काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने निर्वाचन अगावै मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने गरी तयारी थालेको छ । चुनावलाई लक्षित गर्दै सरकारले मेलम्चीको पानी उपत्यकामा वितरणको योजना बनाएको हो ।
आगामी मंसिर १ भित्र मेलम्चीको पानी काठमाडौं उपत्यकावासीलाई खुवाउने खानेपानी तथा सरसफाइ मन्त्रालयले दाबी गरेको छ ।
मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौँ उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो ।
प्राकृतिक विपत्तिबाट आयोजनामा हुन सक्ने क्षति जोगाउन भन्दै गत १७ जेठ मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरिएको छ ।
वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्राकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठूलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो ।
तर, सरकारले ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालेको अनुमान गरिएको छ ।