काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान सुरु हुने भएको छ ।
थाइल्यान्डको थाई स्माइल एयरवेजले २०७९ असार १७ (जुलाई १, २०२२) र श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलोपटक नियमित उडान सुरु गर्न लागेको हो भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैङ्कक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल रहेको छ ।
थाइल्यान्डको बैङ्कक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले थाइल्यान्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।
श्रीलङ्कन एयरलाइन्सले उडान थप्यो
श्रीलङ्कन एयरलाइन्सले सातामा सातओटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ ।
यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारओटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अस्ट्रेलिया, लन्डन, जापान, कोरिया, थाइल्यान्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो ।
प्राधिकरणका अनुसार हाल टिआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् ।
टिआइएमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० ओटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।
नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लोपटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । (रासस)