न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्र सङ्घ महासभामा रुस–युक्रेन विवाद वार्ताबाट समाधान गर्ने विषय उठेको छ ।
महासभाको छयहत्तरौँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले बिहिबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गर्नुभएको हो ।
‘म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु’ अध्यक्षले विज्ञप्तिमार्फत् सो आग्रह गर्नुभएको हो ।
संयुक्त राष्ट्र सङ्घको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै साहिदले सबै सदस्य राष्ट्रलाई आफ्ना अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गर्नुभएको हो ।
‘म सबै सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न मेरो आह्वान पुनः दोहोर्याउँछु’ उहाँले भन्नुभयो।
साहिदले भन्नुभयो– ‘युक्रेन र यहाँका जनतालाई मानवीय सहायताको लागि अहिले सुरक्षित र निर्बाध पहुँच प्राथमिकता र समयको आवश्यकता हो।’ (रासस–एएनआई/सिन्ह्वा)





