काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहररूको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको
सेयर कारोबार एकिकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ । तर, आधारभुत सेयरधनीको सेयर कारोबार भने रोक्का हुनेछ ।
मर्जर सम्झौता भएको सूचीकृत कम्पनीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडि साधारणसभा नभएसम्म सेयर कारोबार रोक्का राख्न आधारभुत सेयरधनीको विवरणसहित संगठित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
यस्तै आधारभुत सेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोबार समय अगाडि नै धितोपत्र बजार वा केन्द्रीय निक्षेप सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । सोहीअनुसार कारोबार रोक्का हुने आधारभूत सेयरधनीको विवरण अद्यावधिक हुने जनाइएको छ ।
निर्देशिका कार्यान्वयनमा आएसँगै साधारण सेयर धनीको सेयर कारोबार भने १५ दिनका लागि मात्रै रोक्का हुने भएको छ ।
‘मर्जरमा गएको संस्थाको एकीकृत व्यवसायीक कारोबार गरेको मितिबाट गाभ्ने र गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्नेछ,’निर्देशिकामा भनिएको छ ।