किभ (युक्रेन) । युक्रेनको लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ । रुसी समाचार संस्था स्पुतनिकले सो जानकारी दिएको हो ।
विस्फोट ग्यास पाइपलाइन दुर्जभामामा भएको र त्यसपछि ठुलो आगलागी हुन सक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्तिमार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन् ।
स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।
२५ हजार नागरिक रुसको सीमापारि
डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रुसको सीमा पार गरिसकेका छन् ।
आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयम्घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् ।
‘करिब २५ हजार नागरिकले सीमा पार गरेका छन्’ प्रवक्ताले रुसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् ।
प्रवक्ताले अहिले करिब दश हजार शरणार्थीहरू सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् । (रासस/एएनआई)