काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताउनुभएको छ ।
सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएकोे हो ।
उहाँले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताउनु भयो । गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताउनु भयो ।
उहाँले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताउनु भयो ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताउनु भयो ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताउनु भयो ।
पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उहाँँको भनाई छ । उहाँले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताउनु भयो ।