिगामी शक्ति महत्त्वपूर्ण राजनीतिक शक्तिको रूपमा रहेका छन् । प्रतिगमन विरुद्धमा रहेका माओवादी, काङ्ग्रेससहितका पार्टीको अवसरवादी ढुलमुल र अस्थिर राजनीतिका कारण प्रतिगमनको खतरा अरू बढेर गएको छ ।
द्वितीय, नेपालको राष्ट्रियता अत्यन्तै कठिन अवस्थामा छ । साम्राज्यवादीहरू विशेष गरी भारतीय साम्राज्यवादले नेपालका सबै क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगिरहेको छ ।
एमसिसी सम्झौता र तत्पश्चात् अमेरिकी साम्राज्यवादको हस्तक्षेप पनि बढेर गएको छ । अमेरिकाको इसारामा काम गर्ने कथित स्वतन्त्र पार्टी संसद्को महत्त्वपूर्ण शक्तिको रूपमा रहेको छ । क्रिस्चियन धर्म प्रचारको नाममा पनि पश्चिमा साम्राज्यवादीको भूमिका बढेर गएको छ । यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डता तथा संविधानको सर्वोच्चतामाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ । त्यसैले राष्ट्रियता र गणतन्त्र रक्षाको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता अरू बढेर गएको छ ।
विदेशीको दबाबमा नेपालको कायम गरिएको सङ्घीयताका कारणले पनि देशको अवस्था जटिल बन्दै गइरहेको छ । सङ्घीय संरचनाका लागि राज्यले बर्सेनि तीन खर्बभन्दा बढी लगानी गरिरहेको छ । देशको आन्तरिक स्रोतबाट सामान्य खर्चसमेत धान्न सक्ने स्थिति छैन । यसरी आर्थिक, सामाजिक र भौगोलिक हिसाबले पनि सङ्घीयता नेपालको अभिशाप बन्न पुगेको छ । त्यसैले जतिसक्दो छिटो सङ्घीयता खारेजी राष्ट्रको आवश्यकता बन्न पुगेको छ । अत: वर्तमान राष्ट्रिय राजनीतिमा राष्ट्रियता र गणतन्त्रको रक्षा र सङ्घीयताको खारेजी मुख्य विषय बन्न पुगेका छन् ।
० गत मङ्सिर ४ गतेको चुनावमा राष्ट्रिय जनमोर्चाको जनमत घटेको देखियो । यस्तो किन भयो होला ?
– गत चुनावमा राष्ट्रिय जनमोर्चाको मात्रै होइन, नेपाली काङ्ग्रेस, माओवादी, एमालेसमेतका अन्य राजनीतिक दलको पनि मत घटेको छ । जहाँसम्म राष्ट्रिय जनमोर्चाको मत घटेको भन्ने प्रश्न छ, पार्टीले यसलाई गम्भीर रूपमा लिएको छ । २०७४ सालको चुनावमा भन्दा करिब १५ हजार मत यो चुनावमा घटेको देखिन्छ । प्रतिक्रियावादी, साम्राज्यवादी वा उनीहरूका लागि काम गर्ने विभिन्न सङ्घसंस्थाहरू राष्ट्रिय जनमोर्चाका उमेदवारलाई हराउनका लागि योजनाबद्ध प्रकारले लागेको थिए । पैसाको ठुला मात्रामा खोलो बगाइएको थियो । राष्ट्रिय जनमोर्चाले जसका विरुद्ध सङ्घर्ष गरिरहेको छ । उनीहरू हराउन लाग्नु स्वभाविक हो । उनीहरूको योजना राष्ट्रिय जनमोर्चालाई संसद्मा प्रतिनिधित्वविहीन बनाउने थियो । त्यसमा उनीहरू पूर्ण रूपमा सफल हुन सकेनन् । चुनावमा अपेक्षित सफलता प्राप्त नहुनुमा मूलत: सङ्गठनात्मक स्थिति जिम्मेवार छ भन्ने पार्टीको ठहर छ । पार्टी अनुशासन, मिलिट्यान्सी, जुझारुपन र सक्रियतामा आएको कमिको कारणले अपेक्षित सफलता प्राप्त नभएको हो ।
सङ्गठनको वर्तमान स्वरूपलाई परिमार्जन गरेर माथि उठाउने दिशामा सम्पूर्ण ध्यानकेन्द्रित गर्नुपर्ने आवश्यकता रहेको छ तर चुनावमा केही मत कम आएको कारणले पार्टी खिइँदै गयो; सकिँदै गयो; अब यसले कुनै भूमिका निर्वाह गर्न सक्दैन भन्ने जस्ता प्रचार पनि गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रचार पार्टीलाई समाप्त भएको देख्न चाहने तत्त्वले नै बढी गरेको पाइन्छ । यसमा कुनै सत्यता छैन । पार्टीमा विभिन्न समयमा विभिन्न प्रकारका समस्या वा कमजोरी देखा पर्ने गर्दछन् । त्यसबाट शिक्षा लिँदै तत् तत् कमजोरी र समस्यालाई समाधान गर्दै पार्टी अगाडि बढ्ने गर्छ । हाल सङ्गठनभित्र देखा परेका कमजोरीलाई ठिक ढङ्गले बुझ्न र उपयुक्त समाधान गरेर अगाडि बढ्न पार्टी सक्षम छ ।
० राष्ट्रिय जनमोर्चालाई सुदृढ गर्न के कस्ता कार्ययोजना बनाउनुपर्दछ भन्ने लाग्दछ ?
– एउटा क्रान्तिकारी पार्टी सङ्घर्षको दौरानमा नै सुदृढ र सशक्त बन्दै अगाडि बढ्ने गर्दछ । पार्टीले लिएको राजनीतिक कार्यदिशा सही छ तर त्यसलाई जनताको बिचमा लिएर जाने वा कार्यान्वयन गर्ने विषयमा कमजोरी छन् । पार्टीको सुदृढीकरण र जनाधारको विकास पनि हामीले त्यही विन्दुबाट अगाडि बढाउनुपर्दछ । राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता उपलब्धिको रक्षा गर्नका लागि प्रतिगमनका विरुद्ध सङ्घर्षका कार्यक्रम अहिले पनि सञ्चालन भइरहेका छन् । त्यसका साथै किसान, मजदुर, महिलालगायतका विभिन्न जनवर्गका जल्दाबल्दा समस्यालाई लिएर समेत पार्टीले सङ्घर्ष उठाउने प्रयत्न गरिरहेको छ । राष्ट्र र जनताको समग्र मुक्तिका लागि निर्णायक सङ्घर्षको तयारीमा समेत ध्यान दिँदै सङ्घर्षलाई अगाडि बढाउने योजना पार्टीको रहेको छ । देशव्यापी यस प्रकारका सङ्घर्षका कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा नै जनाधारको विस्तार गर्दै जानुपर्ने हुन्छ । सङ्घर्षको दौरानमा नै सङ्गठनभित्र देखा परेका निष्कृयता, अनुशासनमा जस्ता कमी–कमजोरीलाई हटाउँदै व्यापक जनतामा आधारित अनुशासित र सशक्त सङ्गठन निर्माण कार्यलाई योजनाबद्ध रूपमा अगाडि बढाउनका लागि आगामी वर्ष ठोस कार्यक्रमसहितको योजना बनाएर जाने समझदारी पार्टीमा बनेको छ ।
० तपाईंहरू रवि लामिछानेको विरोध गरेर नयाँ विचार र राजनीतिमा युवाशक्तिको प्रवेशको पनि विरोधमा जानुभयो भन्न सकिन्छ ?
– हामीले रवि लामिछानेको व्यक्तिगत रूपमा विरोध कहिल्यै गरेका छैनाँै तर प्रश्न रवि लामिछाने वा युवाशक्तिको होइन, प्रश्न साम्राज्यवादको हो । एमसिसी सम्झौता संसद्बाट अनुमोदन भएपश्चात् नेपालमा अमेरिकी साम्राज्यवादको भूमिका धेरै नै बढेर गएको छ । त्यो दौरानमा अमेरिकाको इसारामा काम गर्ने कथित स्वतन्त्र पार्टी अगाडि आएको छ । त्यसकारणले यो गम्भीर विषय बन्न पुगेको छ ।
केही समयअगाडि ‘अकुपाई बालुवाटार’ देखि ‘इनफ इज इनफ’ भन्ने आन्दोलन चलाइयो । तत्पश्चात ‘नो नट अगेन’ नामक अभियान सामाजिक सञ्जालमा चलाइयो । यो गतिविधिमा मूलत: एनजिओ, आइएनजिओमा कार्यरत व्यक्तिहरू नै सक्रिय रहेको भन्ने विभिन्न मिडियाले त्यतिखेर प्रकाशित गरेका थिए । यही पृष्ठभूमिमा चुनावको बेलामा स्वतन्त्र नामको पार्टी रवि लामिछानेको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता गरियो ।
रवि लामिछाने नेपाली नागरिकता परित्याग गरी अमेरिकी नागरिक बनिसकेका व्यक्ति थिए । अर्को कुरा, रवि लामिछानेलाई निर्वाचनमा विजयी गराउनका लागि नेपालको क्रिस्चियन समुदाय योजनाबद्ध तरिकाले लागेको देखियो ।
धर्म जनताको स्वतन्त्रताको विषय हो । कम्युनिस्टले धर्ममा विश्वास गर्दैनन् र भौतिकवादमा विश्वास गर्दछन् तर जनताको धार्मिक स्वतन्त्रताको सम्मान गर्दछन् । धर्मलाई कुनै साम्राज्यवादी वा प्रतिक्रियावादी उद्देश्यका लागि प्रयोग गर्ने कुराको सशक्त विरोध गर्नुपर्दछ । गत चुनावमा प्रतिगामी राजावादी शक्तिले हिन्दु धर्मलाई पश्चिमा साम्राज्यवादी शक्तिले क्रिस्चियन धर्मलाई आफ्नो प्रतिगामी र साम्राज्यवादी उद्देश्यका लागि प्रयोग गरेको देखियो । प्रतिगामी शक्तिले हिन्दु राज्यको नाममा आफ्ना प्रतिगामी उद्देश्य अगाडि बढाउने कार्यको विरुद्ध सङ्घर्ष हुँदै आएको छ तर क्रिस्चियन धर्मलाई प्रयोग गरेर आफ्ना साम्राज्यवादी उद्देश्य अगाडि बढाउने कार्यका विरुद्ध कम ध्यान जाने गरेको छ, जुन गम्भीर विषय हो । पार्टीले यस्ता कुराको भण्डाफोर र आवश्यकताअनुसार सङ्घर्ष गर्दै जाने नीति अपनाएको छ ।
राजनीतिमा युवाको प्रवेश आवश्यक छ, जुन कम हुँदै गइरहेको छ । राजनीतिमा युवाप्रवेशको नाममा प्रतिगामी वा साम्राज्यवादी उद्देश्यलाई अगाडि बढाउने कुराको मात्रै विरोध गरिएको हो । त्यसैले रवि लामिछानेको विरोध गरेर राजनीतिमा युवाप्रवेशको विरोध गरेको भन्न मिल्दैन ।
० नेकपा (मसाल) को प्रवासी नेपालीमाझको सम्पर्क बाक्लो छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाज र विभिन्न देशमा एकता समाजहरू रहनुका बाबजुद विदेशस्थित नेपाली नागरिकको मताधिकार र समानुपातिक प्रतिनिधित्वको पक्षमा आन्दोलन किन सुस्तायो होला ?
– प्रवासमा रहेका नेपालीका समस्याको विषयमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले सदन र सडकमा निरन्तर आवाज उठाउँदै आएको छ । त्यसका साथै प्रवासमा रहेका नेपालीलाई सङ्गठित गर्ने, देशको समस्याका बारेमा सचेत गराउने कार्यमा निरन्तर प्रयास हुँदै आएको छ । प्रवासस्थित नेपालीको नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठुलो भूमिका रहेको छ । देशमा प्राप्त रेमिट्यान्सको आधारमा नै राज्यले कर्मचारीलाई तलब खुवाउनुपर्ने स्थिति छ तर तिनै प्रवासी नेपालीको समस्याका विषयमा राज्यले ध्यान दिने गरेको पाइँदैन । उनीहरूको रोजगारीको सुरक्षा, विदेशमा पर्ने आपत्बिपत्का बेला राज्यको तर्फबाट खेल्नुपर्ने सहयोगी भूमिका, प्रवासको रोजगार गन्तव्यलाई सुरक्षित बनाउने आदि विषयमा राज्यले ध्यान दिएको पाईदैन । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले यी समस्यालाई लिएर राज्यलाई दबाब दिने कार्य गर्दै आइरहेको छ ।
अर्थतन्त्रमा यति ठुलो भूमिका भएका प्रवासस्थित लाखौँ नेपालीको राज्य सञ्चालनमा कुनै भूमिका देखिएको छैन । नेपालमा सर्वप्रथम नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले नै प्रवासस्थित नेपाली नागरिकको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि आवाज उठाएका थिए । पाँचदलीय गठबन्धन सरकारको न्यूनतम कार्यक्रम निर्माण गर्ने समयमा राष्ट्रिय जनमोर्चाले नै जोडदार रूपमा विदेशस्थित नेपाली नागरिकको मतदान अधिकारको सुनिश्चित गरिने छ भन्ने विषय प्रस्ताव गरेको थियो र त्यो विषय न्यूनतम कार्यक्रममा समावेश पनि गरिएको थियो । यसअघि नै सर्वोच्च अदालतले समेत सो व्यवस्था गर्नका लागि सरकारलाई आदेश गरेको थियो तर हालसम्म पनि त्यो व्यवस्था हुन सकिरहेको छैन । अन्तर्राष्ट्रिय नेपाली एकता समाज र भारतलगायतका विभिन्न देशका एकता समाजले पनि ज्ञापनपत्र र सङ्घर्षका कार्यक्रममार्फत् सरकारलाई झक्झकाउने काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको विदेशस्थिति नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि अहिले पनि सङ्घर्ष जारी छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाज र त्यसमा आबद्ध विभिन्न देशका एकता समाजले यो राजनीतिक मागका अलावा प्रवासस्थित नेपालीका विभिन्न समस्यामा सहजीकरण गर्ने र आवश्यकतानुसार सम्बन्धित देशका दूताबास र परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालयमार्फत् पनि समन्वय गर्ने कार्य गर्दै आइरहेको छ ।
प्रवासस्थित नेपालीका समस्या अहिले पनि विकराल रहेका छन् । खाडी मलेसियालगायत कैयन् ठाउँमा नेपालीका आफूखुसी हिँड्डुल गर्नेदेखि कैयन् मानवीय हकसमेत खोसिने गरेको छ । एक प्रकारको बधुवा मजदुरको रूपमा काम गर्नुपर्ने बाध्यता हालसम्म पनि रहेको छ । रोजगारका लागि नेपाली रहेका कैयन् देशसँग राज्यले अझै पनि श्रम सम्झौता गर्न सकिरहेको छैन । त्यसबाट नेपाली थप प्रताडित हुनुपर्ने अवस्था छ । विदेशस्थित नेपाली दूताबास र नियोग नेपाली कामदारप्रति सकारात्मक र जिम्मेवार हुन नसकिरहेको अवस्था छ । यस्तो परिस्थितिमा प्रवासस्थित नेपाली थप सङ्गठित र सचेत हुनुपर्ने आवश्यकता छ । सङ्गठित आन्दोलनको माध्यमबाट नै प्रवासस्थित नेपालीका समस्यालाई समाधान गर्न राज्यलाई बाध्य पार्ने सम्भावना रहन्छ । यसै विषयलाई ध्यानमा राख्दै आगामी मार्च २४, २०२३ का दिन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अनलाइन भेला हुन गइरहेको छ । भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ ।
० सङ्घीयता विरुद्ध जनअसन्तोष बढ्दै गइरहेका बेला राष्ट्रिय जनमोर्चाले यसबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सङ्घीयता खारेजीका लागि यो अभियानलाई राजमोले कसरी अगाडि बढाउनुपर्ला ?
नेपालमा सङ्घीयता सुरु भएको दिनदेखि नै त्यसका विरुद्ध पार्टीले सङ्घर्ष गर्दै आएको छ । नेपालका लागि सङ्घीय प्रणाली बेठिक छ र उपयुक्त छैन । सामाजिक हिसाबले नेपाल बहुजातीय, बहुभाषिक देश हो । झन्डै सवा सय भाषा यो सानो मुलुकमा बोलिन्छन् । त्यस्तै विभिन्न जातजाति, धार्मिक सम्प्रदाय आदि मिलेर बसेको अवस्था हो ।
सङ्घीयताले समाजको एकताभन्दा विभाजनका लागि भूमिका खेल्दछ । सामाजिक हिसाबले नेपालमा सङ्घीयता उपयुक्त छैन । भौगोलिक हिसाबले नेपाल दुईओटा बिशाल देशको बिचमा रहेको छ । ऐतिहासिक हिसाबले नेपाल पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि नै एकात्मक देशको रूपमा रहेको छ । यो कुनै बेग्लाबेग्लै राष्ट्र मिलाएर बनाएको देश होइन । आर्थिक हिसाबले नेपालको अर्थतन्त्रले महङ्गो सङ्घीयता धान्न सक्दैन । त्यसका दुष्परिणाम अहिले नै देखा परिरहेका छन् । त्यसकारण नेपालको सङ्घीयता खारेज गरिनुको विकल्प छैन ।
सुरु सुरुमा सङ्घीयताका विषयमा जनस्तरमा कैयन् भ्रम रहेका थिए । सङ्घीयताले विकासको मुल फुटाउँछ; हातले यस्तो छाम्दा राज्य भेटिन्छ; नयाँ नेपाल निर्माण हुन्छ भन्ने प्रकारका भ्रम फैलाइएको थियो । सङ्घीयता विरुद्ध सङ्घर्ष गर्ने दौरानमा कैयन् ठाउँमा जनस्तरबाट विरोध पनि भएको थियो तर पार्टीले सञ्चालन गरेको सङ्घीयता विरुद्धको देशव्यापी सङ्घर्षका दौरानमा जनताले अब सङ्घीयता बेठिक भनेर बुझिसकेका छन् । आज देशमा सङ्घीयताका विरुद्ध ठुलो जनमत रहेको छ र त्यो बढ्दै गइरहेको छ । सङ्घीयता खारेजी आन्दोलनको औचित्य झनै बढेर गएको छ ।
‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ !’ भन्ने मूल नाराका साथ प्रारम्भिक चरणको माघ महिनाभरिका सङ्घर्षका कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन भइरहेका छन् । केन्द्रले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको छ । माघ महिनापछि यो आन्दोलनलाई अरू सशक्त बनाउनका लागि थप निर्णय गरेर पार्टीले योजना बनाउने छ ।
० अन्तमा, युगदर्शनमार्फत् उल्लेख गर्नुपर्ने केही विषय छुटेका छन् कि ?
– राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा युगदर्शनले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । विभिन्न बाधा–व्यवधानसँग जुध्दै निरन्तर अगाडि बढिरहोस् भन्ने कामना व्यक्त गर्दछु ।
प्रस्तुति : प्रकाश थापामगर

