काठमाडौँ । राष्ट्रियसभाबाट रेल्वे विधेयक–२०७९ पारित भएको छ । राष्ट्रियसभाको २०७९ असार १७ गतेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वेसेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताउनुभयो ।
अर्का संशोधनकर्ता सांसद डा. विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताउनुभयो ।
सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि सङ्कुचित गर्ने मनसाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताउनुभयो । रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए ।
विधेयकको दफावार छलपलका क्रममा सांसदले प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदले राख्नुभएका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक आगामी असार २० गते सोमबार अपराह्न १ बजे बस्ने छ ।