दुर्गा पौडेल, उपाध्यक्ष तथा प्रवक्ता, राष्ट्रिय जनमोर्चा ##
० प्युठान प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट पराजित हुनुको पछाडिका कारणहरू के के होलान् ?
– त्यसको मुख्य कारण गठबन्धनभित्रको अन्तर्घात नै हो । नेपाली काङ्ग्रेसभित्रको प्रतिपक्षले सुरुदेखि नै गठबन्धनको विरोध गर्दै आएको थियो ।
प्युठानमा पनि त्यसले अन्तर्घात गर्याे । माओवादीको एउटा पक्षले पनि केही हदसम्म अन्तर्घातको नीति अपनायो । त्यस सिलसिलामा हामीले दुईओटा कुराहरू स्पष्ट गर्न चाहन्छौँ : पहिलो कुरा के हो भने गठबन्धनसित सम्बन्धित सबै पक्षको नेतृत्व तहबाट चुनावको सन्दर्भमा पूरै इमान्दारिता देखाइयो । प्युठानमा पनि मुख्यतः नेपाली काङ्ग्रेसको प्रतिपक्ष र केही हदसम्म माओवादीका केही नेताहरूले अन्तर्घातको नीति अपनाए पनि समग्र रूपमा प्युठानमा नेपाली काङ्ग्रेस र माओवादीहरूको तर्फबाट मलाई ३५,००० भन्दा बढी भोट प्राप्त भएको थियो । प्युठानमा भएको अन्तर्घातका कारणले करिब ढाई हजार भोटको अन्तर पर्याे र त्यही मेरो हारको कारण बन्न गयो तैपनि समग्र रूपमा मलाई प्युठानका मतदाताहरूबाट जुन अत्यधिक भोट प्राप्त भयो, त्यसका लागि मैले उहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।
० तपाईं प्युठानको स्थानीय बासिन्दा नभएको, बसोबास पनि धेरैजसो काठमाडौँमा नै हुने गरेको, प्युठानको भौतिक विकास निर्माणमा ध्यान पु¥याउन नसकेको र महामन्त्रीको पत्नी भएकै कारणले उम्मेदवारी पाउनुभएको जस्ता आरोपबारे यहाँको प्रष्टीकरण के छ ?
– म नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नी भएको कुरा सत्य हो तर कुनै नेताको पत्नी भएकै कारणले कुनै पार्टीमा लाग्नुहुन्न वा चुनावमा उठ्नुहुन्न भन्नु अत्यन्त निम्नस्तरको र अराजनीतिक सोचाइ पनि हो ।
मलाई प्युठानमा उम्मेदवार बनाइएको मेरो आफ्नै राजनीतिक पृष्ठभूमि र इतिहासको कारणले हो । मैले करिब ३७ वर्षभन्दा बढी समयदेखि लगातार पार्टी वा राजनीतिमा काम गर्दै आएको छु । यसभन्दा पहिले पनि म कपिलवस्तु र काठमाडौँबाट उम्मेदवार बनेकी थिएँ । पहिले समानुपातिकतर्फबाट संविधान सभाको सदस्य तथा प्युठानबाट प्रत्यक्ष रूपले निर्वाचित भएर सांसदसमेत बनेकी थिएँ । त्यो अवस्थामा यो बुझ्न गार्हाे पर्दैन कि मलाई मोहनविक्रम सिंहको पत्नी भएको हुनाले टपक्क टिपेर संसद्को उम्मेदवार बनाइएको होइन ।
उम्मेदवार छान्दा पनि जिल्लादेखि केन्द्रसम्मको लामो प्रक्रिया र गोप्य मदतानद्वारा नै मलाई उम्मेदवार बनाइएको थियो । मलाई उम्मेदवार बनाउँदा मेरो वा मेरो पतिको कुनै हात रहेको छैन । जिल्लाले मलाई उम्मेदवार बनाउने सिफारिस गर्दा वा केन्द्रले त्यो निर्णय गर्दा म उपस्थित नै थिइनँ ।
त्यसैले हाम्रो पार्टीमा साथीहरूले मेरो इतिहासमाथि ध्यान दिएर वा ममाथि विश्वास गरेर नै मलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।
अर्कोतर्फ, कुनै नेताको नाता परेको कारणले, कसैको पत्नी, छोराछोरी वा भाइ आदि व्यक्तिहरू राजनीतिबाट अलग हुनुपर्छ अथवा भाइले राजनीतिमा भाग लिनुहुन्न भन्ने नियम बनाउने हो भने त्यो संसारकै अत्यन्त हास्यास्पद र तर्कहीन सोचाइ हुने प्रष्टै छ ।
प्रथमतः नेपालको संविधान, कानुन वा प्रचलनअनुसार नेपालको कुनै पनि नागरिकले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन सक्छ । त्यो अवस्थामा म प्युठानभन्दा बाहिरकी मान्छे भएको भए पनि मलाई प्युठानको चुनावमा भाग लिने अधिकार थियो तर वास्तविकता के हो भने मेरो मूल माइतीघर प्युठानको चुजा हो । प्युठानको ओखरकोटमा नै मेरो बिहे भएको हो र त्यहीँ मेरो घर पनि छ । त्यो अवस्थामा म प्युठानभन्दा बाहिरकी मान्छे हुँ भन्ने कुरा कहाँबाट आउँछ ?
पहिले मेरो काठमाडौँमा कुनै घरजग्गा नभएको बेलामा पनि म त्यहाँबाट संसद्का लागि उम्मेदवार बनेकी थिएँ । नेपालको कुनै जिल्लामा घरबास भएका मान्छेहरू आफ्ना विभिन्न काम र पेसाअनुसार नेपालका अन्य जिल्लामा वा राजधानीमा मात्र होइन, संसारका कुनै पनि देशमा गएर पनि लामो समयसम्म बसोबास गर्ने गर्दछन् तर त्यो कारणले नै म प्युठानबाट उम्मेदवार भएकोमा कुरा उठाउनु अत्यन्त निम्न स्तरको र अराजनीतिक आरोप हो । अन्य पार्टीका कतिपय नेताहरू आफ्नो घरबास नै नभएका जिल्लामा गएर उम्मेदवार बन्ने गरेका थुप्रै उदाहरण छन् । त्यो अवस्थामा स्वयम् प्युठानमा मेरो विवाह भएको र घरबाससमेत भएको मान्छेलाई जिल्लाबाहिरको मान्छे भनेर कुरा काट्नु कुन हदसम्मको दिवालिया विचार हो भन्ने कुरा प्रष्टै छ ।
प्युठानको भौतिक विकासमा कुनै मदत पु¥याउन नसकेको भन्ने आरोप पनि पूरै नै निराधार र असत्य हो । कैयौँ पार्टीका नेताहरूले आफ्नो गाउँको विकासमा ध्यान दिन नसकेका कैयौँ उदाहरण पाइन्छन् तर मेरो विषयमा त्यो आरोप पूरै निराधार र असत्य हो । मैले ओखरकोट पर्यटन एवम् ग्रामीण विकास सेवा समितिको तीन/तीनपल्ट अध्यक्ष भएर ओखरकोट र आसपासका गाउँको विकाका लागि कैयौँ काम गरेकी छु । त्यसको लामो सूची छ । हामीले प्रकाशित गरेका पुस्तकमा त्यसको लामो विवरण दिएको छ ।
मैले ओखरकोट विश्वकोष परियोजनाको अध्यक्ष भएर पनि अहिलेका झिम्रुक र गौमुखी दुवै गाउँपालिकाको विकासका लागि कैयौँ योजना बनाउने वा अध्ययन गर्ने काम गरेकी छु । त्यसका लािग नेपालको राजधानी र विदेशबाट चार जनासचेत गरी करिब ४० जना विज्ञहरूलाई प्युठानमा लगेर विभिन्न विषयको अध्ययन र अनुसन्धान गराउने कार्य सम्पन्न भएको छ । “ओखरकोट” शीर्षकको पुस्तक र “ओखरकोट” शीर्षकको फोटाको पुस्तकमा ती कार्यको विस्तृत विवरण दिइएको छ ।
म सांसद भएको बेलामा पनि प्युठानका विभिन्न गाउँमा भौतिक विकासका लागि थुप्रै काम भएका छन् । चुनावको बेलामा प्रकाशित पुस्तिकामा त्यसको पूरा विवरण दिइएको छ ।
अहिले मैले चुनाव हारेकी छु तैपनि ओखरकोट, झिम्रुक र गौमुखी गाउँपालिकामा अपूर्ण रहेका कैयौँ विकासकार्यलाई पूरा गर्ने मेरो प्रयत्न हुने छ । म अहिले पुनः ओखरकोट पर्यटन एवम् ग्रामीण विकास सेवा समितिको अध्यक्षमा चुनिएकी छु । त्यो संस्थामार्फत् तथा प्रदेश र केन्द्र सरकारसित माग गरेर पनि प्युठानका कयौँ विकास कार्यक्रम सम्पन्न गर्ने मेरो प्रयत्न हुने छ ।
० यसपालिको चुनावमा राष्ट्रिय जनमोर्चाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मतसङ्ख्या घटेको देखियो । यसका पछाडिका ठोस कारण के के हुन् ?
– यसपल्टको चुनावमा देशभित्रका प्रतिगामी तथा भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिहरूको पनि हामीमाथिको हमला धेरै नै बढेर गएको थियो । चुनावमा उनीहरूले हाम्रा विरुद्ध ठुलो धनराशि खर्च गरे । हामीले गठबन्धनमा भएको सहमतिअनुसार बागलुङ र प्युठानका दुईओटा प्रतिनिधि सभाका निर्वाचन क्षेत्र र अर्घाखाँचीको प्रदेशसभाको एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका थियौँ । विरोधीहरूले त्यति धेरै हमला गरे पनि बागलुङमा का. चित्रबहादुर केसीको विजय भयो । प्युठानमा मुख्यतः नेपाली काङ्ग्रेसभित्रको प्रतिपक्षको र केही हदसम्म माओवादीको अन्तर्घातका कारणले चुनावमा मेरो हार भयो तैपनि प्युठानमा मलाई पैतिस हजारभन्दा बढी भोट प्राप्त भयो । त्यसले मेरो उम्मेदवारीप्रति आम जनता र गठबन्धनका नेपाली काङ्ग्रेस वा माओवादी पक्षको पनि धेरै मतदाताद्वारा मलाई समर्थन प्राप्त भएको देखिन्छ । अन्य कतिपय पक्षका केही अन्तर्घातबाहेक पनि हाम्रो सङ्गठनमा भएका कतिपय कमजोरीका कारणले पनि हाम्रो भोटमा कमी भयो । यी सबै कारणले गर्दा नै प्युठानमा मेरो हार हुन गएको हो । त्यसका साथै देशभरिबाट राजमोको मतसङ्ख्या केही घट्न पुगेको छ ।
० चुनावको समयमा युवा र कथित स्वतन्त्रसम्बन्धी विषयले निकै चर्चा पायो । कथित स्वतन्त्र पक्षले त थ्रेसहोल्ड नै कटायो । यसबारे तपाईंहरूको धारणा के हो ?
– कुनै पनि देशका ज्ञानविज्ञान, साहित्य र राजनीतिको सन्दर्भमा पनि युवाको मत्त्वपूर्ण भूमिका हुन्छ । संसारका सबै महान् दार्शनिक, साहित्यकार वा राजनीतिज्ञहरूले युवा अवस्थामा नै आफ्ना कार्य सुरु गरेका थिए । नेपालको साहित्य वा राजनीतिको क्षेत्रमा पनि जुन ठुला साहित्यकार वा राजनीतिज्ञको उत्पादन भयो, उनीहरूले पनि युवाअवस्थामा नै आफ्ना त्यस प्रकारका कामको प्रारम्भ गरेका थिए । त्यसकारण युवाको भूमिकालाई कुनै पनि अवस्थामा अवमूल्यन गर्न मिल्दैन तर उमेरका दृष्टिकोणले युवा हुँदैमा उनीहरू स्वतः सकारात्मक भूमिका खेल्न सक्दछन् भन्ने होइन ।
उनीहरूमा उच्च प्रकारको सिद्धान्त वा चेतना भएमा मात्र त्यस प्रकारको भूमिका खेल्न सक्दछन् । त्यस प्रकारको सिद्धान्त वा चेतनाको अभावमा युवकहरू अवाञ्छित गतिविधिमा लागेका पनि असङ्ख्य उदाहरण पाइन्छन् तर अहिले राजनीति वा दृष्टिकोणबारे कुनै विचार नगरिकन खालि उमेरको आधारमा अर्थात् युवक भएकै कारणले उनीहरूको उच्च मूल्याङ्कन गर्ने जुन प्रवृत्ति पाइन्छ, त्यो गलत सोचाइ हो ।
स्वतन्त्रको प्रश्नमाथि पनि सैद्धान्तिक र वस्तुगत आधारमा विचार गर्नुपर्ने आवश्यकता छ । एकातिर, सही सिद्धान्त र विचार र अर्कातिर, सही सङ्गठनमा आबद्ध नभइकन खालि स्वतन्त्रको नाममा कसैले देश र समाजका लागि कुनै सकारात्मक भूमिका खेल्न सक्दैन । स्वतन्त्र भन्नुको अर्थ कुनै सिद्धान्त, विचार वा सङ्गठनमा आबद्ध नभएको व्यक्तिलाई नै बुझ्नुपर्दछ ।
गत चुनावमा त्यस प्रकारको कतिपय स्वतन्त्र व्यक्तिहरूले प्रतिगामी वा विभिन्न विदेशी शक्तिहरूको पक्षमा काम गरेको देखियो । कतिपय व्यक्तिहरूले त स्वतन्त्रको नाममा राजनीतिक पार्टी नै बनाएर अमेरिकी साम्राज्यवादको सेवा गर्ने काम गरेको पाइयो । त्यसकारण कुनै सिद्धान्त, दर्शन वा सङ्गठनमा आबद्ध नभएका स्वतन्त्र व्यक्तिहरूले कुनै सकारात्मक महत्त्व राख्दैनन् र उनीहरूले कुनै पनि बेला आफ्नो रूप बदल्न सक्दछन् ।
गएको चुनावमा विभिन्न राजनीतिक पार्टीहरूबाट टिकट नपाएका कतिपय व्यक्तिले पनि स्वतन्त्रको नामा चुनाव लडेको पाइयो । त्यसरी स्वतन्त्र भनिने व्यक्तिहरूलाई अमूर्त रूपले नहेरेर उनीहरूको वास्तविक विचार र भूमिकाको आधारमा नै मूल्याङ्कन गर्नुपर्दछ ।
० नयाँ सरकार गठनसँगै प्रतिगमन विरोधी सहकार्यबारे तपाईंहरूको धारणा के हो ?
– अहिले प्रतिगमन पक्षधर शक्तिसित गठबन्धन गरेर जुन नयाँ सरकार बनेको छ, त्यसलाई हामीले गलत मान्दछौँ । जुन प्रतिगमनका विरुद्ध हामीले पाँचदलीय गठबन्ध बनाएर सङ्घर्ष गरेका थियौँ, प्रधानमन्त्री पदका लागि उनीहरूसित नै एकता गर्नु अवश्य पनि सैद्धान्तिक र राजनीतिक कार्य होइन । त्योबाहेक त्यसरी बनेको गठबन्धनमा राजावादी तथा भारतीय र अमेरिकी राम्राज्यवादपरस्त महत्त्व पनि सामेल छन् । त्यसैले हामीले अहिले बनेको नयाँ सरकारलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।
० नेकपा (एमाले) को पछिल्लो भूमिकालाई कसरी लिनुभएको छ ?
– त्यसको पछिल्लो भूमिका पनि प्रतिगमनको निरन्तरता नै हो ।
० अहिले प्रचण्डको नेतृत्वमा गठन हुनुका पछाडि बढी नेपाली काङ्ग्रेसकै सर्वसत्तावादी चिन्तन जिम्मेवार छ भन्ने तर्कबारे के भन्नुहुन्छ ?
– हाम्रो पार्टीले अहिलेको अवस्थामा सरकारमा जाने निर्णय गरेको छैन । सरकारमा जाने नीति भएका अन्य पार्टीहरूले सरकारका कुनै पदका लागि आपसमा छलफल वा बार्गेनिङ गर्नुलाई हामीले अस्वाभाविक मान्दैनौँ तर कुनै पक्षले आफूले चाहेको पद नपाएकाले प्रतिगमन पक्षधर शक्तिसँग मिल्न जानुलाई हामीले अवश्य पनि सही मान्दैनौँ ।
० अहिले गठन भएको सरकारलाई वामपन्थी नेतृत्वको सरकार पनि भन्ने गरिएको छ । के यो वामपन्थी सरकार हो ?
– हामीले माओवादी र एमालेलाई वामपन्थी नै भनेर विश्लेषण गरेका छौँ तर कुनै पनि वामपन्थी वा मित्रशक्तिले गलत नीति अपनायो भने त्यसको पनि विरोध गर्नुपर्ने आवश्यकता हुन्छ । एमाले नेतृत्वको सरकारलाई हामीले पहिले समर्थन गरेका थियौँ तर पछि त्यसले प्रतिगमनको बाटो समातेको हुनाले नै हामीले त्यसका विरुद्ध सङ्घर्ष गरेका हौँ । प्रतिगमन विरुद्धको सङ्घर्षमा सामेल भएको हुनाले नै हामीले माओवादीसित गठबन्धन गरेका थियौँ तर अहिले त्यसले प्रतिगमनसित गठबन्धन गरेको हुनाले हामीले त्यसको विरोध गरेका छौँ । त्यसरी कुनै पनि पक्षसितको हाम्रो एकता वा सङ्घर्ष सधैँ सिद्धान्त र राजनीतिमाथि नै आधारित हुन्छ र अहिले पनि हाम्रो त्यही नीति छ ।
० प्रतिगमन विरोधी गठबन्धनका बाँकी राजनीतिक पार्टीहरू काङ्ग्रेस, एकीकृत समाजवादी र तपाईंहरूको माझमा पुनः सहकार्यको सम्भावना कत्तिको देख्नुहुन्छ ?
– त्यो कुरा देशको राजनीतिक स्थिति तथा सिद्धान्त र नीतिमाथि आधारित हुन्छ । प्रचण्डले एमालेसमेत सित गठबन्धन गरेर सरकार बनाएपछि देशको राजनीतिले कुन मोड लिन्छ र नेका तथा एकीकृत समाजवादीले पनि कुन प्रकारको नीति लिन्छन् ? त्यो कुरा अझै प्रष्ट हुन बाँकी छ । स्थितिमा कुन प्रकारको परिवर्तन हुन्छ ? त्यसको आधारमा नै हामीले आफ्नो नीति निश्चित गर्दै जाने छौँ ।
प्रचन्डले पुस २६ गते विश्वासको मत लिने ठेगान भएको छ । त्यसपछि स्थिति केही स्पष्ट हुने छ । पहिले गठबन्धनमा भएका अन्य पार्टीहरूको नीति पनि केही स्पष्ट भएर जाने छ । सम्भवतः त्यसपछि हाम्रो पार्टीले आफ्नो नीति अरू स्पष्ट पार्दै लैजाने छ तर त्यो कुरा जे भए पनि देशको समग्र
राजनीतिक स्थितिबारे हाम्रा मूलभूत नीतिहरू स्पष्ट छन् र आवश्यकताअनुसार कुनै पक्षसित कार्यगत एकता वा सहकार्य गर्ने पनि हाम्रो नीति हुने छ । देशको राजनीतिक स्थितिमा हुने परिवर्तनअनुसार नै हाम्रो त्यो नीति स्पष्ट हुँदै जाने छ ।
० कुनै पनि दललाई प्रष्ट बहुमत नमिलेको अहिलेको अवस्थामा राजनीतिक अस्थिरताको सम्भावना कायमै छ । यस्तो अवस्थामा वर्तमान प्रतिगामी र साम्राज्यवादी समर्थक सरकारको निरन्तरता उचित कि मध्यावधि निर्वाचन हुनु उचित ?
– हामीले पहिले नै यो कुरा स्पष्ट गरिसकेका छौँ कि नेकाभित्रको गठबन्धन विरोधी प्रतिपक्षका कारणले नै गठबन्धनलाई बहुमत प्राप्त हुन सकेन ।
त्यसैले देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको हो । त्यसका कैयौँ दुष्परिणाम हुने छन् । त्यही प्रकारको एउटा दुष्परिणामको स्वरूप मध्यावधि चुनाव पनि हुन सक्ने छ तर हामीले अहिले नै त्यसबारे कुनै राय प्रकट गर्न सक्दैनौँ । घटनाक्रममा हुने विकासअनुसार त्यसबारे हाम्रो पार्टीले आवश्यक नीति निर्धारित गर्ने छ तर एउटा कुुरा निश्चित छ कि अहिले विभिन्न प्रकारका प्रतिगामी राजावादी तथा अमेरिकन र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित मिलेर जुन सरकार बनेको छ, त्यसले देशलाई प्रतिगमनतिर नै लैजाने छ । त्यो अवस्थामा देशका बृहत्तर हित, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षतासमेतको रक्षाका लागि नेपाली जनताले कडा सङ्घर्ष गर्नुपर्ने छ । ती सङ्घर्षका रूपहरू के कस्ता हुने छन् ? त्यसबारे अहिले नै भन्नु सम्भव छैन र त्यो कुरा भविष्यमा थाह हुँदै जाने छ ।
० तपाईंहरूले माघमा सङ्घीयता खारेजीको अभियान चलाउने घोषणा गर्नुभएको रहेछ तर प्रदेशसभामा तपाईंका सांसद पनि छन् । एकातिर, सङ्घीयताको विरोध गर्ने, अर्कातिर, त्यही सङ्घीय प्रदेश संरचनामा भाग लिने । यो नमिल्दो भएन र ?
– हामीले संसदीय प्रणालीलाई स्वीकार गर्दैनौँ तर त्यसमा भाग लिएका छौँ । त्यही कुरा प्रदेशसभाबारे पनि सत्य हो । हामीले तिनीहरूमा भाग लिए पनि हाम्रो नीति सङ्घीयता र प्रदेशसभालाई पनि खारेज गर्ने नै हुन्छ ।
० तपाईं लामो समयसम्म प्रतिनिधि सभाको सांसद रहनुभयो । संसदीय राजनीतिक जीवनका स्मरणीय विषयहरू के कस्ता रहेका छन् ?
– पछिल्लो कालमा म राष्ट्रिय जनमोर्चाको तर्फबाट संसद्मा एक्लो प्रतिनिधि थिएँ । त्यसैले पार्टीका नीतिहरूलाई अगाडि बढाउन मैले त्यहाँ एक्लै सङ्घर्ष गरिरहनुपर्याे ।
गठबन्धनका अन्य चारओटै पक्षले एम.सी.सी. को समर्थन गरेपछि संसद्मा एक्लै एम.सी.सी. का विरुद्ध उभिनु पनि सजिलो कार्य थिएन ।
नागरिकता विधेयकको पक्षमा पूरैजसो संसद उभिएको बेलामा त्यो विधेयकका विरुद्ध उभिनु पनि सजिलो कार्य थिएन । कतिपय पक्षहरूले मलाई संसद्मा अनुपस्थित भएर पक्ष वा विपक्षमा कुनै मत नदिन पनि धेरै नै दबाब दिएका थिए तर मैले त्यो कुरालाई स्वीकार गरिनँ र त्यो विधेयकका विरुद्ध नै मत दिएँ । त्यसले गर्दा तराईका सबै सांसदहरूले मेरो विरोध गरेका थिए र मसित बोल्न पनि बन्द गरेका थिए ।
छोराछोरीको बिचमा समानता हुनुपर्छ भन्ने सिद्धान्तका आधारमा छोराले विवाह गरेर ल्याएकी विदेशी बुहारीलाई जस्तै छोरीले विवाह गरेको विदेशी ज्वाइँलाई समान प्रकारले नागरिकता दिनुपर्छ भन्ने प्रश्नको विरोध गर्दा धेरै महिला सांसदहरूले पनि मेरो विरोध गरेका थिए ।
सरकारका परराष्ट्रसम्बन्धी कतिपय नीतिको विरोध गर्दा सत्तापक्ष पनि मसित असन्तुष्ट हुने गरेको थियो । त्यस प्रकार विभिन्न प्रकारका असन्तुष्टि उत्पन्न हुने गरेको थियो ।
त्यस्ता विभिन्न प्रकारका असन्तोष र विरोधका बिचमा नै मैले पाँच वर्षको सांसद्को जीवन बिताउनुपरेको थियो तर यो कुराका लागि मलाई पूरा सन्तोष र गौरवको अनुभूति छ कि मैले एक्लै भए पनि पाँच वर्षसम्म पार्टीका नीतिहरूलाई दृढतापूर्वक अगाडि बढाउन सफल भएँ । संसदीय कालसँग सम्बन्धित मेरा दुईओटा पुस्तकहरू “संसदमा पहिलो वर्ष“ तथा “संसदमा दोस्रो वा तेस्रो वर्ष” मा मैले त्यो बेला संसद्मा गरेका कार्यको विस्तृत विवरण प्रस्तुत गरेकी छु । “संसदमा चौथो र पाँचौँ वर्ष” पुस्तकको प्रकाशनको तयारी भइरहेको छ ।
० तपाईंसित लामो समयको स·ठन र सङ्घर्षको अनुभव छ । यस आधारमा एकातिर स·ठन र सङ्घर्ष, अर्कोतिर, सदनको सङ्घर्ष—यी दुईमाझ के कस्ता भिन्नता पाउनुभएको छ ?
– ती दुवै पक्ष एकअर्काका पूरक हुन् । ती दुवैको आफ्नो आफ्नो प्रकारका विशेषता छन् तैपनि समग्र रूपमा मैले सदनमा पहिले संविधान सभामा दुई वर्षको र संसद्मा पाँच वर्षको गरी जम्मा सात वर्षको समय मात्र बिताएकी छु । मेरो जीवनको बढी समय संसद्बाहिरको सङ्गठन र सङ्घर्षमा नै बितेको छ । बाँकी समय पनि त्यसरी नै बित्ने बढी सम्भावना छ तर जुन रूपमा भए पनि देश, जनता र पार्टीको सेवामा नै बिताउन पाए मलाई खुसी लाग्ने छ ।
० अब तपाईंको राजनीतिक सक्रियता कसरी अगाडि बढ्छ । के विषयमा ध्यानकेन्द्रित गर्ने योजना बनाउनुभएको छ ?
– जस्तो कि पहिले पनि बताएँ, देश, जनता र पार्टीको सेवामा नै आफ्नो जीवन बिताउँदा मलाई धेरै खुसी लाग्ने छ । म स्वतन्त्र व्यक्ति होइन र पार्टीको एउटी कार्यकर्ता हुँ । मेराअगाडिको कार्यविधि कस्तो हुने छ ? त्यो कुरा पार्टीले ममाथि कति विश्वास गर्ने छ ? मलाई कुन कामको लागि योग्य ठान्ने छ र मलाई के जिम्मेवारी दिने छ ? त्यसमाथि निर्भर गर्ने छ । मैले मलाई दिएको जिम्मेवारीलाई इमानदारिपूर्वक पूरा गर्ने प्रयत्न गर्ने छु । अन्तर्राष्ट्रिय महिला आन्दोलनमा पनि मेरा कैयौँ जिम्मेवारी छन् । मैले ती जिम्मेवारी पनि पूरा गरेर अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलनमा पनि बढीभन्दा बढी योगदान दिने प्रयत्न गर्ने छु ।
मेरा पति मोहनविक्रम सिंहको आफ्नो गाउँ ओखरकोट, झिम्रुक र गौमुखी पालिका र प्युठानको विकाससम्बन्धी धेरै सपनाहरू छन् । उहाँका कैयौँ सपनाहरू अपूर्ण छन् । मैले ती सपनाहरूलाई पनि सकेसम्म पूरा गर्ने प्रयत्न गर्ने छु । उक्त सबै कामहरूका लागि आफूलाई अरू योग्य बनाउन मैले अध्ययनलाई पनि अगाडि बढाउने प्रयत्न गर्ने छु ।
० अन्तमा, युगदर्शनमार्फत् भन्नुपर्ने वा आह्वान गर्नुपर्ने केही छन् कि ?
– अहिले देशका अगाडि गम्भीर प्रकारका खतरा छन् । जनताले लामो सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेका ऐतिहासिक उपलब्धिमाथि प्रतिगामी र साम्राज्यवादी शक्तिले कैयौँ दिशाबाट हमला गरिरहेका छन् । त्यस प्रकारको उद्देश्य पूरा गर्नका लागि लामो सङ्घर्ष गर्दै आएका कैयौँ राजनीतिक शक्तिले अपनाउने गरेका विभिन्न प्रकारका अवसरवादी वा प्रतिगमन तथा साम्राज्यवादपरस्त नीतिका कारणले पनि एकातिर, जनतामा धेरै भ्रम पैदा हुने गरको छ र अर्कातिर, देश र जनताका हितमा गम्भीर प्रकारको कुठाराघात हुने खतरा बढ्दै गइरहेको छ । ती सबैका विरुद्ध युगदर्शन र सम्पूर्ण सञ्चार जगत्ले जनतामा चेतना फैलाउन महत्त्वपूर्ण योगदान दिने छन् भन्ने मैले आशा गरेकी छु र त्यसका लागि आह्वानसमेत गर्दछु ।
प्रस्तुति : प्रकाश थापामगर