भद्रपुर । झापा च्याउ उत्पादनमा आत्मनिर्भर बनेको छ । त्यहाँ किसानहरूले वर्षौंदेखि च्याउखेती गर्दै आइरहेका छन् ।
झापाका दुई दर्जनभन्दा बढी किसान च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । यसकारण पछिल्लो समय झापा च्याउमा आत्मनिर्भर भएको हो ।
जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ गाउँमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ । जिल्लामा च्याउखेती गर्ने सयौँ किसानले यसबाट रोजगारीको अवसर पाएका छन् ।
जिल्लामा कन्ये, गोब्रेलगायतका च्याउखेती हुँदै आएको छ । विगतमा भारतबाट च्याउको विजन ल्याएर खेती गर्दैै आएका किसानले हाल बिर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बिउ प्रयोग गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्रले किसानलाई च्याउखेतीका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८/७९ मा रु १७ लाख ६९ हजार चार सय ५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ, जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा रु १३ लाख तीन सय प्राप्त गरेको छ । च्याउको बिउ उत्पादन गर्दै आएको पाथीभराले १२ साना किसानलाई समेत समेटेर च्याउ ब्लक विकास कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीे एक वर्षमा १८ किसानले च्याउखेतीमा अनुदान पाएको जानकारी दिनुभयो । उहाँले युवा लक्षित कार्यक्रमअन्तर्गत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई रु ८७ हजार, रीता च्याउ उद्योग दमकलाई रु ८४ हजार छ सय ८०, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई रु ८५ हजार दुई सय, शान्ति च्याउ उद्योग गौरादहलाई रु एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई रु एक लाख अनुदान उपलब्ध गराइएको जानकारी दिनुभयो ।
जिल्लाको बिर्तामोडमा उत्पादित च्याउको बिजनले प्रदेश नं १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौँमा समेत बजार पाउने गरेको छ । पाथीभरा च्याउ उद्योगका सञ्चालक राम खत्रीले दैनिक रु २७ हजारको च्याउ बिउ उत्पादन गर्दै आएको बताउनुभयो । उद्योगको ल्याबमा दुई प्राविधिकसँगै अन्य १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
च्याउखेतीको महत्त्व च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौओटै अमिनो एसिड पाइन्छ । चिकित्सकका अनुसार च्याउले क्यान्सर, मुटुरोग जस्ता रोग लाग्नबाट बचाउँछ भने यसमा माछा, मासुभन्दा बढी पौष्टिकता पाइन्छ । (रासस)