काठमाडौं । लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ ।
बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार सोमबार बसेको बैठकले भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नेसम्बनधी समझदारीपत्रलाई स्वीकृत गरेको छ ।
चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैतबाटै गृहकार्य गरिरहेको थियो । बोर्डले गत २३ जेठमा यसका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डले एनएसपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी २, ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताउनु भयो ।
उहाँले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिनुभयो । त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डिपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ ।
सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्व्ीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।