काठमाडौं । युवतीको प्रयोग गरी विभिन्न पुरुषलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ‘हनि ट्रयापिङ’ धन्दामा संलग्न श्रीमान श्रीमतीसहित तीन जनालाई प्रहरीले साउन १ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की रहेका छन् । पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति पत्नी हुन्।
प्रहरीका अनुसार कल्पनाले सामाजिक सञ्जालबाट पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर भेट्ने गर्थिन् ।
भेटेपछि झूटा मुद्दा लगाएर फसाउँछु भन्दै तीनैजना मिलेर ब्ल्याकमेल गर्ने गरेका थिए । उनीहरु मध्येका सञ्जय कार्कीले नक्कली इन्स्पेक्टर बनेर धम्क्याउने र रकम तिर्न बाध्य बनाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका उपर ‘आपराधिक लाभ’ मा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।