काठमाडौं । पाकिस्तानमा शहबाज शरिफ देशका २३औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १७४ मत पाएका थिए ।
नवनिर्वाचित प्रधानमन्त्री शरिफ पूर्वप्रधानमन्त्री नवाफ शरिफका भाइ हुन् । नवाफ तीन पटक प्रधानमन्त्री बनेका थिए ।
सोमबार भएको मतदानमा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाएनन्। त्यसअघि इमरान खान सहित पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन न्याश्नल असेम्ब्लीमा राजीनामा घोषणा गरेका थिए ।
सन् २०१८ मा इमरान खान सत्तामा आउनुअघि ७० वर्षीय शरिफले पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्रीका रूपमा काम गरिसकेका छन् ।
पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन) को नेतृत्व गर्ने उनले प्रभावकारी र मिहिनेतसाथ काम गर्ने व्यक्तिको रूपमा ख्याति कमाएका छन्। उनलाई पूर्वाधारमा उल्लेख्य सुधार गरेको श्रेय समेत दिइन्छ।
नवनिर्वाचित प्रधानमन्त्री शरिफले पनि आफ्ना दाजुझैँ भ्रष्टाचारको आरोप खेपेका छन् र खानको कार्यकालमा केही समय जेलमा बिताएका थिए ।उनीमाथिको आरोप प्रमाणित भएको छैन र उनले त्यसलाई राजनीतिक मनसायबाट प्रेरित बताउँदै आएका छन्।
शहबाजका छोरा हम्जाले आफ्ना बुवाको पदचाप पछ्याउँदै पञ्जाबको नयाँ मुख्यमन्त्री बन्ने आशा राखेको बीबीसीले जनाएको छ ।





