बेनी । म्याग्दीको धौलागिरि गाउँपालिकामा तामाखानी उत्खनन् गर्ने माग उठेको छ ।
पालिकाको मल्कबाङसँगै वडा नम्बर १ गुर्जा, वडा नम्बर ७ मच्छिम, धारापानीलगायतका क्षेत्रमा बन्द अवस्थामा रहेका दर्जनौँ तामाखानीका पुरिन थालेपछि यस्तो माग गर्न थालिएको हो ।
तत्कालीन सरकारले करको दर बढाएसँगै करिब साढे एक शदाब्दीदेखि यस क्षेत्रका तामाखानी बन्द हुन पुगेका थिए । बन्द अवस्थामा रहेका तामाखानीको अध्ययन र अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् ।
आफ्ना पुर्खाले खानी खनेका ठाउँ वरपर अहिले पनि तामाका धाउ भेटिने भएकाले यस क्षेत्रमा तामाखानीको सम्भावना अध्ययन गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने मल्कबाङका वडाध्यक्ष अमर छन्त्यालको भनाइ छ ।
छन्त्यालको घरमा वि.सं. १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकँुडा छन् । उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन् गरेको तामाबाट उक्त सामान बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छमाने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक्षित छन । एक सय ७४ वर्षअघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले जोगाएर राख्नुभएको छ । (रासस)