काबुल । अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तीमा १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा भइरहेको मानव अधिकार उल्लङ्घन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
अफगानिस्तानमा जारी महिला दमनबारे चिन्ता व्यक्त गर्दै विदेशमन्त्रीहरूले तालिबानलाई सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।
अफगानिस्तानमा महिलाको दमनमा चिन्ता व्यक्त गर्दै विदेश मन्त्रीहरूले तालिबानलाई अफगान महिला विरुद्धका सबै प्रतिबन्ध, विशेष गरी शिक्षा अवरोध हटाउन आग्रह गरेको टोलो न्युजले उल्लेख गरेको छ । मन्त्रीहरूले मानव अधिकार उल्लङ्घनबारे गहिरो चिन्ता व्यक्त गर्दै विशेष गरी महिला र केटीलाई शिक्षामा पूर्ण पहुँच र सहभागिताको सुनिश्चितता गर्न आह्वान गरेका छन् ।
बैठकका सहभागीले तालिबानका कार्य, विशेष गरी महिलासँग सम्बन्धित गतिविधिको नजिकबाट निगरानी जारी राख्ने निर्णय पनि गरेका छन् ।
अफगान महिला र मानव अधिकारका लागि अमेरिकी विशेष दूत रिना अमिरीले अन्तर्राष्ट्रिय महिला दिवसमा समावेशी, स्थिर र आर्थिक रूपमा सक्षम अफगानिस्तानका लागि अफगान महिलाको सहभागिताको महत्त्वमा जोड दिएपछि यो कुरा सार्वजनिक भएको हो ।
यसैबिच, तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगान महिलाहरू जागिरबाट वञ्चित भएका छन् । (रासस–एएनआई)