विराटनगर । मोरङमा तोकिएको समय यही भदौ ५ गतेसम्ममा ३७ र त्यसपछि पाँच गरी ४२ निवेदन दर्ता भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सो जानकारी दिनुभएको हो ।
२०७९ भदौ १२ गते आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न छलफलमा पीडित विराटनगर महानगरपालिका–१८ निवासी बेचन दासले स्थानीय वासुदेव मण्डलसँग रु एक लाख कर्जा लिएको र सो कर्जाबापत धितोमा १५ धुर जग्गा पास गराएको गुनासो राख्नुभयो ।
उहाँले भन्नुभयो– ‘मसँग मण्डलले अहिले रु १५ लाख मागिरहेका छन् । रु एक लाखको कर्जामा रु १५ लाख कहाँबाट बुझाउने ।’
त्यस्तै, विराटनगर–१८ निवासी जितेन्द्र साहले स्थानीय जितेन्द्रकुमार रजकसँग रु पाँच लाख ऋण लिनुभएको थियो । उहाँले पीडित १० कट्ठा जग्गा रजिस्ट्रेसन पास गराएको तर सबै सम्पत्ति नै रजकले हडपेको गुनासो गर्नुभयो ।
‘छोरीको बिहेका लागि स्थानीय एक जनासँग रु तीन लाख कर्जा लिएको हो । त्यसबापत् १८ धुर जग्गा धितोमा पास गरिदिएको हो तरर अहिले पीडकले रु १६ लाख मागिरहेको छ’ मोरङको कर्सिया निवासी मिरहीदेवी पासवानले भन्नुभयो– ‘मेरो श्रीमान् स्वर्गवास हुनुभयो, म अरूको घरमा काम गर्छु । कहाँबाट यति धेरै पैसा ल्याउनु ? मैले खाएको ऋण तिरेको छु तर साहुले मेरो जग्गा फिर्ता गर्न मानेको छैन । न्याय पाऊँ हजुर ।’
त्यस्तै, विराटनगर–८ निवासी रामनारायण साहले रु एक लाख ५० हजार ऋण लिएको र सो ऋणबापत आफूले रु एक करोड ५० लाखभन्दा बढी तिरिसकेको जनाउँदै पीडकको कारण आफूलाई धेरै ठुलो नोक्सानी भएको गुनासो गर्नुभयो ।
विराटनगरकै जगदीश साहले स्थानीय सिद्धिकी ताज बब्बरसँग एक हप्ताका लागि रु दुई लाख कर्जा लिएको र एक हप्तापछि ऋण चुक्ता गर्न गएपछि मलाई अपहरण गर्ने शैलीमा छ घण्टा बन्दी बनाएर रु १५ लाखको कागज बनाएको गुनासो सुनाउँदै भन्नुभयो– ‘सो कागजको कारण म केही दिन जेलमा बसेँ र रु १८ लाख तिरेर जेलमुक्त भएको कारण मेरो मन अहिले पनि डराइरहेको छ ।’