काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा अमेरिकासँग हवाई सम्झौता गर्ने तयारी गरेको छ ।
विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको हो ।
अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।
हाँले भन्नुभयो– ‘अमेरिकाले हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यस मुलुकसँग छिट्टै हवाई सम्झौता गर्ने तयारीमा छौँ ।’
नेपालले हाल ४० देश र युरोपेली सङ्घ (इयु) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लोपटक अस्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो ।
अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने जनाइएको छ ।
हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, थाई एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।
हवाई सम्झौताको महत्त्व
नेपालले अन्य मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्दा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल विस्तारका साथै दुई देशबिचको कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मदत पुग्ने सहसचिव लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालले कुन कुन मुलुकसँग हवाई सम्झौता गरेको छ भन्ने विषयको अन्तर्राष्ट्रिय महत्त्व हुन्छ । कतिपय मुलुकले सिधा उडान गर्न सक्छन् । सम्बन्धित मुलुकमा कोर्ड सेयरिङका एयरलाइन्समार्फत पनि सहज हवाई उडान हुने भएकाले हवाई सम्झौता हुनु भनेको राम्रो कुरा हो ।’
इयुको सुरक्षासूचीबाट हट्ने
नेपालले सबै हिसाबले प्रगति गरेकाले योपटक इयुको सुरक्षासूची एयर सेफ्टी लिस्टबाट हट्ने विश्वास लिएको छ । ‘अहिले हाम्रो (नेपालको) सबै हिसाबले स्टाटस राम्रो छ । त्यसैले अहिले नेपाल आएको इयुको अडिट टोलीले पनि नेपालको हालको स्थितिलाई हेरेर आएको जस्तो लाग्छ । योपटक नेपाल सेफ्टी लिस्टबाट हट्छ’ सहसचिव लामिछानेले भन्नुभयो ।
नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै आइकाओले डिसेम्बर २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो ।
यसअघि आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अङ्क पाएको थियो । आइकाओको टोलीले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्याङ्कन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो ।
इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै सुरक्षा सूचीमा राखेको थियो । (रासस)