तारा थापा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद ##
० के कस्ता कारणले गत २०७९ वैशाख २९ गते सम्पन्न स्थानीय तहको चुनावमा कालिगण्डकी गाउँपालिकाको उपाध्यक्षमा पराजित हुनुभएको थियो ?
– कालिगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा मतभारमा तेस्रो स्थानमा छ । पहिलोमा नेपाली काङ्ग्रेस, दोस्रोमा एमाले र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा छ । अहिले राष्ट्रिय जनमोर्चाको सङ्ठनात्मक स्थितिमा पहिलेको भन्दा सुधार हुँदै गएको छ । सङ्ठन पनि विस्तारै फैलिएको छ तर गाउँपालिकाको लागि निर्णायात्मक दलको रूपमा हामी उभिन सकेको स्थिति छैन ।
स्थानीय निर्वाचनको बेलामा देशमा दलहरू करिब दुई धु्र्रवमा बाँडिएका थिए : एक– प्रतिगमनको, अर्को अग्रगमन । हामी पाँचदलीय प्रतिगमन विरुद्धको मोर्चाबन्दी गरेर चुनावी तालमेल गरेका थियौँ तर गुल्मीको कालिगण्डकीमा माओवादीहरू प्रतिगमनकारी दलसँग तालमेल गरी गठबन्धनलाई धोका दिएका थिए । त्यसका कारण हामीले हार बेहोर्नुपरेको थियो ।
पराजयको कारण त्यति मात्र थिएन । चुनावह चिह्न पनि तलमाथि थियो । प्रतिगमनकारीको चिह्न एउटै मात्र थियो, “सात सूर्य, सात छाप” तर हामी काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाको तालमेल थियो । त्यसको चुनाव चिह्न रुख र गिलास थियो । तलमाथि चुनाव चिह्न भएको कारणले कतिपयले राम्रोसँग देख्न पनि सकेनन् वा मतदान शिक्षामा कमी पनि भयो । त्यो पनि अर्को कारण थियो । मतगणनाको क्रममा ९५० को हाराहारीमा मत बदर भएको थियो । ५१ मतले हार्नुपर्यो ।
केही अन्तर्घात पनि देखियो । कालिगण्डकी १ नं. वडामा करिब ६० देखि ७० मत पहिलो रुख र दोस्रो पुतली स्वतन्त्र र तेस्रोबाट पूरै रुखमा छप लगाएको देखियो । त्यसैगरी २ नं. वडा अर्बेनीफाँटको बुथमा काङ्ग्रेसको मत धेरै छ तर त्यहाँबाट करिब ६० देखि ८० भोट आएन । रुखलाई आयो, गिलासलाई रुखले इमान्दारिता नदेखाएको भेटियो । त्यस्तै केही अन्य वडामा पनि देखा पर्यो । समग्रमा हाम्रो सङ्ठन अरू दुई दलभन्दा कमजोर हुनु, गठबन्धन निम्ति धोका हुनु, मत बदर हुनु, केही मतमा अन्तर्घात हुनु—यी चार कारणले हार बेहोर्नुपरेको थियो ।
० लुम्बिनी प्रदेशको सांसदमा विजय भइसक्नुभएको छ । कसरी विजयी हुनुभयो ?
– म लुम्बिनी प्रदेशको सांसद भइसकेको छु । यसमा नबुझ्ने कुरा केही छैन । म समानुपातिक मतले नै हो विजय भएको हुँ । लुम्बिनी प्रदेशमा १२ ओटा जिल्ला पर्छ । यी १२ ओटा जिल्लामा राष्ट्रिय जनमोर्चाको मत सङ्ख्या ३४,५०० हाराहारी आएको छ । यति मात्र होइन, अहिले केही मत बितल परेका छन् । हामीले लुम्बिनी प्रदेशमा दुईओटा सांसद ल्याउने गरी काम गर्ने कुरा त धेरै गरियो तर मत धेरै हलचल भएको देखियो । प्युठान र अर्घाखाँचीमा पहिलेभन्दा अहिले मत कम पर्यो । दुईओटा सांसद जित्ने भनेर काममा लागेपछि एउटा पनि धन्न धन्न धेरै मुस्किलले पाइयो तर कालिगण्डकीमा केही लोकप्रिय मत आए । केही जनताले तारा थापालाई जिताउनुपर्दछ भनेर लागेका थिए । धेरैले सहयोग गर्नुभएको थियो । उहाँहरू सबैको कोसिसले मैले एउटा सिट समानुपातिकमा प्राप्त गरेको हुँ । सबैलाई यस मिडियामार्फत धन्यवाद दिन चाहन्छु ।
० पाँच वर्ष गाउँपालिकामा काम गरिसकेको अनुभवमाझ गाउँपालिका र प्रदेशसभाको प्रारम्भिक कामकाजमा के कस्तो प्रारम्भिक फरक पाउनुभएको छ ?
– स्थानीय तहमा जमिन र जनतासँगको सामना हुन्छ र प्रत्यक्ष कार्यकारी हुन्छ । जमिन र जनतासँग प्रत्यक्ष भेटघाट हुन्छ । त्यहाँको समस्याको सन्दर्भमा आफ्नो भौतिक उपस्थितिमा महसुस गर्न सकिन्छ । जब जनता र जमिनसँग सँगसँगै भएपछि घरपरिवार, छोराछोरीसँगै बसेको महसुस हुन्छ तर प्रदेशसभामा प्रारम्भिक काममा के महसुस भएको छ भने कता कता घरपरिवार सबै छोडेर एक्लै बसे जस्तो हुन्छ । स्थानीय काममा रातदिन फोन आउँछ । केही केही काम र संवाद गरिरहनुपर्ने, सबै सँगै भए जस्तो हुन्थ्यो भने अहिले यता प्रदेशसभामा आउने र ताली पिट्ने कामको सुरुवात भएको छ ।
प्रदेश सांसद त भएको छु तर प्रदेशको काममा आउँदा प्रदेशको खासै काम नै छैन जस्तो लागेको छ । यो प्रदेशसभाको काम सङ्घीय सांसदले गरे पुग्दछ । वास्तवमा देश खर्चिलो नबनिकन चलाउनका लागि स्थानीय सरकार र सङ्घ भए पुग्दछ । प्रदेश खारेज हुनुपर्दछ ।
० लुम्बिनी प्रदेशसभामा एमाले–माओवादी गठबन्धनको विरुद्धमा उभिनुभयो । यी दुई वामपन्थीहरूको विरुद्धमा उभिनैपर्ने कारण के थियो ?
– म खास गरेर एमाले, माओवादी गठबन्धनको राजनीतिको विरुद्धमा उभिएकी छु । देशको ठुलो दलमा गनिने एमाले नेतृत्वको ओलीले करिब दुईतिहाइको संसद्लाई विघटन गरेर देश प्रतिगमन दिशातर्फ हिँडाइरहेको अवस्थालाई यो गलत भयो भनेर देशमा पाँच राजनीतिक दलहरूले गठबन्धन गरी देशलाई अग्रगमनको दिशातर्फ हिँडाल्दै यहाँसम्म ल्याएका थियौँ । निर्वाचनमा केही अन्तरघात पनि भएको देखियो तर निर्वाचनपश्चात एकाएक प्रतिगमनकारी ओली र माओवादी उभिन पुगे । यसले दुईओटा कुरा स्पष्ट पार्दछ : (१) माओवादी–एमाले गठबन्धन अपवित्र थियो । माओवादी पार्टीले कुर्ची पदको लागि सम्झौता पनि गर्दा रहेछन् । (२) माओवादी अब जनताको वा कुनै पनि दलको विश्वासको पात्र बन्न गार्हो छ । साम्राज्यवाद निर्देशित एमाले र पेन्डुलम संस्कार भएको प्रचण्डको गठबन्धनले अन्तत: सत्ताकै निम्ति बामगठबन्धन गरे पनि आखिर गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता धरापमा पर्ने सम्भावना अधिकतम छ । त्यसकारणले म वाम गठबन्धनको विपक्षमा उभिन बाध्य भएको हुँ ।
० कालिगण्डकी गाउँपालिकाको उपाध्यक्ष रहँदा के कस्ता विकास निर्माणको काम गर्नुभयो ?
– कुनै पनि स्थानीय तहमा अध्यक्ष, उपाध्यक्षले मात्र एक्लाएक्लै विकास गर्ने भन्ने हुँदैन र त्यस्तो गर्नु सहज पनि हुँदैन । अध्यक्ष र उपाध्यक्ष वा गाउँपालिकाको पूर्ण सदस्यहरूले नै कामको श्रेय लिने हो । स्थानीय तहलाई विकास गर्दा अध्यक्ष, उपाध्यक्षको भिजन भएको हुनुपर्छ किनकि त्यो वास्तविक स्थानीय सरकारको कार्यकारी पद हो ।
मेरो कार्यकालमा धेरै काम भएका छन् । धेरै काम बाँकी पनि छन् । त्यो एउटा कार्यकालमा सम्पन्न हुने पनि होइन । विकास क्रमिक रूपमा हुने कुरा हो ।
कालिगण्डकी गाउँपालिकामा सातओटा वडा छन् । ती सातओटा वडामा धेरै विकासका योजना राखेका छौँ र गरेका पनि छौँ । शिक्षामा अस्तव्यस्ततालाई सुधार गर्यौँ; जस्तै :
क. शिक्षक बैङ्क स्थापना गर्यौँ । दूरदराजका गाउँमा बालबच्चा शिक्षादेखि वञ्चित भएकालाई वा स्कुलको असुविधा भएको तथा पढाउन नसक्ने गरिब बालबच्चालाई र थोरै विद्यार्थी भएका स्कुललाई मर्ज गरी ती सबै प्रकारका विद्यार्थीलाई गाउँपालिकाको केन्द्रमा आवासीय विद्यालय बनायौँ । त्यहाँ साठीदेखि सत्तरी जना विद्यार्थीलाई नि:शुल्क पठनपाठनको व्यवस्था गरियो । पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयको अनुगमन गरी शिक्षामा गुणस्तर बढाउने कार्य गरिएको छ ।
ख. सातैओटा वडामा कृषिविज्ञलाई ल्याएर माटो परीक्षण गरी कुनै वडामा मकैजोन, कुनै वडामा फलफूल जोन, कफी जोन, बाख्रापालन, लोकल कुखुरा पालनलाई व्यवस्थित गराउन अनुदान दिने काम गरियो ।
ग. सातैओटा वडामा एक घर एक धारा र लिफ्टिङ खानेपानीको व्यवस्था गरेका छौँ र कतिपय ठाउँमा बाँकी छ । खेतियोग्य जमिनमा सिँचाइको व्यवस्था गरेका छौँ । कतिपय बाँकी छन् ।
घ. अपाङ्ग, एकल वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता अव्यवस्थित थिए । त्यो सबैलाई बैङ्कद्वारा सुरक्षित रूपमा वितरण गर्ने व्यवस्था गरिएको छ ।
ङ. गाउँपालिकाको केन्द्रदेखि सबै वडामा गाडी जान सक्ने मोटरबाटो र पुराना अव्यवस्थित पैदलमार्ग व्यवस्थित गरियो । कतिपय पैदलमार्ग र मोटरबाटो स्तरोन्नति गर्न बाँकी
छ । सत्यवती थाप्लेको लेक जाने पर्यटन पैदलमार्ग बनेका छन् । त्यसको केही काम बाँकी छ ।
च. सबै वडामा बिजुलीबत्ति सेवा पुर्याएका छौँ ।
त्यस्तै, स्वास्थ्यमा पनि १५ शैयाको हस्पिटल मेरै कार्यकालमा नै सिलान्यास गरिएको छ । पालिका स्तरीय सभाहल निर्माण गरिएको छ । ‘छोरी बचाऊ अभियान’ सहित छोरी जन्मनेबित्तिकै पाँच हजार छोरीको नाममा बैङ्क डिपोजिट गर्ने व्यवस्था मिलाइएको छ । यस्ता अन्य अनगिन्ती काम भएका छन् ।
० प्रदेश सांसदको भूमिकामा आगामी पाँच वर्षभित्र के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
– पहिलो कुरा त राजधानी दाङ आउनु गलत होइन तर यहाँ पूर्वाधार नहुनु एउटा समस्या बनेको छ । दुर्गम जिल्लाबाट सहज रूपमा राजधानी आउन सजिलो स्थिति छैन । त्यसकारण दुर्गम गाउँबाट प्रदेश राजधानीसम्म आउन जनताका लागि यातायात र बाटोघाटो राम्रो सुविधा बनाउनुपर्ने छ । यो मेरो योजना हो । त्यस्तै, प्रत्येक स्थानीय तहमा शिक्षाको गुणस्तर बढाउनका लागि शिक्षामा लगानी लगाउनुपर्ने छ । प्रत्यक स्थानीय तहका सरकारी हस्पिटलमा बर्थिङ सेन्टर, ल्याब, एक्सरे आदिको राम्रो सुविधा हुनुपर्दछ, जहाँ महिलाहरूले बच्चा जन्माउन नसकेर अकालमा ज्यान गुमाउनु नपरोस् । यस्ता धेरै गर्ने योजना बनाएको छु तर बजेट कति मिल्छ ? प्रशासन यन्त्रको सहयोग कति हुन्छ ? यी र यस्तै समस्याले गर्दा मैले सोचेअनुसार काम हुन्छ कि हुँदैन ? अहिले नै केही भन्न सकिने अवस्था छैन ।
० सङ्घीयताको विरोध गर्ने पार्टीको सांसद भइरहँदा त्यही सङ्घीयताअन्तर्गतको प्रदेशसभामा सांसद हुनुहुन्छ । आफैले विरोध गरेको निकायमा काम गर्दा अप्ठ्यारो त भइरहेको छैन ?
– त्यस्तो अप्ठ्यारो केही पनि महसुस भएको छैन । आफ्नो घरको फोहर सफा गर्न अप्ठ्यारो माने त घर सफा नै हुँदैन ।
हामी सङ्घीय प्रणालीको विरोधी होइनौँ तर नेपालमा सङ्घीयता ल्याउनुहुन्न भन्ने हो । प्रदेशसभा सङ्घीयता विरोधी पक्षको पनि हो, सङ्घीयतावादीको मात्र होइन । नाली सफा गर्नुछ भने नालीभित्र पसेर, आफू फोहोरमैलासँग सामना गरेर सफा गर्नुपर्दछ । त्यसकारणले मलाई केही अप्ठ्यारो महसुर भएको छैन बरु सजिलो भएको छ किनकि म एक जनाले भए पनि जनतालाई संसद् भवनमा, प्रदेशसभामा भएका काम देखाउन पाइन्छ । त्यहाँका सबैलाई गलत कामको खबरदारी गर्न पाइन्छ ।
० माघ महिनाभरि चल्ने भनिएको राष्ट्रिय जनमोर्चाको सङ्घीयता खारेजी अभियान लुम्बिनी प्रदेशमा कसरी चलिरहेको छ ?
– हामीले सङ्घीयताको विरोध सदनदेखि सडकसम्म र जनताको घरदैलो, गाउँसहर सबै ठाउँमा गरेका छौँ । पुस २८ गते सदनमा नै म बोलेँ । अब सङ्घीयता खारेज नगरी सुखै छैन भनेर सदनमै भनको छु । सुरुआत त्यहीँदेखि गरेको छौँ । सङ्घीयताको भार र मारले देश र जनता सुरक्षित रहेका छैनन् भनेर माघको १४ गते रुपन्देहीको विरोधसभामा पनि बोलेका थियौँ । गुल्मीमा आगामी २० गते सङ्घीयता विरोधी सभा पनि छ । २५ गते अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । त्यसैगरी हामी लुम्बिनी प्रदेशका सबै जिल्ला र देशैभरि सङ्घीयता विरोधी आन्दोलनमा लाग्छौँ र लागिरहने छौँ ।
० देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
– देशको राजनैतिक परिस्थिति अत्यन्त जटिल अवस्थामा छ । दिन–प्रतिदिन खतराको स्थिति उत्पन्न हुँदै गएको छ । देश साम्राज्यवादी शक्तिकेन्द्रको चङ्गुलमा परेको छ । अनागरिकले चुनाव जित्दछ । उम्मेदवार हुन योग्य हो वा होइन ? थाह पाउँदैन । देशमा पक्ष र प्रतिपक्ष को हो ? त्यसको टु·ो छैन । प्रमुख प्रतिपक्षमा बस्नुपर्ने दल सरकारको पक्षमा सामेल भएको छ । यस्तो अवस्थामा सरकार निरङ्कुशतातर्फ जाने खतरा छ भने देश अराजकताको भड्खालोमा जाकिने हो कि भन्ने आशङ्कापूर्ण अवस्था छ ।
० लामो समयसम्म भारत प्रवासमा काम गर्नुभयो । स्वदेश र प्रवासको सङ्गठन गर्ने कार्यशैलीमा के कस्ता भिन्नता पाउनुभएको छ ?
– स्वदेश र प्रवाशमा धेरै भिन्नता छ । प्रवाशमा काम गर्दा एउटै चासो हुन्छ कि नेपालीको समस्या के हो भन्ने किनकि प्रवासमा काम गर्न जाने नेपालीहरूको खास आफ्नो भन्ने कोही हुँदैन । त्यसैकारणले नेपालीले नेपालीलाई देख्दाबित्तिकै सहयोगको भावना जाग्दछ । ऊ कुन जिल्लाबाट आएको हो ? ऊ कुन जात र धर्मको हो ? त्यो कुनै मतलब गरिँदैन । प्रवासीमाझको सम्बन्ध वर्गीय माया र ममतामा आधारित हुन्छ । मजदुरी गर्ने दौरानमा ऊमाथि हुने अन्याय, अत्याचारको लडाइँ जसले लड्छ, उसैसँग मजदुरहरू टाँसिन पुग्दछन् ।
प्रवासमा नेपाली जनताको गार्जियन वा अभिभावक मुटुको ढुकढुकीको रूपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अस्तित्ववान् छ । त्यो सङ्ठनले करिब लाखौँ प्रवासी नेपालीको हक र हितको लागि सधैँ आवाज बुलन्द गरेको पाइन्छ । मैले पनि त्यही सङ्ठनमा रहेर काम गरेँ ।
भारत प्रवासमा समयको धेरै महŒव राखिन्छ । समयअनुसार काम गरिन्छ वा समयअनुसार कार्यक्रममा पनि सामेल भइन्छ तर त्यही सन्दर्भ नेपालमा वा स्वदेशमा फरक हुन जान्छ ।
स्वदेशमा विभिन्न विचार, फरक मत, फरक धर्म, फरक जातको परिस्थिति छ । मजदुरमा जुन किसिमको कार्यकर्ता अनुशासन हुन्छ† त्यो किसानमा हुँदैन† व्यापारीमा पनि हुँदैन । भारत प्रवासमा काम गर्दा अनुशासित हुन र सैद्धान्तिक स्तर उठाउन त्यहाँका मजदुरको पक्षमा वातावरण छ । नेपालमा यातायातको असुविधाले समयमा नआउने कार्यकर्ताले मजदुरले झै समयको पालना नगर्ने, यस्ता कैयौँ कुरामा फरक परिस्थिति छ ।
० तपाईं आफै महिला सांसद हुनुहुन्छ । आधाभन्दा बढी जनसङ्ख्या ओगटेका नेपाली महिलाको हक, हित र अधिकारको पक्षमा के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
– पहिलो कुरा त महिला अधिकार संविधानको पानामा मात्र सीमित बनाइएको छ । यसलाई जबसम्म कार्यान्वयनमा ल्याइँदैन, यो कागजको खोस्टोको रूपमा रहिरहने छ । यसलाई कार्यान्वयन गर्नका निम्ति सशक्त प्रकारले आवाज उठाउनुपर्दछ । संविधानमा ३३ प्रतिशतको कुरा गरिएको छ । सबैभन्दा बढी वकिलको सङ्ठन, सबैभन्दा बढी बुद्धिजीवीको सङ्ठन, सबैभन्दा बढी महिला भएका दलबाट नै महिलाको हक–अधिकारको चीरहरण भएके छ । राष्ट्रिय जनमोर्चाले बाहेक अन्य कुनै दलले पनि पार्टीमा रुलिङ गरेको छैन । ३३ प्रतिशत आरक्षणको व्यवस्थालाई लागु गर्नका लागि स्वयम् महिला नै सजग हुनुपर्दछ । त्यसका साथै महिला शिक्षा अभियान चलाउनुपर्ने आवश्यकता छ ।
सबैभन्दा बढी पीडा महिलालाई नै छ किनकि गाउँघरमा महिला धेरै छन् । महिलाहरूको आर्थिक प्रणाली राम्रो गराउनका लागि महिला स्वरोजगार कार्यक्रम, उद्घोषण कार्यक्रम, महिलाहरूको बौद्धिक क्षमता उठाउनका लागि सचेतना कार्यक्रम, महिलालाई सिलाइबुनाइ तालिम, मुढाबुनाइ तालिम, हौजरी तालिम, ढाका बुनाइ तालिम, कृषिका तालिम आदिमा अगाडि बढाउनुपर्दछ ।
० अन्तमा युगदर्शनमार्फत् भन्नुपर्ने केही विषय छन् कि ?
– युगदर्शनले वास्तवमै देश र जनतालाई सूचना दिने कार्यमा निरन्तर खटिएको देखेको छु मैले । यसले जनताको घरदैलोमा यथार्थ सूचना जनतामाझ लगेको हुन्छ । मलाई आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा युगदर्शनलाई धन्यवाद दिन चाहान्छु ।
प्रस्तुति : प्रकाश थापामगर