रुपन्देही । ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’ रुपन्देही सम्मरीमाई गाउँपालिका–५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो– ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन । विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’
रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घँुडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँडडुल गर्न समस्या छ । पति पनि बिरामी हुनुहुन्छ । ‘बुढ्यौलीमा सहारा हुन्छ भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत् माछापुच्छ्रे बैङ्कमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन” उहाँले भन्नुभयो ।
सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उहाँहरूले महिनैपिच्छे पठाउनुभएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ«े बैङ्कमा जम्मा गर्दै भौचर लिँदै आउनुभयो तर बैङ्क स्टेटमेन्टमा उहाँको खातामा पैसा छैन ।
गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उहाँ बैङ्कको भैरहवा शाखामा पैसा निकाल्न जानुभयो, उहाँको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाउनुभयो । यो अवधिमा उहाँले सो बैङ्कमा रु चार लाख जम्मा गरिसकेको बताउनुहुन्छ । अहिले उहाँ बैङ्कले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहनुभएको छ ।
सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ्रे बैङ्कको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गर्नुभयो । उहाँको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उहाँले बैङ्कमा निवेदन दिन जानुभयो तर बैङ्कले उहाँको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उहाँको गुनासो छ ।
आफन्तले विदेशबाट पठाएको, खेतीकिसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैङ्कको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गर्नुभएको भौचर छ तर उहाँहरूको बैङ्क खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो ? भन्ने प्रश्नमा बैङ्कले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।
सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैङ्ककै कारण गायब भएको उहाँहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैङ्क र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उहाँहरूको माग छ ।
ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैङ्कले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैङकिङ सेवा दिँदै आएको हो । पाठकले बैङ्कमा सेवा दिनका लागि बैङ्कका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राख्नुुभएको थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्नुहुन्थ्यो ।
निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैङ्कले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ ।
वडा नं. ५ का वडाध्यक्ष श्रवण यादवले भन्नुभयो– ‘बैङ्कले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन् टविरुद्ध कुनै कारबाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।’ वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशङ्कित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोड्नुभएका एक एक पैसा ब्याजसहित बैङ्कले तिर्नैपर्ने बताउनुभयो ।
बैङ्कका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन । मसँग व्यक्तिगत सम्पत्ति छ । आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।’
सेवाग्राहीको दाबी सबै सत्य नभएको र रु एक करोड ३२ लाख मात्र अनियमित भएको उहाँको भनाइ छ ।
त्यसैगरी बैङ्कका एजेन्ट निरञ्जन पाठकले भन्नुभयो– ‘यस क्षेत्रमा बैङकिङ सुविधा नभएका बखत २०७५ सालमा बैङ्ककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो । मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।’
एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उहाँले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताउनुभयो । सो सम्बन्धमा माछापुच्छ्रे बैङ्कको केन्द्रीय कार्यालयका प्रवक्ता सुुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताउनुभएको छ । (रासस)