तौलिहवा । राष्ट्रिय भूमि आयोग र कपिलवस्तुमा दसओटै स्थानीय तहमाझ सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
स्थानीय निकायको प्रमुख तथा उपप्रमुख र प्रशासकीय अधिकृतको उपस्थितिमा वास्तविक भूमिहीनलाई जमिन दिलाउने गरी सो सम्झौता भएको हो ।
त्यस सम्बन्धमा राष्ट्रिय भूमि आयोगका भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०७९ साउन २६ गते कपिलवस्तु नगरपालिकाको गौतमबुद्ध होटलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
राष्ट्रिय भूमि आयोग कपिलवस्तुका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षता, कैलाशनाथ पाण्डेको स्वागत र राष्ट्रियगानका साथ सो कार्यक्रम सुरु भएको थियो ।
राष्ट्रिय भूमि आयोगकै सदस्य नरेन्द्रमान केसीको उद्घोषक रहेको उक्त कार्यक्रमा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्य रहनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय नापी विभागका प्रमुख जनकराज भट्टले भूमिसम्बन्धी कानुन, राष्ट्रिय भूमि आयोगको काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र, अव्यवस्थित बसोबासी अर्थात् भूमिहीनको परिभाषा, भूमिहीनले जमिन पाउने प्रक्रियालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला वन कार्यालयका प्रमुख विजयराज सुवेदी, जिल्ला मालपोत कार्यालयका ऋषिराम पौडेल, जिल्ला प्रहरी कार्यालयका एस।पी। प्रेमबहादुर बस्नेत र जिल्ला समन्वय समितिका प्रमुख भूमिराम पोख्रेलको पनि आतिथ्य रहेको थियो ।

