काठमाडौँ । अमेरिकाले युक्रेनमाथि आक्रमण नगर्ने सर्तमा रुससित वार्ता गर्न तयार रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रकाशित गरेका समाचारमा अमेरिकी राष्ट्र जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि तयार भएको बताइएको हो ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको पहलमा बाइडेन–पुटिन वार्ताको तयारी भइरहेको छ । आइतबार म्याक्रोनले पुटिनसँग दुईपटक टेलिफोन वार्ता गरेर संवादको वातावरण बनाएका हुन् ।
युक्रेनसँगको सीमाक्षेत्रमा रुसले करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ । यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनमाथि सैन्य आक्रमणको रुसी तयारी भनेका छन् तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।
युक्रेन सङ्कट समाधानका लागि कूटनीतिक प्रयास कमजोर बन्दै गएको ठानिएका बेला म्याक्रोनको पहलमा बाइडेन र पुटिनबिच वार्ताको तयारी भएको हो ।
सम्भावित बाइडेन–पुटिन वार्ताले युरोपमा पछिल्लो केही दशकयताकै गम्भीर सुरक्षा सङ्कटको अवस्था आउनबाट रोक्ने अपेक्षा गरिएको छ । (एजेन्सी)