नारायणगढ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचाँै अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ ।
बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर, गहुँ र धानको नयाँ जातको विकास, पशुपालनको क्षेत्रमा बाख्राको नयाँ जातको विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरी निर्णय गरेको हो ।
विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा परिषद् सदस्य सचिव प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार विश्वविद्यालयले हालसम्म बाह्य र आन्तरिक सहयोगमा ३१५ भन्दा बढी अनुसन्धान सम्पन्न गरेको र ११५ ओटा जारी रहेको बताउनुभयो । आउँदो वर्षका लागि विश्वविद्यालयका प्राध्यापकलाई निर्देशनालयको आन्तरिक स्रोतबाट छोटो र लामो अवधिका ३७ ओटा अनुसन्धान परियोजना स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
बैठकले अनुसन्धानका विषयगत क्षेत्र आवश्यक संशोधनसहित पारित गर्ने निर्णय गरेको छ । अनुसन्धानका नैतिक पक्षलाई दृष्टिगत गरी विश्वविद्यालयको संस्थागत समीक्षा बोर्डद्वारा पारित विधि र प्रक्रियाबाट अनुमोदन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा माटो सुहाउँदो र किसानको आवश्यकतालाई सम्बोधन गर्ने प्रविधिको विकासको लक्ष्य राखी विश्वविद्यालयको पूर्ण आर्थिक स्वामित्वमा सञ्चालन भइरहेका दुई दीर्घकालीन परियोजनाको प्रस्तुति रहेको थियो । यसअन्तर्गत भैँसीमा देखिने सीमित मौसममा मात्र बाली लाग्ने परिस्थितिलाई उल्टाई सबैजसो याममा बाली लगाउन सकिने बनाई वर्षभरि नै दूधको माग परिपूर्ति गर्न अहिलेसम्म गरिएका प्रयासको बारेमा जानकारी गराइएको थियो ।
स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक तथा सो परियोजनाका प्रमुख अनुसन्धानकर्ता डा भूमिनन्द देवकोटाले सो बारेमा जानकारी गराउनुभएको थियो ।
गहुँको सुधार परियोजनाअन्तर्गत प्रतिकूल मौसममा पनि राम्रो प्रतिफल दिन सक्ने जातहरूको विकासका साथै अहिलेसम्म भएका उपलब्धिको बारेमा उक्त परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्राडा माधवप्रसाद पाण्डेयले जानकारी गराउनुभएको थियो । वनविज्ञानका क्षेत्रका चुनौतीका साथसाथै भइरहेका कार्य र भावी योजनाको बारेमा उपप्राध्यापक हरि भट्टराईले जानकारी गराउनुभएको थियो ।
बैठकमा नास्टका उपकुलपति श्रेष्ठले विश्वविद्यालयले गर्दै आएका कार्यको सराहना गर्दै निकट भविष्यमा विश्वविद्यालयसँग सहकार्यमा अनुसन्धानका कार्य सञ्चालन गरिने बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा परिषद् सदस्य डा दीपक भण्डारीले विश्वविद्यालयका साथै अनुसन्धानका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाको समन्वयमा एकै प्रकारको अनुसन्धान बारम्बार दोहिरिन नदिनका लागि आवश्यक पहल चाल्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।
कृषि विभागका महानिर्देशक तथा परिषद् सदस्य डा रेवतीरमण पौडेलले अनुसन्धानका दायरालाई निर्दिष्ट गरी वार्षिक कार्ययोजना बनाई प्रगतिको समीक्षा गर्दै सबै सरोकारवाला एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पशु सेवा विभागका महानिर्देशक तथा परिषद् सदस्य डा रामनन्दन तिवारीले पशु सेवाका क्षेत्रमा उत्कृष्ट जनशक्ति उत्पादनमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
लीबर्ड नेपालका कार्यकारी निर्देशक डा बलराम थापाले कृषिका क्षेत्रमा गैरसरकारी संस्था पनि अनुसन्धानमा लागेको कुराको जानकारी गराउँदै सबै क्षेत्रको समन्वयबाट नै समग्र कृषिको रूपान्तरण गर्न सकिने बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति रेग्मी र रजिस्ट्रार थपलियाले विश्वविद्यालयले अनुसन्धानमा गरेका उपलब्धिका बारेमा चर्चा गर्दै समस्याका बारेमा अवगत गराउनुभएको थियो ।