बागलुङ बजार । सडक डिभिजन कार्यालय बागलुङअन्तर्गतको एउटा सडक परियोजना १९ महिनामा सक्नुपर्नेमा छ महिनामै सम्पन्न भएको छ ।
डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयावधिभन्दा १३ महिनाअघि सम्पन्न गरेको हो ।
मुस्ताङको बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको बार्खा ताङसोङ जोड्ने सडक गत चैत २७ गते सम्झौता भएको थियो । सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको छ ।
चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताउनुभयो ।
सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबिन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल बिछ्याउनेसमेतको काम थियो ।
ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताउनुभयो ।
‘उहाँको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सक्नुभयो’ लेखा अधिकृत रामनाथ शर्माले भन्नुभयो– ‘उहाँलाई डिभिजनले सम्मान गर्ने छ ।’ वर्षाँैदेखि काम अलपत्र भएको गुनासो आउने बेलामा उहाँले गरेको काम उदाहरणीय भएको बताउनुभयो ।
डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराउनुभयो । पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ ।
‘हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इन्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो’ रोकायाले भन्नुभयो । (रासस)