दमौली । धानपकेट क्षेत्र मानिएको जिल्ला तनहुँमा आयातित चामलको भर छ । जमिन बाझो हुँदै गएपछि पकेट क्षेत्रमै धानको उत्पादन घटिरहँदा यस्तो स्थिति देखा परेको हो ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताउनुभयो । ‘धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन’ उहाँले भन्नुभयो ।
जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताउनुभयो । ‘जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमिन बढ्दै जान्छ ।
चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो । ‘गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो । गत वर्ष आठ हजार सय २० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उहाँले बताउनुभयो ।
यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताउनुभयो ।
उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । (रासस)





