काठमाडौं । मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिदका क्रममा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले भ्रष्टाचार आरोपमा प्रदेशका सचिवसहित साइकल खरिद कार्यक्रममा संलग्न अधिकारी एवम् संस्थाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सीडीई, सहलेखापाल, ओम सत्य साई प्रालि, वीरगंज, पर्साका म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालसमेत ६ जना र सो संस्था उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।
सो कार्यक्रममा उपसचिव दिलिप कुमार प्रधान (अध्यक्ष), सुरेन्द्र कुमार कर्ण, (सदस्य सचिव), सहलेखापाल राजाराम मण्डल (सदस्य) र सीडीई भगवान झाले बोलपत्र मूल्यांकन प्रतिवेदन पेश गर्दा गलत मनसायले बदनियतपूर्ण तवरबाट गलत प्रतिवेदन दिएको पाइएको भन्दै अख्तियारले आरोप पत्रमा कैद सजाय र जरिवाना हुन मागदावी लिइएको छ ।
मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो।
सो क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवम् हानी नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ। उनीहरुविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।