काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य सुरु भएको छ । दैलेख जिल्लामा अध्ययनका लागि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन्।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो।
चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साईज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ।
त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेले बीबीसीलाई दिएको जानकारी अनुसार चिनियाँ टोली हाल नेपालमा आइपुगेको भए पनि वर्षाका कारण यो बेला ठोस काम भने अगाडि बढाउन मिल्ने अवस्था छैन।
हाल उक्त टोलीले ड्रिलिङ (जमिन मुनिसम्म खन्ने) उपकरण कसरी दैलेखस्थित अन्वेषण भइरहेको स्थलसम्म पुर्याउने भन्ने विषयको निर्क्योल गर्नेछ। अध्ययनका लागि दुई वटा ड्रिलिङ उपकरण नेपाल ल्याउनुपर्ने अवस्था छ।
उपकरणको तौल र आकार ठूलो हुने हुँदा त्यसलाई चीनसँगको सीमा वा समुद्री मार्ग कताबाट ल्याउन उपयुक्त हुन्छ र नेपाल ल्याइसकेपछि दैलेखसम्म कसरी पुर्याउने भन्ने कुराको यकिन यो टोलीले गर्ने छ।
रजौरेका अनुसार दैलेखमा इन्धन अन्वेषणका लागि ‘तीन वटा सम्भावित ठाउँ’ यकिन भइसकेको छ ।
नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ। अहिले ज्वाला बलिरहेको ठाउँको आसपासमा अध्ययन भइरहेको बताइएको छ ।

ज्वालामाई तथा अन्य स्थानमा प्राकृतिक ग्यास निस्किने तथा ज्वाला बलिरहने गरेको देखिन्छ । वर्षौँ देखि ग्यास बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ।
हाल छनोट गरिएका तीनमध्ये कुन स्थानमा पहिले ड्रिलिङ गर्ने भन्ने कुरा चिनियाँ टोलीले यकिन गरेपछि जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। उक्त दायित्व नेपाल सरकारको हो।
अधिकारीहरूका अनुसार सामान्य अवस्थामा काम अगाडि बढे दशैँ लगत्तै ड्रिलिङ कार्य सुरु हुन सकिने अवस्था छ।