दाङ । दाङमा किसानले सरकारले तोकेको धानको समर्थन मूल्य पाउन सकेनन् । फलस्वरूप उनीहरूको धान बिक्री हुन सकेको छैन ।
त्यसले गर्दा जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ । घोराही उपमहानगरपालिका–६ र लमही नगरपालिका–५ मा यस्तो समस्या देखिएको छ ।
गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटाधानको मूल्य प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय १५ बढी हो ।
त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय २६ भन्दा बढी हो ।
सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ ।
सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन नसकेका हुन् ।
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताउनुभयो । पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उहाँले बताउनुभयो ।
कृषि ज्ञानकेन्द्र दाङको तथ्याङ्कअनुसार ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
कृषि ज्ञानकेन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठका अनुसार गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल सात सय ८७ हेक्टर बढी रहेको छ । (रासस)