काठमाडौँ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि तय गरेको मूल्यानुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ ।
युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनो रूपमा युरो अगाडि रहेको छ । बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिएको थियो ।
पछिल्ला दिनमा लगातार अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले घरेलु अर्थतन्त्रमा दबाब परेको थियो । आयातमा केन्द्रित रहेको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव देखिएको छ । विप्रेषणलगायत केही क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भए पनि अधिकांश मालवस्तु आयात हुने देशमा त्यसले नकारात्मक असर पर्ने अर्थतन्त्रका जानकारको भनाइ छ ।





